मुख्य समाचार
शेरबहादुर देउवाले निर्वाचनका माध्यमबाट मात्रै मुलुकलाई पूर्ण संवैधानिक बाटोमा फर्काउन सकिने बताए
शेरबहादुर देउवाले निर्वाचनका माध्यमबाट मात्रै मुलुकलाई पूर्ण संवैधानिक बाटोमा फर्काउन सकिने बताए

— कांग्रेसका सभापति शेरबहादुर देउवाले निर्वाचनका माध्यमबाट मात्रै मुलुकलाई पूर्ण संवैधानिक बाटोमा फर्काउन सकिने बताएका छन् । देउवाले आजको केन्द्रीय कार्यसमितिको बैठकमा १३ पेज लिखित मन्तव्य राख्दै सरकारलाई तोकिएको मितिमा हुने निर्वाचन सुरक्षित र भयरहित वातावरण बनाउन पनि आग्रह गरेका छन् ।


‘सरकारले फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन गर्ने मिति तोकेको छ । तथापि, स्वतन्त्र, निष्पक्ष र भयरहित निर्वाचनको वातावरण बन्न सकेको छैन । निर्वाचनको पूर्वसर्तका रुपमा रहेको शान्ति सुरक्षाको ग्यारेन्टी छैन । सुरक्षा निकाय मनोबल गिरेर निरीह भएका छन् । तसर्थ निर्वाचनका लागि शान्ति सुरक्षाको अवस्था सामान्य बनाउने र शान्तिपूर्ण निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न हुन्छ र सबैले स्वतः स्फूर्त निर्वाचनमा भाग लिने अवस्था निर्माण हुन्छ भन्ने कुराको सुनिश्चितता गराउने जिम्मा सरकारको हो’ देउवाले भनेका छन् ‘यसतर्फ सरकारको ध्यान जाओस् । सरकारले निर्वाचनका लागि वातावरण बनाउन सकेमा देशलाई पुनः संवैधानिक बाटोमा फर्काउने आधार निर्वाचन हो भन्ने हाम्रो विश्वास छ ।’

कांग्रेसले आफूलाई एकताबद्ध, सुसंगठित बनाउँदै लोकतान्त्रिक व्यवस्थामा आस्थावान् अन्य राजनीतिक दलहरुसँगसमेत संवाद र सहकार्य गर्नु आवश्यक रहेको देउवाले भनेका छन् । ‘संविधानसभाबाट नेपाली जनताले निर्माण गरेको नेपालको संविधान जोखिममा परेको छ । जननिर्वाचित सर्वोच्च संस्था प्रतिनिधिसभा असंवैधानिक तथा अलोकतान्त्रिक तवरले विघटन गरिएको छ । बहुदलीय लोकतान्त्रिक व्यवस्थामा वाहक मानिने राजनीतिक दलहरुसँग सरकारले सार्थक संवादको वातावरण बनाएको छैन’ देउवाको लिखित मन्तव्यमा भनिएको छ ‘यस अवस्थामा कांग्रेसले अन्य राजनीतिक दलहरुसँग संवाद गरी आगामी योजनाबारे छलफल गर्न आवश्यक छ । मुलुकमा संकट आएका बेला त्यसको निकास पनि नेपाली कांग्रेसले दिने गरेको विगतको इतिहासलाई आत्मसाथ गर्दै सबै राजनीतिक दललाई एकमत बनाउनेतर्फ अघि बढौं ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा विघटनविरुद्ध रिट निवेदन लिएर अदालत जाने कि नजाने भन्ने विषयमा परामर्श गर्न विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख सचेतकहरुलाई छलफलमा बोलाएका छन् । सिंहदरबार अहिले भइरहेको छलफलमा विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतक र सचेतकहरू सहभागी छन्। छलफलमा सभामुख घिमिरे र उपसभामुख इन्दिरा रानामगरले प्रतिनिधिसभा विघटनका विषयमा दलहरूको धारणाबारे जानकारी ...
— मधेश प्रदेशका निवर्तमान मुख्यमन्त्री सतिशकुमार सिंह दल रोज्न प्रदेश निर्वाचन कार्यालय जनकपुरधाम पुग्दा दुई पक्षले नाराबाजी गरेका छन् । जनमत पार्टीबाट छुट्टिएर बनेको जनस्वराज पार्टी रोज्न बुधबार दिउँसो उनी कार्यालय पुग्दा नाराबाजी भएको हो । जनमत पार्टीका नेता/कार्यकर्ताले उनीविरुद्ध नाराबाजी गरेका थिए भने नेकपा एमाले र नेपाली कांग्रेसका सर्मथकहरुले 'मुख्यमन्त्री जिन्दावाद' नारा लगाएका थिए । ...
— माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहालले चुनावमा लाग्न कार्यर्तालाई निर्देशन दिएका छन् । धादिङ, बेनिघाट रोराङका कार्यकर्तालाई सम्बोधन गर्दै उनले सरकार, निर्वाचन आयोग र सुरक्ष निकाय चुनावी तयारीमा लागेको बताए । 'अबको माओवादीको लाइन भनेको चुनाव हो,' उनले भने । तिहारलगत्तै समाजवादी मोर्चाभित्र रहेका दलहरूसँग एकता प्रक्रिया अघि बढ्ने पनि उनले जानकारी दिए । एमालेसँग एकताको ...
— एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको महाधिवेशन आगामी मंसिरमा प्रस्ताव गरेका छन् । आज बसेको केन्द्रीय कमिटी बैठकमा उनले मंसिर २७-२९ का लागि पोखरामा महाधिवेशन प्रस्ताव गरेका हुन् । उनको प्रस्ताव केन्द्रीय कमिटीले अनुमोदन गर्नेछ ।
ललितपुर महानगरको बजेटमा जुम्लामा कलात्मक गणेश मन्दिर निर्माण