मुख्य समाचार
बिपिन जोशीको शव पहिचान गरिएको छ
बिपिन जोशीको शव पहिचान गरिएको छ

: इजरायली सुरक्षा बल (आइडीएफ)ले हमासले फिर्ता पठाएका चार जनाको शव पहिचान गरेको छ। तीमध्ये दुई जना गाई इलोज र बिपिन जोशीको पहिचान गरिएको छ। बाँकी दुई जनाको नाम परिवारको अनुरोधमा हाललाई गोप्य राखिएको छ।


आइडीएफका अनुसार बिपिन जोशीलाई युद्धको पहिलो केही महिनामै हत्या भएको अनुमान गरिएको छ। गाई इलोज भने अपहरणको समयमा घाइते भएका थिए र पर्याप्त उपचार नपाएकै कारण कैदमा मृत्यु भएको बताइएको छ।

इजरायलको अपहृतहरूको परिवार प्रतिनिधि समूहले विज्ञप्तिमा भनेको छ, 'यो अपूरणीय पीडाको क्षण हो। तर, दुई वर्षदेखि अनिश्चितता र मानसिक यातनामा बाँचेका परिवारका लागि बिपिन र गाईका शव फिर्ता आउनु केही हदसम्म राहत हो।' उनीहरूले बाँकी २४ जना अपहृतहरू सुरक्षित घर फर्किनुपर्ने अडान लिएका छन्।


२०२३ अक्टोबर ७ मा गाजाबाट हमास आतंककारीहरूले इजरायलको दक्षिणी क्षेत्रमा आक्रमण गर्दा बिपिन जोशी अन्य नेपाली विद्यार्थीहरूसँग किब्बुट्ज आलुमिममा थिए। उनीहरू अलार्म बज्दा नजिकैको शेल्टरतर्फ भागेका थिए, तर आतंककारीहरूले त्यहाँ ग्रेनेड फ्याँके। बिपिनले एक आतंककारीलाई धकेलेर बाहिर निकाल्ने प्रयास गरे, तर अर्को ग्रेनेड विस्फोट हुँदा उनका दुई साथी मारिए र केही घाइते भए। त्यसपछि बिपिनलाई आतंककारीहरूले अपहरण गरी गाजास्थित शिफा अस्पताल लगिएको थियो। त्यही दिनको भिडियोमा उनलाई आफ्नै खुट्टामा हिँडिरहेको देखिएको थियो। बिपिन जोशी त्यतिबेला २३ वर्षका थिए। इजरायलमा कृषि अध्ययनका लागि आएको एक महिनामात्र भएको थियो।

युद्ध सुरु भएदेखि नै नेपालमा रहेका बिपिनका परिवार मिडियाबाट निरन्तर जानकारी लिँदै आएका थिए। गत अगस्टमा उनकी आमा पद्मा जोशी र बहिनि पुष्पा जोशी पहिलोपटक नेपाल छोडी इजरायल पुगेका थिए। उनीहरूले बिपिन अपहरण भएको किब्बुट्ज भ्रमण गरे र इजरायली सैनिक तथा अपहृत प्रशासनका अधिकारीहरूसँग भेटेका थिए।

गत साता परिवारले सार्वजनिक गरेको भिडियोमा बिपिनलाई बन्धक अवस्थामा देखिएको छ, जुन हमासका अनुसार नोभेम्बर २०२३मा खिचिएको हो। त्यस भिडियोमा उनले आफ्नो नाम, उमेर र इजरायलमा आएको मिति बताउँछन्। परिवारले त्यो भिडियो एक वर्षअघि हेरे पनि सेन्सर कारण हालमात्र सार्वजनिक गर्न पाएका थिए।

बहिनी पुष्पाले हारेट्जलाई भनेकी छन्, 'जब मैले त्यो भिडियो हेरेँ, मेरो शरीर काँप्यो। म, आमा र बुबा सबै रोयौं। सुरुमा उहाँलाई सकुशल देख्दा राहत महसुस भयो, तर त्यसपछि झन् डर लाग्न थाल्यो, के हामी उहाँलाई फेरि देख्न पाउँछौं?'

अनिश्चितताको अन्त्य, तर पीडाको सुरुवात
दुई वर्षदेखि बन्धक बनेका बिपिनको मृत्युको खबरले नेपाल र इजरायलमा रहेका नेपाली समुदायलाई गहिरो शोकमा डुबाएको छ। उनी असंख्य नेपाली श्रमिक र विद्यार्थीहरूको प्रतिनिधि पात्र बनेका थिए, जसले विदेशी भूमिमा श्रम र सिकाइका सपनासँगै जोखिम पनि बोकेका छन्।

बिपिनको परिवारले भनेको छ, 'अब हाम्रो छोराको नाम अनिश्चितताको सूचीमा छैन। तर, उनको सपनाको कथा अधुरो रह्यो।' नेपाल सरकार र इजरायलस्थित नेपाली दूतावासले यस घटनामा दुःख व्यक्त गर्दै बिपिनको परिवारप्रति समवेदना प्रकट गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। रसुवाको भोटेकोशी बाढीबाट जीवन गुमाएकाहरूको सम्झनामा लन्डनस्थित नेपाली दूतावासमा स्मृति सभा आयोजना गरिएको छ । मंगलबार बेलुका दीप प्रज्वलनसहित सुरु गरिएको स्मृति सभामा मृतकहरूको सम्झनामा मौन धारण गरिएको थियो । स्मृति सभामा हाल बेलायतमा अध्ययनरत युवा विद्यार्थीहरूको उल्लेख्य उपस्थिति थियो । स्मृति सभालाई सम्बोधन गर्दै बेलायतका लागि नेपालका कार्यवाहक राजदूत बिपिन दुवाडीले नेपाल सरकारले खोजी, उद्धार तथा ...
। नेपाली कला संस्कृति र पहिचानको उत्सव मानिने ‘लन्डन नेपाली मेला’ आइतबार केम्पटन पार्क रेस कोर्स प्राङ्गणमा सम्पन्न भएको छ । लन्डनस्थित नेपाली दूतावासको सहकार्यमा तमुधिं यूकेले मेला आयोजना गरेको हो । नेपालका बाढी पीडितको सहयोगका लागि समर्पित उक्त मेला हेर्न झण्डै १० हजार सहभागी भए । तमुधिं यूकेले बाढी पीडितका लागि आर्थिक संकलन सुरु भइसकेको र ...
। भारतका रक्षामन्त्री राजनाथ सिंहले नयाँ दिल्लीस्थित नेपाली दूतावास पुगेर नेपालमा हालै आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन्। दूतावासमा राखिएको शोक पुस्तिकामा हस्ताक्षर गर्दै रक्षामन्त्री सिंहले भारतीय सरकार र जनताको तर्फबाट नेपाल सरकार तथा सम्पूर्ण नेपाली जनताप्रति हार्दिक समवेदना प्रकट गरेका हुन्। गत भदौ १० गते आएको बाढीका कारण ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली ...
। सन् २०२१ मा बेलायती विश्वविद्यालय योर्क सेन्ट जोन युनिभर्सिटीबाट एमबीए उत्तिर्ण गरेपछि मेलिसा थापा (नाम परिवर्तन) ले दुई वर्ष पोष्ट स्टडी वर्क (पिएसडब्लु) भिजा लिएर फुलटाइम काम गरिन् । यो स्किम सकिएपछि उनी कि त नेपाल फर्कनु पर्दथ्यो कि बेलायतमै स्पोन्सर खोजेर वर्क परमिटमा रहनु । फर्किंदा नेपालमा खासै भविष्य नदेखेकी उनले सन् २०२४, ९ ...
: साउदी अरबमा रोजगारीका लागि पुगेका नेपालीमध्ये ९११ जना विभिन्न मुद्दामा जेलमा रहेका छन् । दुतावास रियादका अनुसार ११ अगस्ट २०२६ सम्मको विवरणअनुसार जेलमा रहेका नेपालीमध्ये ४९९ जनाको फैसला भइसकेको छ भने ४१२ जनाको मुद्दा अझै विचाराधीन रहेको छ । जेलमा रहेका नेपालीमध्ये सबैभन्दा धेरै पूर्वी क्षेत्रमा ३७७ जना, केन्द्रीय क्षेत्रमा ३३४ जना ...