। गृहमन्त्री ओमप्रकाश अर्यालले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताएका छन्।
ललितपुरमा सोमबार आयोजित विपद् जोखिम न्यूनीकरण चौथो राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै गृहमन्त्री आर्यालले नेपाल प्राकृतिक विपद्का दृष्टिकोणले अति संवेदनशील मुलुक भएकाले जोखिम न्यूनीकरण तथा व्यवस्थापनलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताएका हुन्।
भूकम्प, बाढी, पहिरो, डुबान, आगलागी लगायतका विपद्का घटनाले जनधनको क्षतिका साथै विकासको गतिमा समेत अवरोध हुने गरेको उनले बताए। विपद्लाई प्राकृतिक घटना मात्र नभई सामाजिक, संरचनात्मक र नीतिगत कमजोरीसँग पनि जोडेर हेर्नु आवश्यक रहेको गृहमन्त्रीको भनाइ छ।
अर्यालले विपद् जोखिम न्यूनीकरणका लागि पूर्व सूचकयन्त्र विस्तार गरिएको, समुदायमा आधारित जोखिम न्यूनीकरण तथा व्यवस्थापन अवधारणा अनुसार क्षमता अभिवृद्धि कार्यक्रम चलाइएको जिकिर गरे।
राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख दिनेशप्रसाद भट्टले समुदायलाई बलियो बनाउन सके विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा सहज हुने भएकाले क्षमता अभिवृद्धिमा ध्यान दिइएको बताए। धेरै स्थानमा स्वयंसेवक प्रशिक्षण कार्यक्रम सुुरु भइसकेको जानकारी दिँदै उनले यसलाई देश व्यापी बनाइएको जानकारी दिए।
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि संघ सरकारले प्रदेशलाई गोदामघर हस्तान्तरण गरेकाले केही सहज भएको उल्लेख गर्दै उनले अब स्थानीय तहमा पनि गोदामघरको व्यवस्थापन गर्ने तयारी भइरहेको बताए।