मुख्य समाचार
डोनाल्ड ट्रम्पले अफगानिस्तानको बगराम एयरबेसको प्रसंग उठाउँदै अमेरिकाले यसमाथि पुन: नियन्त्रण कायम गर्न खोजेको बताए
डोनाल्ड ट्रम्पले अफगानिस्तानको बगराम एयरबेसको प्रसंग उठाउँदै अमेरिकाले यसमाथि पुन: नियन्त्रण कायम गर्न खोजेको बताए

। एक महिनाअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तानको बगराम एयरबेसको प्रसंग उठाउँदै अमेरिकाले यसमाथि पुन: नियन्त्रण कायम गर्न खोजेको बताए । यदि त्यसो नभएमा तालिबान सरकारले परिणाम भोग्नुपर्ने चेतावनी समेत उनले दिए ।

ट्रम्पले ट्रुथ सोशलमा लेखेका थिए, ‘यदि अफगानिस्तानले बगराम एयरबेसलाई यसको निर्माता अर्थात् अमेरिकालाई फिर्ता दिएन भने नराम्रो हुनेछ ।’




त्यसभन्दा अघि बेलायत भ्रमणका क्रममा पनि उनले त्यस्तै खालको अभिव्यक्ति दिएका थिए । ट्रम्पले भनेका थिए, ‘बगराम विश्वका सबैभन्दा ठूला एयरबेसमध्ये एक हो । त्यसलाई हामीले फर्काइदियौं । अब हामी यो आधार फिर्ता लिन चाहन्छौं किनभने यो त्यही स्थानबाट मात्र एक घण्टाको दूरीमा चीनले आफ्ना आणविक हतियार निर्माण गर्छ ।’

बगरामबारे ट्रम्पको टिप्पणीमा चीनले पनि तत्काल प्रतिक्रिया दियो । चीनका विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले भनेका थिए, ‘चीन अफगानिस्तानको भौगोलिक अखण्डताको सम्मान गर्छ र त्यसको भविष्य अफगानी जनताको हातमा हुनुपर्छ ।’ क्षेत्रीय तनाव बढाउने प्रयासलाई समर्थन गर्न नसकिने बताउँदै उनले भनेका थिए, ‘सबै पक्षले क्षेत्रीय स्थायित्वका लागि रचनात्मक भूमिका खेल्छन् भन्ने अपेक्षा छ ।’



ट्रम्पको अभिव्यक्तिप्रति तालिबान सरकारले पनि कडा प्रतिक्रिया जनाएको थियो । तालिबानको परराष्ट्र मन्त्रालयका एक अधिकारी जाकिर जलालीले सामाजिक सञ्जालमा लेखेका थिए, ‘अफगानहरूले इतिहासमै कहिल्यै विदेशी सैनिक उपस्थिति स्वीकार गरेका छैनन् । दोहा वार्ता र सम्झौताका क्रममा पनि यस सम्भावनालाई पूर्ण रूपमा अस्वीकार गरिएको थियो तर भविष्यका वार्ताका लागि ढोका खुला छन् ।’

भारतले पनि पाकिस्तान, चीन, रूस लगायतका शक्ति राष्ट्रहरूसँग मिलेर संयुक्त वक्तव्य नै जारी गरेर ‘अफगानिस्तानको सार्वभौमिकता र क्षेत्रीय अखण्डता’लाई सम्मान गर्न जोड दियो ।

ट्रम्पले पटक-पटक बगराम एयरबेसबारे टिप्पणी गर्दा र अरु देशहरुले प्रतिक्रिया जनाउँदा यो मुद्दा अहिले पुन: चर्चामा आएको छ ।

बगराम एयरबेस विगतमा धेरै कारणले चर्चामा रहँदै आएको छ । तालिबानविरुद्धको युद्धमा अमेरिकी सेनाले दुई दशकसम्म यहीँबाट सैन्य कारबाही सञ्चालन गरेको थियो । यो अमेरिकी सेनाको सबैभन्दा ठूलो र अत्याधुनिक एयरबेस थियो ।

तालिबान लडाकुको प्रभाव बढ्दै गएपछि तत्कालीन अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्ना सेना फिर्ता बोलाए । त्यसपछि अमेरिकी सेना ठूलो मात्रामा बन्दोबस्तीका सामग्री, गाडी, गोलाबारुद र केही साना हतियार बगराम एयरबेसमै छाडेर अमेरिका फर्कियो ।


बगराम एयरबेसमा परेड खेल्दै तालिबान सरकारका सेना ।
अफगानिस्तानका तत्कालीन राष्ट्रपति असरफ घानी विदेश भाग्न बाध्य भए अनि तालिबान सन् २००१ पछि पुन: सत्ता कब्जा गर्न सफल भयो ।

पछिल्ला तीन वर्षदेखि तालिबान सेनाले अमेरिकी सेनाले छोडेका सामग्री प्रयोग गरेर त्यहाँ सैनिक परेड र समारोह आयोजना गर्दै आएको छ ।

कहाँ छ बगराम एयरबेस ? कसले बनायो ?

बगराम एयरबेस अफगानिस्तानको राजधानी काबुलबाट करिब ६० किलोमिटर उत्तरतिर परवान प्रान्तमा अवस्थित छ ।

यसलाई पहिलोपटक १९५० को दशकमा सोभियत संघले बनाएको थियो र १९८० को दशकमा अफगानिस्तानमा कब्जा जमाउँदा यो तिनको मुख्य सैनिक अड्डा बनेको थियो ।

सन् २००१ मा तालिबानलाई सत्ताबाट हटाएपछि यस अड्डामा अमेरिकाले नियन्त्रण कायम गरेको थियो ।

त्यसबेला बगराम भग्नावशेषमा परिणत भइसकेको थियो, तर अमेरिकी सेनाले यसलाई पुनर्निर्माण गरेको थियो ।

यो एयरबेस करिब ३० वर्ग माइल (७७ वर्ग किलोमिटर) क्षेत्रमा फैलिएको छ । बगराममा दुईवटा लामा रनवे छन् । जसमा एउटा रनवे करिब ३.६ किलोमिटर लामो छ । यहाँ भारी बमवर्षक र कार्गो विमान सहजै अवतरण गर्न सक्छन् ।



ट्रम्पका अनुसार, यस अड्डामा सबैभन्दा बलियो र ठूलो कंक्रिट रनवे छ, जसको मोटाइ करिब दुई मिटरको छ ।

अमेरिकी सेना रहँदासम्म यसमा भूमिगत हतियार प्रणाली, आधुनिक राडार प्रणाली, हवाई सुरक्षा उपकरण, ड्रोन नियन्त्रण कक्ष र उच्चस्तरीय सञ्चार संयन्त्र जडान गरिएको थियो । अहिले पनि ती उपकरण स्थापना गर्न सकिने अवस्थामा छ बगराम एयरबेस ।

सन् २०२५ को अध्ययन के भन्छ ?

बगराम विश्वकै सबैभन्दा ठूलो र सबल एयरबेसमध्ये एक हो, जुन कंक्रिट र स्टिलबाट बनेको छ । यस वरिपरि कडा सुरक्षा पर्खाल र तारबारले घेरिएको छ ।

यसको भित्री क्षेत्रमा बाहिरीबाट अरु मानिस प्रवेश गर्न असम्भव जस्तै ठानिन्छ । त्यहाँ यति धेरै ब्यारेक र क्वार्टरहरू छन् कि एकैपटकमा १० हजारभन्दा बढी सैनिक अट्न सक्छन् ।

बीबीसी अफगान सेवाद्वारा जुलाई २०२५ मा प्रकाशित एक रिपोर्ट अनुसार, यस विशाल सैनिक अड्डामा चीनको उपस्थिति पत्ता लगाउनका लागि उपग्रह तस्वीरहरूको अध्ययन गरिएको थियो ।

पहिले र पछिका तस्वीरहरूको तुलना गर्दा अहिले त्यहाँ सैन्य गतिविधि नगण्य छ । लडाकु विमानको उपस्थिति पनि देखिँदैन । अर्थात् बगराममा अहिले नै कुनै ठूलो रणनीतिक परिवर्तन भएको छैन ।

‘सेन्टर फर स्ट्राटेजिक एन्ड इन्टरनेशनल स्टडिज’की जेनिफर जोन्सले बीबीसीलाई भनेकी छन्– अप्रिल २०२५ का तस्वीरहरूमा दुवै रनवे राम्रो अवस्थामा देखिन्छन्, तर सन् २०२५ का पछिल्ला तस्वीरहरूमा कुनै लडाकु विमान देखिँदैनन् ।

यो एयरबेस किन महत्वपूर्ण छ ?

पछिल्ला दुई दशकमा तीन अमेरिकी राष्ट्रपति जर्ज डब्ल्यु बुश, बाराक ओबामा र डोनाल्ड ट्रम्पले यसको भ्रमण गरिसकेकाले पनि यस अड्डाको महत्व बुझ्न सकिन्छ । सन् २०११ मा जो बाइडन उपराष्ट्रपति हुँदा बगराम भ्रमण गरेका थिए ।

बगराम एयरबेसबाट चीन, इरान, पाकिस्तान, भारत सहित मध्य एशियाली देशहरूसम्म सजिलै हवाई पहुँच पुर्‍याउन सकिन्छ । विशेषज्ञहरूका अनुसार यो एयरबेस दक्षिण एसिया, मध्य एशिया र पश्चिम एशियाबीचको ‘रणनीतिक केन्द्र’ हो । अमेरिकाका लागि यो स्थान चीन र रुसको प्रभाव क्षेत्र निगरानीका दृष्टिले अत्यन्त उपयोगी मानिन्छ ।



‘एयर क्यालकुलेटर’ वेबसाइटका अनुसार, यो एयरबेसबाट तेहरानको हवाई दूरी करिब १ हजार ६४४ किलोमिटर छ । तेहरान अहिले अमेरिकासँग आणविक कार्यक्रमको विवादमा छ ।

चीनको चिन्ता

बगराम एयरबेस चीनको सबैभन्दा नजिकको आणविक परीक्षण प्रयोगशालाबाट करिब २ हजार किलोमिटर टाढा उत्तर पश्चिम क्षेत्रमा छ । सडक वा अन्य बाटो हुँदै यो दूरी तय गर्न धेरै घण्टा लाग्छ । तर ‘एसआर–७१ ब्ल्याकबर्ड’ जस्ता आधुनिक सैन्य विमानले यो दूरी करिब एक घण्टामा पार गर्न सक्ने बताइन्छ ।

अन्तर्राष्ट्रिय मामिलाकी विज्ञ तथा नयाँदिल्लीको जामिया मिलिया इस्लामिया विश्वविद्यालयकी राजनीति विज्ञानकी प्राध्यापक रेशमी काजीले बीबीसीसँगको एक अन्तर्वार्तामा भनेकी छन्, ‘बगराम एयरबेस केबल रणनीतिक केन्द्र होइन, यहाँबाट चीनको शिनजियाङ प्रान्तका परमाणु ठेगानासम्म करिब एक घण्टामै पुग्न सकिन्छ । त्यसैले निगरानीका हिसाबले पनि यो अत्यन्त महत्वपूर्ण स्थान हो ।’

बगराम एयरबेसबाट इरान, पाकिस्तान, रुस र अन्य मध्य एशियाली देशहरूमा पनि सजिलै निगरानी गर्न सकिने बताउँदै उनी भन्छिन्, ‘अहिलेको समयमा बगराम एयरबेस विश्वको भू–राजनीतिक प्रतिस्पर्धाको केन्द्रबिन्दु बनेको छ ।’

चीनको आणविक र क्षेप्यास्त्र कार्यक्रम अत्याधुनिक हुँदै गएको छ । सन् २०३० सम्म चीनसँग करिब एक हजार परमाणु हतियार हुने र ती बोक्ने उन्नत मिसाइल प्रणाली पनि तयार हुने बताइन्छ । त्यसैले नजिकको एयरबेसमा अमेरिकाको उपस्थिति भएमा चीनका लागि स्वाभाविक रूपमा चिन्ताको विषय हुन्छ । किनभने चीनका हतियार भण्डारण वा प्रयोगसम्बन्धी गतिविधिहरू निगरानीमा पर्न सक्छन् ।

प्राध्यापक रेशमी काजी भन्छिन्, ‘यदि बगराम एयरबेस अमेरिकाले फिर्ता लिएमा यो केवल चीनका आणविक केन्द्रका लागि होइन, उसले अघि बढाइरहेको बेल्ट एन्ड रोड इनिसिएटिभका लागि पनि ठूलो चुनौती बन्नसक्छ ।’

त्यसैले बगराममा उपस्थिति जनाउने अमेरिकी चाहनाको चीनले विरोध जनाएको छ र अफगानिस्तानको पक्षमा उभिएको छ ।

हाल अफगानिस्तानको तालिबान सरकारलाई केबल चीन र रुसबाहेक कुनै देशले मान्यता दिएका छैनन्। अफगानिस्तानमा धेरै देशहरूको कूटनीतिक उपस्थिति छैन, तर चीनले आफ्नो राजदूत नियुक्त गरेको छ ।

चीन र अफगानिस्तानबीच अफगानिस्तानको एउटा तामाखानी विकास गर्न सम्झौता भएको छ, जुन विश्वकै ठूला तामाखानीमध्ये एक मानिन्छ ।

भारत के भन्छ ?

भारतले पनि अमेरिकाको बगराम पुन: प्राप्तिको चाहनालाई अस्वीकार गरेको छ । यस्तो कदम क्षेत्रीय शान्ति र स्थिरताका लागि हितकर नहुने भारतीय अधिकारीहरुको बुझाइ छ ।

त्यसैले भारतले पाकिस्तान, चीन, रूस लगायतका शक्ति राष्ट्रहरूसँग मिलेर संयुक्त वक्तव्य नै जारी गरेको छ जसले ‘अफगानिस्तानको सार्वभौमिकता र क्षेत्रीय अखण्डता’लाई सम्मान गर्न जोड दिएको छ ।

भारतले अफगानिस्तानलाई स्वतन्त्र, अखण्ड राष्ट्रका रूपमा हेर्छ र विदेशी सैन्य हस्तक्षेपले त्यसमा अस्थिरता ल्याउनसक्ने आशंका व्यक्त गर्दछ । त्यसैले अफगानिस्तानमा पुन: कुनै देशको सैन्य उपस्थिति दिनु हुँदैन भन्नेमा भारत दृढ देखिन्छ ।

किनभने अफगानिस्तानमा सैन्य उपस्थिति हुँदा क्षेत्रीय तनाव र प्रतिस्पर्धा प्राथमिकतामा पर्दा आतंकवादी गतिविधि नियन्त्रणमा ध्यान नपुग्ला कि भन्ने चिन्ता भारतलाई छ ।



त्यसैले भारत अफगानिस्तानसँग सम्बन्ध बढाउन चाहन्छ । भारतले तालिबानका तत्कालीन कमाण्डर एवम् अफगानिस्तानका विदेशमन्त्री अमीर खान मुत्ताकीलाई हालै नयाँदिल्लीमा स्वागत समेत गरिसकेको छ । मुत्ताकीको भारत भ्रमणका लागि संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदबाट भारतले विशेष अनुमति नै लिएको थियो ।

बगराममा अमेरिकी रुचि पुनर्जीवित हुनुका प्रमुख तीन कारण

रक्षा विशेषज्ञका अनुसार बगराम एयर बेसप्रति अमेरिकाको रुचि पुनर्जीवित हुनुका प्रमुख तीन कारण छन् ।

उत्तरी अफगानिस्तानको अस्थिरता : तालिबान शासनभित्रका आन्तरिक मतभेद र इस्लामिक स्टेट समूहको पुन: सक्रियता बढेको छ ।

चीन–रुसको क्षेत्रीय प्रभाव विस्तार : विशेषगरी चीनले अफगानिस्तानसँगका पूर्वाधार र खनिज सम्झौता विस्तार गरिरहेको बेला अमेरिकालाई निगरानीको नयाँ आधार चाहिएको छ ।

खुफिया र प्रतिआतंक सहयोग पुनर्स्थापना : अफगानिस्तानबाट इस्लामिक चरमपन्थी गतिविधि पुन: विस्तार हुनसक्ने अमेरिकी मूल्यांकन छ ।

त्यसैले रक्षा विश्लेषकहरू भन्छन्– बगराम केवल एयरपोर्ट मात्र होइन, यो दक्षिण एसियामा अमेरिकी रणनीतिक उपस्थिति पुन: स्थापित गर्ने प्रवेशद्वार हो ।

– एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। जेनजी आन्दोलन चर्किएपछि अफ्रिकी मुलुक मेडागास्करका राष्ट्रपति एन्ड्री रजोएलिना देश छोडेर फरार भएका छन् । विपक्षी दलका नेता र सरकारी अधिकारीहरूका अनुसार सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा गएपछि उनको सरकार ढलेको हो । विपक्षी दलका नेता सिटेनी रान्द्रियनासोलोनियाइकोले राष्ट्रपति एन्ड्री रजोएलिनाले आइतबार नै देश छाडेर भागेको पुष्टि गरेको समाचार संस्था रोयटर्सले सोमबार जनाएको छ । विपक्षी ...
: इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको भाषणपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायली संसद्लाई सम्बोधन गरे। इजरायल–गाजा युद्धलाई उल्लेख गर्दै ट्रम्पले यो क्षेत्र अहिले शान्त रहेको भन्दै सधैँभरि शान्ति रहने आशा व्यक्त गरे। ट्रम्पको सम्बोधनको क्रममा इजरायली संसदमा केही हंगामा भएको थियो। यस कारण ट्रम्पले केही समयका लागि आफ्नो भाषण रोक्नु परेको थियो। ट्रम्पको सम्बोधनका क्रममा एक ...
। हमासले गाजामा रहेका दुई मृत बन्धकको शव अन्तर्राष्ट्रिय रेड क्रस समिति (आईसीआरसी)लाई बुझाएको छ । नेपालका विपिन जोशीसहित ४ जनामध्ये २ जनाको शव रेडक्रस प्रतिनिधिले प्राप्त गरेको इजरायली सेना (आईडीएफ) ले जनाएको छ । आईडीएफ विज्ञप्ति जारी गर्दै भनेको छ, ‘हमासले दुई जनाको शव रहेको कफिन रेड क्रसलाई बुझाएको छ, र ती शवहरू अहिले गाजामा रहेका ...
: इजरायली अधिकारीहरूले नेपाली विद्यार्थी विपिन जोशी जीवित नरहेको जानकारी गराएका छन्। सोमबार इजरायली प्रधानमन्त्री कार्यालयका अधिकारी र त्यहाँको सेनाले जोशी जीवित नरहेको औपचारिक जानकारी इजरायलस्थित नेपाली राजदूतावासलाई गराएका हुन्। सो कुरा इजरायलस्थित नेपाली दूतावासले परराष्ट्र मन्त्रालयलाई अनौपचारिक जानकारी गराएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ। स्रोतले भन्यो,' जोशी जीवित नरहेको खबर प्राप्त भएपनि सबै बन्धकको अवस्था ...
: इजरायली सेनाका अनुसार हमासद्वारा फिर्ता गरिएका बन्धकहरूको शव सङ्कलन गर्न रेडक्रस गाजा जाँदैछ। एक विज्ञप्तिमा आईडीएफ र इजरायली गुप्तचर एजेन्सी शिन बेटले रेडक्रस दक्षिणी गाजामा रहेको बैठक बिन्दुमा गइरहेको छ। यहाँ नेपाली विद्यार्थी विपिन जोशीसहित मृतक अपहरणकारीहरूको शव हस्तान्तरण गरिनेछ। हमासको सैन्य शाखाले चार मृतक बन्धकको नाम पुष्टि गर्दै आज शव फिर्ता गर्ने घोषणा गरेको हो। ...