मुख्य समाचार
जेन—जी आन्दोलनका क्रममा देशभरका कारागारबाट १४ हजारभन्दा बढी कैदीबन्दी फरार
जेन—जी आन्दोलनका क्रममा देशभरका कारागारबाट १४ हजारभन्दा बढी कैदीबन्दी फरार

: गत भदौ २३ र २४ गते भएका जेन—जी आन्दोलनका क्रममा देशभरका कारागारबाट १४ हजारभन्दा बढी कैदीबन्दी फरार भए। यीमध्ये ५७ सय कैदीबन्दी अझै फरार छन्।


आन्दोलनका क्रममा प्रहरीबाट लुटिएको ९ सय थान बढी हतियार पनि भेटिएको छैन। लुटिएका हतियार फिर्ता गर्ने र फरार कैदीबन्दी पक्राउ गर्नका लागि प्रहरीले अग्रसरता देखाए पनि सम्भव भएको छैन। प्रहरी प्रधान कार्यालयले दिएको तथ्यांकअनुसार आन्दोलनका क्रममा देशभरबाट १ हजार २ सय ८१ हतियार लुटिएका थिए। यसमध्ये काठमाडौंबाट मात्रै १ हजार १७ थान हतियार लुटिएको हो।



हराएका हतियारमा सटगन १ सय १७ थान, पेस्तोल ३ सय ४६ थान, रिभल्बर ७५ थान छन। करिब १ सय हतियार जलेको र काम नलाग्ने अवस्थामा भेटिएको प्रहरी रेकर्ड छ। हतियारसँगै १ हजार ६ सय ८७ थान गोलीसमेत लुटिएको छ।


ooo
जेन—जी प्रदर्शनपछि भएको तोडफोडपछि कारागारबाट भागेका आकाश मगरले ठमेलमा गएर आफ्नै साथीको हत्या गरेका थिए। गत असोज १३ गते मकवानपुर घर भएका २५ वर्षीय सुरज तामाङलाई ठमेलमा खुकुरी प्रहार भएको थियो। ठमेलको ह्याप्पी होटल अगाडि सुरजलाई खुकुरी प्रहार गर्नेमा आकाश मगर रहेका थिए।

प्रहरीका अनुसार खुकुरी प्रहार गर्ने आकाश मगर नक्खु कारागारबाट भागेका थिए। लुटपाट र डकैती मुद्दामा कारागार गएका उनी सुरजलाई खुकुरी प्रहार गरी भागेका थिए। उनी भारतमा पुगेको प्रहरी आशंका छ।
ooo

बलात्कार मुद्दामा नक्खु कारागारमा रहेका सन्तबहादुर तामाङ भदौ २४ गते कारागारबाट भागेर काभ्रेका पनौतीमा रहेको घरमा पुगेका थिए। घर पुगेर श्रीमतीसँग विवाद गरेका उनले ३० वर्षीया मनीषा तामाङको हत्या गरेका थिए। श्रीमतीको हत्या गरी करेसाबारीमा गाडेका उनी पुनः नक्खु कारागार पुगेर आत्मसमर्पण गरेका थिए।
ooo
नेपाल प्रहरीका विभिन्न कार्यालयबाट लुटिएको हतियारसहित प्रहरीले शनिबार झापाबाट आठ जनालाई पक्राउ ग¥यो। प्रहरीले दमक नगरपालिका–३ स्थित भुटानी शरणार्थी शिविर सेक्टर एको छाप्रोबाट पक्राउ परेका आदित्य लिम्बूको साथबाट हतियार बरामद गरेको हो। उक्त हतियार इलाका प्रहरी कार्यालय दमकबाट लुटिएको थियो।

ooo
काठमाडौंबाट लुटेको प्रहरीको पेस्तोलसहित असोज २१ गते कैलालीबाट एकजना लागुऔषधसहित पक्राउ परेका छन्। घोडाघोडी नगरपालिका–१ का २३ वर्षीय आकाश शाहीलाई प्रहरीको टाइप– ५४ लेखिएको चाइनिज पेस्तोलसहित पक्राउ गरेको थियो। उनी लागुऔषध प्रयोग गरेर नशामा लट्ठिएको अवस्थामा फेला परेका थिए।

ooo
यी त केही उदाहरणमात्र हुन्। प्रहरीबाट लुटिएका हतियार विभिन्न आपराधिक समूहको हातमा पुगेको देखिन्छ। आन्दोलनका क्रममा घुसपैठ भएको भन्ने हल्ला चलिरहँदा प्रहरीले विभिन्न व्यक्तिहरूलाई पक्राउ पनि गरिरहेको छ। अहिले देशभर अपराधका घटना निकै बढेको छ।

विभिन्न अपराधमा मुछिएका कैदीबन्दी फरार हुन्, प्रहरीका लुटिएका हतियार फिर्ता नहुनु र विभिन्न स्थानमा तोडफोड भएका प्रहरी कार्यालय सञ्चालनमा नआउनु। समाजमा व्यापक असुरक्षा फैलिएको छ। कतिबेला के हुने हो ? कोही अपरिचित व्यक्ति गाउँमा देखिनासाथ शंका गर्नुपर्ने अवस्था छ। समाजमा असुरक्षा बढ्नु र अपराधका घटनामा वृद्धि हुने क्रम यथावत् छ। नागरिकहरू त्रसित छन्।

नेपाल प्रहरीका प्रवक्ता विनोद घिमिरेका अनुसार फरार कैदीबन्दी पक्राउ गर्नु र लुटिएका हतियार फिर्ता गर्नु प्रहरीको पहिलो प्राथमिकता छ। विभिन्न जिल्लामा समिति नै गठन गरेर काम भइरहेको उनले जानकारी गराए। फरार कैदीबन्दी लुकाउने, आ श्रय दिने व्यक्तिलाई समेत कानुनी कारबाही गरिनेछ। समाजमा कोही कसैले हतियार लुकाएको थाहा पाएमा वा फरार अभियुक्त देखेमा नजिकको प्रहरीलाई खबर गरिदिनुहुन उनको आग्रह छ।
ooo
कारागार व्यवस्थापन विभागले गत भदौ २६ गते एक सूचना जारी गरेको थियो। सूचनामा जेन—जी आन्दोलनका क्रममा कारागारबाट भागेका बन्दीहरू र बाल सुधारगृहबाट भागेका बालबन्दीलाई आफू बसेको कारागारमा फर्कर आउनका लागि आग्रह गरिएको थियो। फर्केर नआउने विरुद्ध कारागार ऐन, २०७९ र प्रचलित कानुनबमोजिम कारबाही हुने जानकारी गराइएको थियो। यसलगत्तै प्रहरी प्रधान कार्यालयले पनि फरार कैदीबन्दीलाई कारागारमा सम्पर्क गर्न पटकपटक आग्रह गरेको छ।

६५८ विदेशी कैदीबन्दी अझै फरार
कारागार व्यवस्थापन विभागका अनुसार शुक्रबारसम्म ८ हजार ८ सय ५० जना कैदीबन्दी कारागार फर्किएका छन्। अझै ५७ सयभन्दा बढी कैदीबन्दी फरार छन्। यसमध्ये ६ सय ५८ जना विदेशी नागरिक पनि कारागारबाट भागेका छन्। देशभरका विभिन्न कारागारबाट अन्य कैदीबन्दीसँगै ८ सय २२ जना विदेशी नागरिक पनि फरार भएका थिए। यसमध्ये १ सय ६५ जना फिर्ता भएका छन् भने ६ सय ५८ जना अझै फरार छन्।

कारागार व्यवस्थापन विभागका निर्देशक चोमेन्द्र न्यौपानेले फरार विदेशी कैदीबन्दीलाई कालोसूचीमा राख्न पत्राचार गरिएको जानकारी दिए। खुला सिमानाका कारण भारततर्फ जान सक्ने सम्भावनालाई मध्यनजर गर्दै सीमा नाकामा फरार कैदीबन्दीको विवरण पठाउनुका साथै निगरानी बढाइएको छ।

कारागार व्यवस्थापन विभागको सूचनाअनुसार, भागेका कैदीबन्दीलाई असोज २० गतेसम्म कारागार फर्कन मौका थियो। यो अवधिभित्र नफर्किएका कैदीबन्दीलाई थप सजाय हुनेछ। विभागका निर्देशक न्यौपाने भन्छन्, कारागार व्यवस्था ऐन, २०४९ को दफा ४९ देखि ५२ सम्म यस्तो विभिन्न कसुरमा अपराध गर्ने व्यक्तिहरू उपरको व्यवस्था गरिएको छ। यही ऐनअन्तर्गत नै यस्ता कसुरमा संलग्नलाई कारबाही हुनेछ।

कारागार व्यवस्था ऐन, २०७९ को दफा ४९ मा कारागार सुधार गृह, पुनस्र्थापना केन्द्र तथा बालसुधार गृहमा प्रोबेसन वा परोलमा रहेका व्यक्ति भागेको अवस्थामा पाँच वर्षसम्म कैद वा ५० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्ने व्यवस्था छ।
निर्देशक न्यौपानेले कारागारबाट भागेका कतिपय कैदीबन्दी कारागारको भौतिक संरचना तोडफोडमा समेत संलग्न भएका कारण त्यस्तो कसुर गर्ने कैदीबन्दीलाई १० वर्षसम्मको कैद र एक लाख रुपैयाँसम्म जरिबाना हुन सक्ने जानकारी दिए।

फरार कैदीबन्दी लुकाउनेलाई पनि सजाय हुने

कारागार व्यवस्थापन विभागका निर्देशक चोमेन्द्र न्यौपाने भन्छन्, ‘कारागारबाट भागेर आएको थाहा पाउनासाथ जानजान संरक्षण गर्ने, आश्रय दिने र लुकाउने व्यक्ति उपर पनि यही ऐनको दफाअनुसार नै कारबाही हुन्छ। कैदीबन्दी खोज्ने क्रममा लुकाइएको अवस्थामा पाइए थप कारबाही हुनेछ।कारागारबाट व्यक्ति भगाएमा वा भगाउन सहयोग गरेमा तीन वर्षसम्म कैद वा ३० हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुन सक्ने व्यवस्था छ। प्रत्येक जिल्लामा सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा ‘फरार बन्दी खोजी तथा पक्राउ कार्यदल’ गठन गरेर काम सुरु गरिएको छ।’

फरार भएका कैदीबन्दीको ठेगाना र पारिवारिक सम्पर्कजस्ता अभिलेख जेल प्रशासनसँग रहने भएकाले उनीहरू लामो समय लुक्न नसक्ने निर्देशक न्यौपानेको दाबी छ। उनी भन्छन्, ‘जति छिटो कारागार फर्कन्छन्, उति नै सहज हुन्छ, अन्यथा थप कसुरमा सजाय हुनेछ। विमानस्थलको बाटो हुँदै फरार कैदीबन्दी भाग्न सक्ने सम्भावना भएकाले अध्यागमन कार्यालयमा समेत रेकर्ड पठाइएको छ। खुला सिमाना भएका बोर्डरमा समेत फरार कैदीको रेकर्ड पठाइएको छ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवहाक तोकेका छन्। सानेपास्थित पार्टी कार्यालयमा बसेको केन्द्रीय कार्यसमितको बैठकमा बोल्दै सभापति देउवाले खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका हुन्। ' मेरो स्वास्थका कारणले म पार्टीका उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवहाक सभापतिकारूपमा काम गर्नेगरी तोकेको छु,' उनले भने,'उहाँले पार्टीको बृहत्तर हितमा काम गर्नुहुनेछ भन्ने मेरो विश्वास छ।' जेनजी आन्दोलनपछि ...
: भूमि समस्या समाधान आयोग खारेज गर्ने निर्णय फिर्ता हुनुपर्ने भन्दै अखिल नेपाल किसान महासंघ र भूमि अधिकार तथा श्रमिक संगठनले काठमाडौंमा प्रदर्शन गरेका छन्। भूमि समस्या समाधान आयोग खारेज गर्ने निर्णयले भूमिहीन, सुकुम्वासी, अव्यवस्थित बसोवासी र श्रमजीवी जनताको अधिकार कुण्ठित गरेको भन्दै उनीहरूले काठमाडौंको तीनकुनेमा प्रदर्शन गरेका हुन्। उनीहरूले भूमि समस्या समाधान आयोग पुनर्स्थापना ...
: नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले जेनजीका जायज मागलाई सम्बोधन गरिनुपर्ने बताएका छन्। मंगलबार सानेपास्थित पार्टी कार्यालयमा सम्बोधनका क्रममा सभापति देउवाले जेनजीले देशमा सुशासन र भ्रष्टाचारमुक्त वातावरण सुनिश्चित हुनुपर्छ भन्ने जायज मागलाई सम्बोधन गरिनुपर्ने धारणा राखेका हुन्। उनले भने, 'उहाँहरूको मुलुकप्रतिको चासो र चिन्ताको सम्बोधन गर्नैपर्छ। यस विषयमा पनि बैठकमा छलफल हुनेछ।' सभापति देउवाले नेपाली जनताको ...
: जेनजी आन्दोलनमा फरार कैदीलाई प्रहरीले बनेपाबाट पक्राउ गरिएको छ। पक्राउ पर्नेमा सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकाका ३५ वर्षीय रविन आचार्य रहेका छन्। काठमाडौंबाट चौतारातर्फ जाँदै गरेको बा प्र ००१ ज ३८६ नम्बरको ईभी गाडीबाट उनलाई पक्राउ गरिएको हो। जबरजस्ती करणी मुद्दामा कैद भुक्तान गर्दै आएको उनी २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा नख्खु कारागारबाट फरार ...
: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गत भदौ २४ गते ज्यानै लिने मनसायले आफू र परिवारमाथि हमला गरिएको बताएका छन्। पार्टी कार्यालय सानेपामा आजदेखि सुरू भएको केन्द्रीय समिति बैठकमा सम्बोधन गर्दै सभापति देउवाले आफ्नो प्रतिष्ठा र छबि गिराउन सुनियोजितरूपमा झुटो प्रचारसमेत गरिएको बताए। 'भदौ २४ गते सिंगो मुलुक जलेको बेला म र मेरा परिवारमाथि पनि ज्यानै ...