। नेकपा माओवादी केन्द्र निकट जेनजीहरूले ‘जेनजेड रेड फोर्स’ गठन गरेका छन् ।
शनिबार अखिल क्रान्तिकारीकी केन्द्रीय सदस्य स्मृति तिमिल्सिनाको संयोजकत्वमा गठन भएको रेड फोर्स ४ दिनमै ४० जिल्लामा विस्तार भइसकेको छ ।
संयोजक तिमिल्सिनाले अनलाइनखबरसँग भनिन्, ‘शनिबार गठन भएको फोर्सको प्रभाव देशभरि नै परिसकेको छ । ४ दिनमा ४० वटा जिल्लामा संयोजक तोक्ने काम भइसकेको छ । बाँकी जिल्लामा पनि छिट्टै गठन गर्छौं ।’
यो अभियान उनले नै सुरुवात गरेकी हुन् । जसको संयोजक पनि आफैं छिन् । तिमिल्सिनाले भनिन्, ‘अरू कसैले आँट गर्न सकेनन् । मैले नै यो अभियान सुरु गरेँ । अहिले यो अभियानमा हजारौं जेनजी जोडिएका छन् ।’
२९ असोजमा पत्रकार सम्मेलन गरी रेड फोर्सको आधिकारिक घोषणापत्र जारी गरिने उनले जानकारी दिइन् ।
गठन किन ?
अति गुटबन्दीका कारण पार्टी कमजोर भएको आफूले टुलुटुलु हेर्न नसकेपछि माओवादीलाई चाइनाको जस्तै कम्युनिस्ट पार्टी बनाउने अठोटका साथ सामाजिक सञ्जालमा एउटा पोस्ट लेखेर अभियान सुरु गरेको उनी सुनाउँछन् ।
उनी भन्छिन्, ‘चरम गुटबन्दीले पार्टी कमजोर हुँदै गएको देखेँ । पार्टीलाई पहिलाको जस्तै अवस्थामा पर्काउन सकिन्छ, चाइनाको जस्तै कम्युनिस्ट पार्टी बनाउन सकिन्छ, यसका लागि युवाहरू लाग्नुपर्छ भन्ने हुटहुटी आयो । त्यही हुटहुटीका कारण फेसबुकमा साथ दिन आह्वान गरेँ । पोस्ट लेखेको केही घण्टामै सयौं कल आए ।’
त्यति मात्रै होइन, भोलिपल्ट बिहान उठ्दा फेसबुकमा २१ हजारबाट २५ हजार फलोवर्स पुगेको उनी सुनाउँछिन् ।
देशभित्रबाट मात्रै होइन, विभिन्न मुलुकमा रहेका जेनजीबाट पार्टी सुधारमा लाग्न आफूलाई सुझाव आएको उनको भनाइ छ ।
आफूले सुरु गरेको अभियानमा माओवादी निकट युवा लगायत अन्य युवाहरू पनि जोडिन आउने क्रम अझै जारी रहेको उनी सुनाउँछन् ।
तिमिल्सिनाले अगाडि भनिन्, ‘पार्टीमा चरम व्यक्तिवादी हावी भयो । संगठन जेसुकै होस्, तर व्यक्तिलाई जसरी पनि भगवान बनाउने काम भयो । त्यस्ता व्यक्तिविरुद्ध बोल्न खोज्यो भने उसको राजनीति नै समाप्त पार्ने प्रयास भयो ।’
माओवादी लडाकुहरू पनि पार्टीको नेतृत्व लिन सक्ने, पार्टी हाँक्न सक्ने, पार्टीलाई ठूलो बनाउन सक्ने क्षमतावान थिए । तर उनीहरूमाथि चरम अन्याय भयो । पार्टी छाड्न बाध्य पारियो ।
हजारौं माओवादी कार्यकर्ता पार्टी सुदृढ बनाउन आफ्नो खुन-पसिना बगाए पनि उनीहरू पार्टी बाहिर बस्न बाध्य भएको उनको भनाइ छ ।
०००
देश र पार्टीका लागि योगदान पुर्याएका व्यक्तिहरूलाई पार्टीमा फर्काउन रेड फोर्सले भूमिका खेल्ने उनले बताइन् ।
‘माओवादी लडाकुहरूले देश र पार्टीका लागि रगत बगाएका छन् । उनीहरूको सपना के थियो ? यो पार्टीलाई एक नम्बर पार्टी बनाउने । देशलाई स्विट्जरल्यान्ड जस्तो बनाउने । अब यो सपना पूरा गर्न माओवादीका पूर्व जनमुक्ति सेनाका छोराछोरी एक ठाउँमा आएर अब पार्टी बनाउनुको विकल्प छैन । नत्र हाम्रो अस्तित्व नै सकिन्छ,’ उनले भनिन् ।
अझै ५ वर्ष प्रचण्डकै नेतृत्व
रेड फोर्सको नेतृत्व लिएकी तिमिल्सिना पार्टीभित्र अझै ५ वर्ष अध्यक्ष प्रचण्डको विकल्प नभएको बताउँछिन् ।
उनी भन्छिन्, ‘अबको पाँच वर्ष प्रचण्डलाई नै नेतृत्व दिनुपर्ने सुझाव देशैभरिबाट आएका छन् ।
पूर्वदेखि पश्चिम, उत्तरदेखि दक्षिणसम्मका शुभचिन्तकहरूले पार्टीभित्र प्रचण्डको विकल्प खोज्नु हुँदैन भन्ने सुझाव छ । त्यसैले अझै ५ वर्ष प्रचण्डकै नेतृत्व रहन्छ ।’
अबको एक कार्यकाल प्रचण्डलाई दिइसकेपछि मात्रै जेएनजीबाट पार्टीको नेतृत्व लिनुपर्ने सुझाव आएको तिमिल्सिना बताउँछिन् ।
रेड फोर्सले माओवादी केन्द्रविरुद्ध फैलाएको भ्रम चिर्ने उनी बताउँछिन् । १७ हजार मानिस मारेको भनेर माओवादीविरुद्ध फैलाइएको भ्रम रेड फोर्सले चिर्ने उनी बताउँछिन् ।
‘माओवादीले १७ हजार मानिस मारेको भनेर भ्रम फैलाइएको छ । यो गलत हो । १३-१४ हजार माओवादी योद्धालाई राज्य पक्षले मारिसकेपछि त्यसको प्रतिवादमा अन्य मानिस मरेका हुन् । १७ हजार मानिस माओवादीले मारेको हैन,’ तिमिल्सिना भन्छिन् ।
पार्टी छाडेर गएका जति पनि पूर्वजनमुक्ति सेना, शहीद परिवार छन्, उनीहरू सबैलाई फेरि पार्टीमा ल्याउन रेड फोर्सले भूमिका खेल्ने उनी बताउँछिन् ।
माओवादी पार्टीलाई फेरि एक नम्बर पार्टी बनाउनका लागि रेड फोर्सले भोक-निन्द्रा, प्यास केही नभनी काम गर्ने उनी बताउँछिन् ।
तिमिल्सिनाको नजरमा पार्टीलाई व्यक्तिवादी बनाउनेहरू को-को हुन् ?
संयोजक तिमिल्सिना पार्टीभित्र व्यक्तिवादी हावी भएको बताउँछिन् । उनले पार्टीभित्र व्यक्तिवादी प्रवृत्ति हावी भएको पटक-पटक दोहोर्याएकी छन् ।
पार्टीभित्र कसले व्यक्तिवादी प्रवृत्ति चलाइरहेको छ भन्ने प्रश्नमा तिमिल्सिना भन्छिन्- जनार्दन शर्मा, वर्षमान पुन, नारायणकाजी श्रेष्ठ, शक्ति बस्नेत लगायतका नेताहरूले आ-आफ्नो गुट बनाएर पार्टीलाई भित्रभित्रै खोक्रो पारेका छन् ।
उनीहरूले गर्दा नै पार्टी कमजोर भएको उनको आरोप छ । विप्लव, वैद्य लगायतका नेताहरू पनि चरम व्यक्तिवादी भएको उनको आरोप छ ।
उनीहरूमा रहेको व्यक्तिवादी प्रवृत्तिकै कारण अहिले पार्टी कमजोर भएको उनको तर्क छ । तिमिल्सिनका आमा-बुबा पनि माओवादी लडाकु हुन् । उनी स्वयं माओवादी क्याम्पमा हुर्केकी हुन् ।
तिमिल्सिना भन्छिन्, ‘जनमुक्ति सेनाको रगत पसिनाले बनेको पार्टी हो माओवादी । उनीहरूको सपना र पार्टीभन्दा ठूलो अरू केही छैन । मेरो देश र पार्टीका लागि यो अभियान सुरु गरेकी हुँ ।’