: नेपाली कांग्रेसको महाधिवेशन माग गर्दै संकलित हस्ताक्षरसहितको प्रस्ताव दर्ता आज हुने भएको छ। कांग्रेस महामन्त्री गगनकुमार थापाले महाधिवेशन प्रतिनिधिहरूले गरेको हस्ताक्षरसहितको प्रस्ताव दर्ता आज दिउँसो ३ बजे कार्यलयमा दर्ता हुने जानकारी दिए।
मंगलबार महाधिवेशन प्रतिनिधिहरूलाई महामन्त्री थापाले सीमित व्यक्तिहरू सहभागी भएर बुधबार आउन र हस्ताक्षरसहितको प्रतिवेदन कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले बुझ्ने भन्दै आश्वस्त पारे। नेताहरु कार्यालय पुगेपनि हस्ताक्षरसहितको प्रस्ताव पटकपटक सर्दै आएको थियो।
जेनजी आन्दोलनपश्चात पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पहिलो पटक पार्टी कार्यालयमा सम्बोधन गर्दै संविधान सभाबाट निर्मित नेपालको संविधान जोखिममा परेको र जननिर्वाचित सर्वोच्च संस्था प्रतिनिधि सभा असंवैधानिक तथा अलोकतान्त्रिक तवरले विघटन गरिएको दाबी गरे। सभापति देउवाले राष्ट्र, लोकतन्त्र र लोकतान्त्रिक शासन पद्धति गम्भीर सङ्कटमा परेको घडीमा पार्टीभित्र एकता कायम राख्नुपर्ने र पार्टी विधान अनुसार तोकिएको समयमा १५ औँ महाधिवेशन सम्पन्न गर्ने विषयमा केन्द्रीय कार्यसमितिले गम्भीर छलफल गरी आवश्यक निर्णय लिने बताएका थिए। देउवाले कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति खड्कालाई दिएका छन्।
बुधबार कार्यसम्पादन समितिको बैठक बसेर एजेन्डाहरू तय गरिने भएको छ। एजेन्डा तय गर्न बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले महाधिवेशनसम्बन्धी तालिकामा सहमति नजुट्दा मंगलबार बोलाइएको कार्यसम्पादन समितिको बैठकसमेत स्थगित भएको थियो।
कांग्रेसमा अहिले मंसिरभित्रै नियमित महाधिवेशन गर्न सकिने वा नसकिने र विशेष महाधिवेशनमा जाने वा नजानेबारे मुख्य रूपमा विवाद चलिरहेको छ । मंसिरभित्रै नियमित महाधिवेशन गर्न महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा नेता शेखर कोइराला सहमत छन् तर मंसिरमा नियमित महाधिवेशन नभएमा विशेष महाधिवेशनमा जाने भन्नेमा उनीहरू छन् ।
सभापति देउवा पक्ष भने मंसिरभित्र महाधिवेशन गर्न तयारी नपुग्ने बताउँदै आएको छ । संस्थापन पक्ष चुनावका लागि लाग्ने समयअनुसार महाधिवेशन गर्न सकिनेमा छन् । महामन्त्रीद्वय थापा र शर्मा यसमा सहमत छैनन् । उनीहरू मंसिरभित्र नियमित महाधिवेशन नभए विशेष महाधिवेशनमा जानुपर्ने अडानमा छन् । अहिलेसम्म ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशनका पक्षमा हस्ताक्षर गरेका छन् ।
यही विषयमा सहमतिको बाटो खोज्न बैठक सुरु हुनुअघि नै महामन्त्रीद्वय थापा र शर्माले सभापति देउवासँग छलफल गरेका थिए । दिउँसो १ बजे बस्ने भनिएको केन्द्रीय कार्यसमिति बैठकलाई केहीबेर पछाडि धकेलेर सभापति देउवा निवासमा भएको उक्त छलफलले नै नेतृत्वबाट बहिर्गमनदेखि फागुन २१ को चुनावबारे पार्र्टीको धारणा र नियमित महाधिवेशन कि विशेष महाधिवेशन भन्ने विवादलाई सुरक्षित अवतरण गराएको नेताहरूको तर्क छ ।
कांग्रेसका नेता शेखर कोइरालाले मंसिरभित्रै नियमित महाधिवेशन हुनुपर्ने बताएका छन् । पार्टी कार्यालयमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै कोइरालाले मंसिरभित्रै पार्टीको १५औं महाधिवेशन हुनुपर्ने बताएका हुन् । उनले अगाडि भने, ‘नियमित महाधिवेशन हुनुपर्यो, मंसिरभित्रै हुनुपर्यो । योभन्दा तलमाथि हुनु भएन, केन्द्रीय समितिले यसबारे निर्णय गर्छ ।’
कांग्रेसको केन्द्रीय समिति बैठक ३० गते बस्ने भएको छ।