भोजपुरको टेम्केमैयुङ गाउँपालिकाका दुर्गम बस्तीमा केन्द्रीय विद्युत् विस्तार भएसँगै स्थानीयवासीको दैनिकीमा परिवर्तन आएको छ। भौगोलिक रूपमा विकट मानिने टेम्केमैयुङ गाउँपालिका–४ नागीको लुंगिन बस्तीमा विद्युत् विस्तार भएसँगै यहाँको जीवनयापन फेरिएको हो।
बिजुली आएसँगै स्थानीयलाई जीवनयापनमा समेत सहज भएको छ। जंगलको बीचमा रहेको उक्त बस्तीमा ठूलो लगानीको विद्युत् सेवा पु¥याइएको हो। ‘स्थानीय सरकार आएपछि हाम्रो गाउँमा बल्ल बिजुली बल्या’ स्थानीय रामबहादुर राईले भने, ‘अँध्यारोमा बस्नुपर्ने बाध्यता अन्त्य भएको छ।’ केन्द्रीय स्तरको बिजुली पुगेसँगै गाउँवासी हर्षित बनेका छन्। वर्षौंसम्म कुपी, सोलारबत्तीमा निर्भर यस ठाउँका मानिसको जीवनयापन निकै कष्टकर बनेको थियो। समय धेरै लागे पनि अन्ततः बिजुली आएपछि सपना नै साकार भएको स्थानीय रमेश राईले सुनाए। भने, ‘बिजुलीको उज्यालो देख्नु हामी गाउँवासीको सपना जस्तै भयो। वर्षौंदेखि अँध्यारोमा बस्नुपर्ने बाध्यता आजबाट सकियोे।’
विद्युत् विस्तारसँगै गाउँवासी सूचना तथा सञ्चारको पहुँचमा समेत जोडिएका छन्। ‘हाम्रोजस्तो दुर्गम गाउँमा बिजुली बल्दा निकै हर्षित छौं,’ अर्का स्थानीय बलिराज राईले सुनाए, ‘अहिले गाउँमा इन्टरनेट चलाउन, टेलिभिजन हेर्न पाएका छौं। बालबालिकाले उज्यालोमा सहज रूपमा पढ्न पाएका छन् ।’
उक्त गाउँमा बिजुली विस्तारलाई लामो समयपछिको प्रयास र कामबाट सम्पन्न भएको गाउँपालिकाकी उपप्रमुख रमादेवी राईले सुनाइन्। भौगोलिक रूपमा तार टाँग्ने, बिजुलीका पोलहरू व्यवस्थापन गर्न समस्या भएकाले बिजुली विस्तारमा ढिलाइ भएको उनले बताइन्।
भौगोलिक विकटताका कारण अझै पनि गाउँपालिकादेखि विभिन्न दुर्गम ग्रामीण भेगहरूमा पुग्न तीन–चार घण्टासम्मको पैदल यात्रा गर्नुपर्ने बाध्यता छ। करिब १ सय ७३ वर्ग किलोमिटरमा फैलिएको यस गाउँपालिकाका नौवटै वडामा यसअघि नै विद्युत् सेवा विस्तार भइसकेको छ।