मुख्य समाचार
श्रीलंकाको भूमिगत गिरोहका सदस्यहरू काठमाडौंमा पक्राउ
श्रीलंकाको भूमिगत गिरोहका सदस्यहरू काठमाडौंमा पक्राउ

— श्रीलंकाको अदालत परिसरमै भूमिगत गिरोह (अन्डरवर्ल्ड) का नाइके सञ्जीवा कुमारा समारारत्ने (गणेमुल्ला सञ्जीवा) हत्याका आरोपी नेपालमा लुकेर बस्दै आएको भेटिएको छ । नेपाल प्रहरीसँग समन्वयमा गरिएको विशेष अपरेसनमा गणेमुल्लाका हत्यामा संलग्न ६ जना अभियुक्त काठमाडौंमा पक्राउ परेपछि उनीहरू काठमाडौं र भक्तपुरमा सेल्टर लिएर बस्दै आएको खुलेको हो ।


प्रहरी उच्च स्रोतका अनुसार, पक्राउ पर्नेमा श्रीलंकाको मिनुवनगोडा बस्ने इसारा सेउबन्दी (२६), जीवथासन कनाकरासा (३३), ठाक्सी नन्थाकुमार (२३), दिनेश श्यामन्था दि सिल्भा (४९), केनेडी बस्टिम्पिल्लै (३५) र दिनेश निसन्था कुमारा विक्रम आचिर्च्चगे (४३) छन् । उनीहरूमध्ये इसारा सेउबन्दी ७ फागुन २०८० मा कोलम्बोको हल्फ्सडोर्प अदालत परिसरको मजिस्ट्रेट कोर्टमा भएको सञ्जीवा हत्या प्रकरणकी मुख्य अभियुक्त हुन् ।

उनीविरुद्ध अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) मा समेत रेड नोटिस जारी थियो । रेड नोटिस जारी भएका व्यक्तिहरू आफ्नो देशमा भए/नभएको बारे इन्टरपोलका सदस्य राष्ट्रहरूले खोजी गर्ने गर्छन् ।

कहिलेकाहीँ रेड नोटिस जारी गराउने मुलुकको दूतावासले समेत चासो दिने गर्छ । ‘यो घटनामा पनि काठमाडौंस्थित श्रीलंकन दूतावासले चासो देखाएको थियो, त्यसपछि हामीले निगरानी थालेका थियौं,’ नेपाल प्रहरीका एक अधिकृतले भने, ‘यो गिरोह समात्न प्रहरी प्रधान कार्यालय, नक्सालमा रहेको इन्टरपोलको नेसनल सेन्ट्रल ब्युरो (एनसीबी) बाट टोली परिचालित थियो ।’

पक्राउ परेका मध्ये सबै श्रीलंकाको कुख्यात नाइके एवं लागूऔषध तस्कर केहेलबड्डरा पद्ये समूहको भएको प्रहरीको भनाइ छ । उनले मलेसिया र दुबईबाट संगठित अपराधको र्‍याकेट चलाउँदै आएका थिए । उनीविरुद्ध पनि इन्टरपोलमा रेड नोटिस जारी थियो र २५ अगस्टमा इन्डोनेसियाबाट पक्राउ परेका थिए । सञ्जीवाको हत्याको मुख्य योजनाकारचाहिँ पद्ये नै भएको श्रीलंकन प्रहरीले बताउँदै आएको स्थानीय समाचार संस्थाहरूले समेत उल्लेख गरेका छन् ।


अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार, हत्याका बेला घटनास्थलमै रहेकी मुख्य अभियुक्त इसारा सेउबन्दी भक्तपुरमा कोठा भाडामा लिएर बस्दै आएको खुलेको छ । घरबेटीलाई आफू भारतीय नागरिक भएको बताएर उनी त्यहाँ बस्दै आएकी थिइन् । ‘भारतको बैंग्लोर घर बताएर एक महिनादेखि भक्तपुरमा बसिरहेको खुलेको छ, उनी प्रायः कोठामै बस्ने गरेकी थिइन्,’ अनुसन्धानमा संलग्न एक अधिकृतले भने, ‘बाहिर हिँडडुल गर्दा जोखिम हुन सक्ने ठानेर पनि होला ।’

अधिकृतहरूका अनुसार, गणेमुल्लाको गोली प्रहारमा संलग्न सुटर दिलसन पियुमंगालाई घटनाकै दिन श्रीलंकन प्रहरीले पक्राउ गरेको थियो । प्रहरीले अदालत परिसरको क्लोज सर्किट (सीसी) टीभी फुटेज हेर्दा अहिले भक्तपुरमा पक्राउ परेकी इसाराले सुटरलाई सहयोग गरेको खुलेको थियो । उनी हत्यामा सहयोग गर्ने उद्देश्यले वकिलको भेषमा अदालत परिसरमा पुगेको अनुसन्धानमा पाइएको थियो । उनले एउटा पुस्तकभित्र लुकाएर अदालत परिसरभित्र हतियार प्रवेश गराएकी थिइन् ।

अनुसन्धानका क्रममा परिचय खुल्दा उनी समुद्री मार्गबाट भारत पुगिसकेकी थिइन् । ‘भारत भाग्नलाई उनले झन्डै ६५ लाख रुपैयाँ खर्च गरेकी थिइन् भन्ने जानकारी छ, त्यहाँ दुई साताजति बसेर स्थलमार्ग हुँदै काठमाडौंसम्म आएको पाइएको छ,’ ती अधिकारीले भने, ‘काठमाडौंमा प्रहरीले समाउँदैन भन्ने भएपछि आरामले बसिरहेको पाइएको छ ।’

तर, श्रीलंकन प्रहरीको समन्वय र काठमाडौंस्थित दूतावासबाट समेत सूचना आएपछि नेपाल प्रहरी परिचालित भएको थियो । काठमाडौंस्थित दूतावासकी उपप्रमुख चमिरा मुनासिंगेले केही दिनअघि सिंहदरबारमा गृहमन्त्री ओमप्रकाश अर्याललाई समेत भेटेकी थिइन् । त्यसपछि प्रहरीले चलाएको अपरेसनमा उनीहरू पक्राउ परेका हुन् ।

अर्का आरोपी श्रीलंकाका चर्चित गुन्डा नाइके जेके बाई भनेरसमेत चिनिने केनेडी बस्टिम्पिल्लैचाहिँ ठमेलस्थित एक होटलबाट पक्राउ परेका हुन् । उनलाई समातेपछि प्राप्त सूचनाका आधारमा सेउबन्दीसम्म प्रहरी पुगेको अधिकृतहरू बताउँछन् । ‘जेके मुख्य नाइकेको सम्पर्कमा रहेछन्, उनले भनेअनुसारको ठाउँमा खोजी भएको थियो,’ ती अधिकृतले भने, ‘पछि प्राविधिक पक्षको विश्लेषणसहित हेर्दा उनी भक्तपुरमा बसिरहेको खुल्यो ।’ जीवथासन र ठाक्सी नन्थाकुमारचाहिँ नयाँ बसपार्क, मित्रपार्कबाट पक्राउ परेका हुन् ।

प्रहरी स्रोतका अनुसार, पक्राउ परेका मध्ये २ जनाको साथमा राहदानीसमेत भेटिएको छ । उनीहरू हवाई मार्गबाट नेपाल प्रवेश गरेको देखिन्छ । तर, बाँकी चार जनाको हकमा कुनै किसिमका कागजात नभेटिएकाले सबै समुद्री सतहबाट भारत र त्यसपछि स्थलमार्गबाट नेपाल आएको हुन सक्ने अधिकारीहरू बताउँछन् ।

‘नेपालमा उनीहरूको अपराध नभएकाले अध्यागमन विभागसँग समन्वय गरिरहेका छौं,’ ती अधिकृतले भने, ‘अध्यागमन ऐनअनुसार उनीहरूलाई डिपोर्ट गर्ने तयारी छ ।’ विभागका एक उच्च अधिकृतले समेत उनीहरूलाई नेपालबाट निष्कासन गर्ने तयारी भइरहेको बताए । ‘तीन जनाबाहेकको राहदानी पनि छैन, बाँकीलाई समेत निष्कासन गर्ने निर्णय भएको छ,’ उनले कान्तिपुरसँग भने, ‘उनीहरूले नेपाली कानुनअनुसार तिर्नुपर्ने शुल्कसमेत बुझाइसकेका छन् ।’

नेपाल–भारतबीच खुला सीमा भएकाले एउटा देशमा अपराध गरेर अर्को देशमा लुक्ने प्रवृत्ति छ । त्यस्तोमा प्रहरी–प्रहरी तहको समन्वयका आधारमा एकअर्काको देशलाई अपराधी बुझाइने गरिएको छ । तर, इन्टरपोलका अधिकृतहरूका अनुसार, श्रीलंकाका अपराधी नेपालमा आएको चाहिँ धेरै सुनिएको थिएन । यसअघि भारतको कोलकातामा भएको बंगलादेशी सांसद अनवरुल अजिम आनाको हत्यामा संलग्न सइम हुसेनलाई २०८१ जेठमा प्रहरीले काठमाडौंबाट पक्राउ गरेको थियो ।

२०८२ साउनमा अर्का भूमिगत गिरोह (अन्डरवर्ल्ड) का नाइके दाउद इब्राहिमका एजेन्ट शेख सलिम उर्फ सलिम पिस्टललाई भारतीय प्रहरीले काठमाडौंबाट पक्राउ गरेको थियो । कुख्यात सिरियल किलर चार्ल्स शोभराजलाई समेत नेपाल प्रहरीले २ असोज २०६० मा काठमाडौंको क्यासिनो रोयलबाट पक्राउ गरेको थियो । नेपाल प्रहरीले अर्का भूमिगत गिरोहका नाइके छोटा राजन समूहका इजाज लकडावालालाई २०७६ पुसमा पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— विराटनगरबाट धनकुटाको महालक्ष्मी नगरपालिकास्थित जितपुर जाँदै गरेको बस बुधबार दिउँसो धनकुटाको निगालेमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । प्रदेश १०२००१ ख ९६०६ नम्बरको बस दुर्घटनामा परेको हो । मृत्यु हुनेमा महालक्ष्मी-७ की गंगा कार्की र अर्का एक पुरुष छन् । दुर्घटनामा ६ जना यात्रु घाइते भएका छन्। घाइतेहरूको धनकुटा जिल्ला अस्पतालमा उपचार ...
— एमाले अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटीले पदबाट हट्ने निर्णय गरे आफू पदबाट हट्न तयार रहेको उल्लेख गर्दै सामाजिक सञ्जालबाट हटाउन खोज्नु गलत भएको बताएका छन् । ‘मैले हट्नुपर्छ कि पर्दैन भनेर फेसबुकले भन्ने होइन । यो कमिटीले हट्नुपर्छ भनेका दिन एकदम खुसीका साथ हट्छु । घर जले पनि, केही भए पनि अँध्यारो मुख लाउन ...
— श्रीलंकाको अदालत परिसरमै भूमिगत गिरोह (अन्डरवर्ल्ड) का नाइके सञ्जीवा कुमारा समारारत्ने (गणेमुल्ला सञ्जीवा) हत्याका आरोपी ६ जनालाई नेपाल सरकार श्रीलंका डिपोर्ट गरेको छ । काठमाडौंमा पक्राउ परेका उनीहरुलाई बुधबा सरकारले डिपोर्ट गरेको हो । नेपाल प्रहरीसँग समन्वयमा गरिएको विशेष अपरेसनमा गणेमुल्लाका हत्यामा संलग्न ६ जना अभियुक्त काठमाडौंमा पक्राउ परेपछि उनीहरू काठमाडौं र भक्तपुरमा सेल्टर लिएर बस्दै ...
— एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकार चुनाव गराउने बाटोमा नगएको दाबी गरेका छन् । आजदेखि सुरु एमाले केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारमाथि नै संवैधानिक प्रश्न भएको बताए । चुनाव गराउने बाटो सरकारले नसमातेको भन्दै उनले अवैध ढंगको असंवैधानिक सरकार भएको आरोप लगाए । 'हामी सबैलाई थाहा छ नि त ...
— मधेश प्रदेशमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका प्रदेशसभा सदस्य जितेन्द्र प्रसाद सोनार (सोनल) को नेतृत्वमा नयाँ सरकार गठनको लागि दाबी पेस गरिएको छ । ६ दलको ५७ सांसदको सर्मथनमा प्रदेश प्रमुख सुमित्रा भण्डारी समक्ष बुधबार दावी पेश गरिएको हो । मुख्यमन्त्री सतिशकुमार सिंहले मंगलबार विश्वासको मत लिनुअघि नै पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले ...