: जिल्ला कारागार मोरङमा लागुऔषध मुद्दामा बन्दी जीवन बिताइरहेका एक जनाको शनिबार दिउँसो मृत्यु भएको छ।
विराटनगर महानगरपालिका-८ स्थित जिल्ला कारागारका बन्दी मोरङको उर्लाबारी नगरपालिका–६ घर भएका ५० वर्षीय काजीमान सार्कीको मृत्यु भएको हो। कारागारका जेलर गौरव ढुंगेलका अनुसार सार्की लागुऔषध मुद्दाका बन्दी हुन्। उनलाई जिल्ला अदालत मोरङले थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएपछि २०८१ पुस २९ गते कारागार चलान गरिएको थियो।
सार्कीको मुद्दा अदालतमा विचाराधीन छ। आफू विरुद्धको मुद्दाको फैसला नहुँदै बन्दीको भने मृत्यु भएको हो। सार्कीलाई न्यून रक्तचाप र बान्ता हुने समस्या देखिएपछि उपचारका लागि शनिबार दिउँसो १:२५ बजेतिर कोशी अस्पतालमा भर्ना गरिएको जेलर ढुंगेलले बताए। उनका अनुसार अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएका सार्कीलाई दिउँसो १:४० बजेतिर चिकित्सकले मृत घोषित गरेका हुन्।
शव परिवारका सदस्य र आफन्तलाई जिम्मा लगाइसकिएको कारागारले जनाएको छ। कारागारका अनुसार आफन्तले शवको पोस्टमार्टम गर्न मानेनन्। आफन्तले नमानेपछि पोस्टमार्टम नगरिकन शव जिम्मा लगाउनुपर्ने अवस्था आएको हो। ढुंगेलका अनुसार कारागारमा हाल १ हजार २ सय जति कैदीबन्दी छन्।