मुख्य समाचार
टिओबी समूहका तेन्जेनबाट भेटियो नक्कली पेस्तोल, भिडियो जेनजी आन्दोलनको नरहेको पुष्टि
टिओबी समूहका तेन्जेनबाट भेटियो नक्कली पेस्तोल, भिडियो जेनजी आन्दोलनको नरहेको पुष्टि

। टिओबीका सदस्यले काठमाडौंको बिजुलीबजारस्थित पुलमा पेस्तोल बोकेको भाइरल भिडियो जेनजी आन्दोलनको समय नरहेको पुष्टि भएको छ । उनीबाट नक्कली पेस्तोल बरामद भएको छ ।

२३ र २४ भदौमा भएको जेन-जी आन्दोलनमा घुसपैठ भएको र टिओबी लेखिएको ज्याकेट लगाएका व्यक्ति पेस्तोल बोकेर पुगेको भन्दै सामाजिक सञ्जालमा भाइरल भएको थियो ।

यसबारे अनुसन्धान गरिरहेको प्रहरीले भने कम्मरको पछाडि पट्टीको भागमा पेस्तोल बोकेका व्यक्तिको भिडियो करिब एक वर्ष पूरानो रहेको बताएको छ ।

पेस्तोल बोक्ने काठमाडौं ३० वर्षीय तेन्जेन दावामाथि अनुसन्धान गर्ने क्रममा उक्त कुरा खुलेको एक अनुसन्धान अधिकृतले बताए ।
‘भाइरल भिडियो जेनजी आन्दोलनको नभएको पुष्टि भयो । उनले भिडियो खिचेको मिति र टिकटकमा पोस्ट भएको मिति दाँज्दा भिडियो पूरानो रहेको पाइयो,’ जिल्ला प्रहरी परिसर काठमाडौंका एक अनुसन्धान अधिकारीले अनलाइनखबरसँग भने ।

भेटियो नक्कली पेस्तोल

बिजुलीबजारमा पुलमा टिओबी लेखिएको कालो ड्रेस लगाएका तेन्जेन चुरोट तान्दै कम्मरको पछाडिको भागमा पेस्तोल भिरेको देखिन्छ । उनलाई मोटरसाइकमै बसेका अर्का व्यक्तिले उक्त पेस्तोल दिन्छन् ।

यो भिडियो सार्वजनिक भएपछि सामाजमा आतंक सिर्जना भएको थियो । भिडियो पुरानो रहेको देखिए पनि उक्त हतियारबारे प्रहरीले अनुसन्धान गरेको थियो । तेन्जनले उक्त हतियार नक्कली रहेको दाबी गरेका थिए ।

उनीबाट एक थान नक्कली पेस्तोल बरामद भएको छ । बरामद नक्कली पेस्तोल नै उक्त भिडियोमा देखिएको तेन्जेनले बताएको प्रहरी स्रोतले बताएको छ ।

‘भिडियो पुरानो भए पनि पेस्तोलबारे हामीले अनुसन्धान गर्‍यौं । तर उनीबाट नक्कली पेस्तोल फेला पर्‍यो । भिडियोमा देखिएको पेस्तोल पनि अहिले बरामद नक्कली पेस्तोल रहेको उनले बताएका छन्’ एक अनुसन्धान अधिकृतले भने ।

नक्कली पेस्तोल देखाउँदै किन भिडियो बनाएको भन्नेबारे प्रहरीले उनीमाथि सोधपुछ गरेको छ । सो क्रममा उनले सामाजिक सञ्जालमा हालेर आफूतर्फ ध्यानाकर्षण गर्नु मुख्य कारण रहेको दाबी गरेको प्रहरी अधिकारीले बताए ।

यसरी खिचिएको उक्त भिडियो तेन्जेन एडी नामको टिकटक आईडीमार्फत सार्वजनिक गरिएको थियो । उक्त भिडियो तेन्जेनले सार्वजनिक गरेपछि हाकिङ भनिने सुरेन्द्र गुरुङले गाली गरेर हटाउन लगाएको उनको भनाइ छ ।

‘एजेन्ट होइन, फ्रि तिब्बत समर्थक हुनसक्छन्’

टिओबी लेखिएको कालो कपडा लेखाएर यो समूहका व्यक्ति बुलेट बाइक पड्काउँदै जेन–जी आन्दोलनमा गएका थिए । केही ज्याकेटमा टिओबीको पूरा रुप–तिब्बतीयन ओरिजल ब्लड’ समेत लेखिएको थियो ।

तेन्जनको समूह किन जेन–जी आन्दोलनमा गयो र के उनीहरु फ्रि तिब्तका एजेन्ट हुन् भन्नेबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ । अहिलेसम्मको अनुसन्धानले उनी फ्रि तिब्बतका एजेन्ट नरहेको प्रहरीले बताएको छ ।

‘फ्रि तिब्बत समर्थक हुनसक्ने देखिएको छ । उनका पूर्खा तिब्बतबाटै नेपाल आएको बुझिएको छ’ अनुसन्धान अधिकृत भन्छन् ।

यो बाइक राइडरहरुको समूह समेत रहेकाले उनीहरु बेला–बेलामा बाइक राइडिङमा जाने गरेका थिए । अधिकांशका बुलेट बाइक थिए भने सबैजसोले साइलेन्सर समेत पड्किन किसिमको बनाएका थिए ।

आन्दोलनमा जानुको मुख्य उद्देश्यमा यो समूहका व्यक्तिले अघिपछि बाइक पड्काउन नपाउने भएकाले आन्दोलनमा बाइक पड्काउन पाउने हुँदा गएको बताएका छन् । अरु भन्दा फरक भएर बाइक पड्काएपछि सबैको नजरमा परिने र भाइरल बन्ने मनसाय रहेको दाबी उनीहरुले प्रहरी समक्ष गरेका छन् ।

प्रहरीले उनको मोबाइलबाट कुनै त्यस्तो अवाञ्छित गतिविधिको संकेत अहिलेसम्म फेला पारेको छैन । यो समूहका अन्य सदस्यमाथि थप बुझ्ने काम भने भइरहेको प्रहरीले बताएको छ । हाकिङलाई समेत फोन गरेर प्रहरी कार्यालयमा आउन भन्दै प्रहरीले बोलाएको छ ।

को हुन् तेन्जेन

आफ्नो ज्याकेटमा लेखेजस्तै तेन्जनका पुर्खाहरु तिब्बतबाटै काठमाडौं आएका हुन् । जब प्रहरीले उनलाई नियन्त्रणमा लिएर आइतबार उनको कोठामा गयो प्रहरी अधिकारीहरु नै छक्क परे ।

तिब्बतियन ओरिजिनल ब्लड भनेर ज्याकेटमा लेखेका तेन्जनको कोठमा भने भारतीय आर्मीको ड्रेस लगाएर खिचिएको एक तस्बिर भित्तामा थियो ।

प्रहरीले उक्त तस्बिरबारे सोधखोज गर्दा उनले आफ्नो बाबुको तस्बिर रहेको बताए । बाबु भारतीय आर्मीबाट अवकाश भएको उनले बताएका छन् ।

अवकाशपछि ठमेलको होटलमा काम गरेका उनका बाबुको करिब पाँच वर्ष पहिले निधन भइसकेको छ ।

तेन्जेन परिवारको एक्लो छोरा हुन् । उनकी एक दिदी छन् । आमा र दिदी भारतमा बस्ने गरेको उनले बताएका छन् । कपनको पैयुँटारमा कोठा लिएर बस्दै आएका तेन्जेन १० कक्षासम्म अध्ययन गरेका छन् ।

उनी पछिल्लो समय गाँजा सेवन गर्ने गरेको पाइएको छ । गाँजा सेवन गर्ने गरेको उनले प्रहरी समक्ष स्वीकार समेत गरेको एक अनुसन्धान अधिकृतले बताए ।

तेन्जने पेसाले ट्याटु आर्टिस्ट हुन् । केही समय पहिलासम्म उनले बौद्धमा कोठा भाडामा लिएर ट्याटु खोप्ने काम समेत गरेका थिए । अहिले भने पसल नचलेको भन्दै बन्द गरेको उनले बताएका छन् ।

तेन्जेन शरीरभरी विभिन्न प्रकारका ट्याटु नै ट्याटु छन् । उक्त ट्याटु भने आफूले सिक्ने क्रममा खोपेको, आफूलाई सिकाउने क्रममा पनि खोपिएको उनले बताएका छन् ।

पछिल्लो समय बाइक राइडमा जाने गरेको उनी बताउँछन् । अविवाहित तेन्जेनले आफ्नो पुर्खा तिब्बतीयन रहेको, बौद्ध क्षेत्रमा बस्ने हुँदा तिब्बती मूलका व्यक्तिहरूसँग सम्बन्ध रहेको र त्यहीबाट प्रभावित भएर तिब्बतीय ब्लड लेखिएको ज्याकेट लगाएको उनको भनाइ ।

‘सुदनलाई चिन्दिनँ’

हामी नेपाल एनजीओका संस्थापक तथा जेनजी अगुवा सुदन गुरुङसँग जोडेर समेत तेन्जेनलाई हेरिएको छ । सुदनको हातमा खोपिएको ट्याटु र टिओबीको चिन्ह मिलेको भन्दै उनीहरुलाई जोडेर हेर्ने गरिएको छ ।

यसबारे सुदन गुरुङले टिओबी ग्रुपलाई नचिन्ने बताएका थिए । एक भिडियो सार्वजनिक गर्दै सुदनले टिओबीलाई नचिन्ने र उनीहरुसँग कुनै सम्बन्ध नरहेको बताएका थिए ।

अहिले प्रहरी हिरासतमा रहेका तेन्जेनले पनि सुदनलाई नचिन्ने बताएका छन् । ‘म सुदन र उनको टिमका कसैलाई पनि चिन्दिनँ, आन्दोलनको बेलामा बाइक पड्काउन र सबैको नजर खिच्न मात्रै गएको हो’ तेन्जनेको भनाइ उद्धृत गर्दै एक अनुसन्धान अधिृकतले भने ।

अभद्रमा व्यवहारमा अनुसन्धान गर्ने तयारी

उनीबाट बरामद पेस्तोल नक्कली भएको र अन्य आगजनी, तोडफोड तथा लुटपाटको घटनामा जोडिएको कुनै प्रमाण अहिलेसम्म फेला नपरेकाले प्रहरीले उनीमाथि अभद्र व्यवहारको कसुरमा म्याद लिएर थप अनुसन्धान अघि बढाउने तयारी गरेको छ ।

पेस्तोल र तिब्बतीयन ओरिजिनल ब्लडकै बारेमा थप केही अनुसन्धान गर्नुपर्ने भन्दै प्रहरीले उनीमाथि अभद्रको कसुरमा म्याद लिन लागेको हो ।

भोलि कुनै कसुरमा प्रमाण देखिएको अवस्थामा कन्भर्ट गरेर मुद्दा चलाउने गरी अभद्रमा अनुसन्धान अघि बढाइने प्रहरी स्रोत बताउँछ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाली कांग्रेसको भ्रातृ संस्था नेविसंघले चुनाव अघि नै पार्टीको नियमित महाधिवशेन गर्न ध्यानाकर्षण गराएको छ। पार्टीमा नियमित वा विशेष महाधिवशेनको बहस चलिरहेको बेला नेविसंघले चुनाव अघि नै १५ औं महाधिवशेन गर्न पार्टीको ध्यानाकर्षण गराएको छ। २५ असोजमा भएको केन्द्रीय समितिको निर्णय सार्वजनिक गर्दै नेविसंघले जेनजी आन्दोलनले उठाएको भ्रष्टाचार र बेतिथि विरुद्धको आवाजलाई संस्थागत अभियानका रूपमा ...
तामझाम साथ थालिएको निगमको ग्वान्झाउ उडानमा एक जना मात्रै यात्रु, उडान स्थगित
। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले तीन दलका प्रमुख नेताहरूलाई बिदाइ गर्नुपर्ने प्रस्ताव अघि सारेका छन् । आइतबार सामाजिक सञ्जालमा एक भिडियोमार्फत उनले संवादको नयाँ वातावरण प्रारम्भ गर्न पनि आग्रह गरेका छन् । ‘तीन दलका तीन प्रमुख नेतालाई बिदाइ गरौं, संवादको नयाँ वातावरण प्रारम्भ गरौं,’ महामन्त्री थापाले भनेका छन् । महामन्त्री थापाले निरन्तर पार्टीमा महाधिवेशनको माग गर्दै ...
। गृहमन्त्री ओमप्रकाश अर्यालले समुदायको अग्रसरताविना विपद् न्यूनीकरण सम्भव नहुने भएकाले सबैको समन्वय, सहकार्य र सहभागिता आवश्यक पर्ने बताएका छन् । विपद् जोखिम न्यूनीकरणका लागि अन्तर्राष्ट्रिय दिवस २०२५ का अवसरमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज अन्तरराष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) खुमलटारमा आयोजना गरेको विपद् जोखिम न्यूनीकरणसम्बन्धी चौथो राष्ट्रिय सम्मेलनमा उनले सरकार ...
। उदयपुरको चौदन्डीगढी- ७मा सर्पको टोकाइबाट एकजना वृद्धाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय बेल्टरका प्रहरी निरीक्षक बबिन राईले सर्पको टोकाइबाट चौदन्डीगढी नगरपालिका–७ प्रगति टोल बस्ने ७५ वर्षीया भगवती बञ्जराको मृत्यु भएको जानकारी दिए । उनका अनुसार गत साउन २५ गते बेलुका ५ बजे आँगनमा फोहोर सफाइ गर्ने क्रममा ती वृद्धालाई सर्पले दाँहिने हातको औंलामा टोकेको ...