मुख्य समाचार
पर्सामा सुरु भयो हैजाविरुद्धको खोप अभियान
पर्सामा सुरु भयो हैजाविरुद्धको खोप अभियान

— हैजा संक्रमण फैलिएको डेढ महिनापछि पर्सामा आइतबारदेखि हैजाविरुद्धको खोप अभियान सुरु गरिएको छ ।


गत भदौ ६ देखि वीरगन्ज महानगरपालिकासहित पर्साका विभिन्न क्षेत्रमा फैलिएको हैजाको प्रकोप पूर्ण नियन्त्रणमा नआएपछि खोप अभियान सुरु गरिएको हो । स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरले खोप अभियानले प्रभावित क्षेत्रका बासिन्दालाई रोगबाट जोगाउन र अन्य क्षेत्रमा महामारी फैलिनबाट रोक्न महत्त्वपूर्ण भूमिका खेल्ने बताए ।

जिल्ला प्रशासन कार्यालय पर्सा परिसरमा आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले पहिलो खोप खाएर अभियानको औपचारिक शुभारम्भ गरेका हुन् । खोप खाएपछि प्रजिअ सुवेदीले यो खोप सुरक्षित रहेकाले सबै उमेर समूहका व्यक्तिलाई खोप सेवन गरी आफू र परिवारलाई सुरक्षित राख्न आग्रह गरे ।

कार्यक्रममा स्वास्थ्य मन्त्रालय अन्तर्गतको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतम, नेपाल चिकित्सक संघ नारायणी शाखाका अध्यक्ष डा मनोज कुमार गुप्ता, पर्साका प्रहरी उपरीक्षक सुदीप राज पाठक, सशस्त्र प्रहरी उपरीक्षक पूरनचन्द्र भट्ट, सहायक प्रमुख जिल्ला अधिकारी सुमन कुमार कार्की, पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक किशोर लम्साल, पत्रकार महासंघ पर्साका सचिव विजय चौहान लगायतले खोप सेवन गरेका थिए ।

डा गुप्ताले खोपको कुनै साइड इफेक्ट नभएको र १ वर्षमाथिका सबैले निर्धक्क खोप लिन सक्ने बताए । त्यस्तै डा गौतमले तिहारअघि नै पर्सा र बाराका सम्पूर्ण लक्षित स्थानीय तहमा अभियान सम्पन्न गर्ने लक्ष्य रहेको बताए ।



आइतबार वीरगन्ज महानगरपालिकासहित ६ स्थानीय तहमा अभियान सुरु भएको अभियान सोमबारदेखि अन्य स्थानीय तहमा पनि सञ्चालन गरिँदै छ । छिमेकी बारामा असोज २९ गतेदेखि यो खोप अभियान सुरु हुने छ । बाराका १६ पालिकामध्ये कलैया, जितपुरसिमरा, परवानीपुर, प्रसौनी, फेटा र विश्रामपुर गरी वीरगन्ज महानगरपालिकासँग जोडिएका पालिकाहरूमा यो अभियान चलाइँदै छ ।

वीरगन्जमा फैलिएको हैजा नियन्त्रण गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले खोप व्यवस्थासम्बन्धी अन्तर्राष्ट्रिय समन्वय समूह आइसीजीसँग खोपको माग गरेको थियो । परिवार कल्याण महाशाखाको नेतृत्वमा विश्व स्वास्थ्य सङ्गठन र युनिसेफको प्राविधिक सहयोगमा दुई जिल्लामा योभ अभियान सञ्चालन गरिएको हो ।

परिवार कल्याण महाशाखाका प्रमुख डा विवेककुमार लालले इयूभिकोल–एस खोप एक मात्रा खुवाएको दुई साता पछि ८२ प्रतिशत प्रभावकारी हुने बताए ।

कात्तिक २ सम्म अभियान

असोज २६ देखि कात्तिक २ गतेसम्म सञ्चालन हुने अभियानमा पर्सा जिल्लाका ६ लाख ५२ हजार १ सय २९ जनालाई इयुभिकोल–एस खोप दिइनेछ । खोप १ वर्षमाथिका सबैलाई दिइनेछ । अभियानलाई प्रभावकारी बनाउन जिल्लाका १४ पालिकामा १ हजार ९ सय ५० खोप केन्द्र स्थापना गरिएको छ । केन्द्रहरूमा स्थानीय पालिका कार्यालय, वडा कार्यालय, सरकारी तथा निजी अस्पताल, सामुदायिक र निजी विद्यालय, कलेज, सरकारी कार्यालय, गैरसरकारी संस्था, मन्दिर, मस्जिद, चर्च, गुम्बा, बसपार्क, नेपाल–भारत सीमा नाका र उद्योग कलकारखाना समावेश छन् ।

अभियानमा १ हजार ५ सय ४४ जना महिला स्वास्थ्य स्वयंसेविका र ३ सय ५० जना स्वास्थ्यकर्मी गरी कुल १ हजार ८ सय ९४ जनशक्ति परिचालन गरिएको छ । पर्सा र बाराका लागि १० लाख १८ हजार १ सय डोज खोप ल्याइएको छ ।

भदौ ६ गते वीरगन्जमा पहिलो पटक तीन जनामा हैजाको सङ्क्रमण पुष्टि भएको थियो । हालसम्म १ हजार ५ सय ६७ जना झाडापखाला र हैजाका बिरामी वीरगन्जको विभिन्न अस्पतालमा उपचारार्थ आएकामा ती ध्ये २ सय २७ जनामा हैजा संक्रमण पुष्टि भएको छ ।

यसबाहेक पोखरिया नगरपालिकामा पनि १८ जनामा हैजा संक्रमण पुष्टि भएको छ । हालसम्म गरिएका परीक्षणहरूबाट वीरगन्जको विभिन्न स्थानबाट संकलन गरिएको पानीमा हैजाको जीवाणु फेला परेको छैन । डेढ महिना बितिसक्दा पनि सङ्क्रमणको स्रोत पत्ता लाग्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। काठमाडौं महानगरपालिकाले साँघुरा गल्ली र अत्यधिक सवारी चापका कारण बिरामीसम्म एम्बुलेन्स पुग्न कठिन हुने समस्या समाधान गर्न बाइक एम्बुलेन्स सेवा सुरु गरेको छ । महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले शुक्रबारदेखि सेवा सञ्चालनमा ल्याइएको जानकारी दिइन् । उनका अनुसार चारपाङ्ग्रे एम्बुलेन्स पुग्न कठिन हुने र ट्राफिक जामका कारण ढिलाइ हुने स्थानमा बाइक एम्बुलेन्स उपयोगी हुने अपेक्षा ...
। दशैं तिहार मनाउन भारतबाट घर फर्किने यात्रुको गड्डाचौकी नाकामा स्वास्थ्य परीक्षण भइरहेको छ । सरकारले चाडपर्वका बेला सीमा नाकामा यात्रुको चाप हुने भएकाले विभिन्न सङ्क्रामक रोग भित्रिन नदिन सीमा नाकामा रहेका हेल्थ डेस्कमा मलेरिया, क्षयरोग, एचआइभी, कोभिड, डेङ्गु र स्क्रब टाइफस गरी छ प्रकारका रोगको परीक्षण भइरहेको हो । भारतबाट फर्किने नागरिकमा हुनसक्ने विभिन्न रोगको पहिचान ...
। स्याङ्जामा पछिल्ला तीन महिनामा ४३९ जनामा स्क्रब टाइफस संक्रमण पुष्टि भएको छ । प्रदेश जनस्वास्थ्य कार्यालय स्याङ्जाका अनुसार असारमा ६०, साउनमा १५९ र भदौमा २२० जनामा संक्रमण देखिएको हो । स्थानीय तहमध्ये सबैभन्दा धेरै संक्रमण वालिङ नगरपालिकामा देखिएको छ । वालिङमा असारमा ३४, साउनमा ९१ र भदौमा ११९ गरी २४४ जनामा स्क्रब टाइफस पुष्टि भएको ...
। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले रेबिज रोग निवारणसम्बन्धी राष्ट्रिय रणनीति तथा कार्ययोजना (२०८३र८४–२०८७र८८) स्वीकृत गरेको छ। रणनीतिले सन् २०३० सम्ममा कुकुरको टोकाइबाट हुने मानव रेबिज मृत्यु शून्यमा झार्ने लक्ष्य लिएको छ। नेपालमा रेबिज प्राणघातक जुनोटिक रोगका रूपमा रहेको र समयमै खोप लगाएमा रेबिजबाट हुने मृत्यु पूर्णरूपमा रोक्न सकिने रणनीति दस्तावेजमा उल्लेख छ। आर्थिक वर्ष २०८१र८२ ...
। नेपालमा खाना पकाउने ग्यासको अभाव चुलिदै गएको र उपभोक्ताले सास्ती खेप्नुपरेको भन्दै ग्यास विक्रेता महासंघ नेपालले आयल निगमको ध्यानाकर्षण गराएको छ । महासंघले निगमका कार्यकारी निर्देशक नागेन्द्र साहलाई ज्ञापनपत्र बुझाउँदै उद्योगहरूबाट भइरहेको ग्यासको खुद्रा बिक्री तत्काल बन्द गरी डिलर मार्फत मात्र बिक्री वितरणको व्यवस्था मिलाउन माग गरेको हो । महासंघका अध्यक्ष ज्ञानेश्वर अर्यालले बजारमा आवश्यकभन्दा धेरै ...