— दुर्लभ वन्यजन्तु एकसिंगे गैंडा मारेको र यसको अंग खागको कारोबारमा संलग्न भएको अपराध पुष्टि भएर कारागारमा रहेका कैदीहरू जेन-जी आन्दोलनको अवसर छोपेर फरार हुँदा गैंडा संरक्षणमा चिन्ता छाएको छ ।
चितवनको भरतपुर कारागारबाट मात्रै यस्ता १२ जना कैदी फरार भए । अन्य कारागारबाट गैंडा मुद्दाका कम्तिमा थप तीनजना कैदी फरार रहेको कारागार व्यवस्था विभागले आइतबार सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।
राजनीतिक अस्थिरता दुर्लभ वन्यजन्तु संरक्षणमा चुनौती बनेर खडा भएको विगतका घटनाक्रमले पनि पुष्टि गरेको छ । माओवादी सशस्त्र संघर्षका बेला संकटकाल लागेको समयमा एकै वर्षमा सबैभन्दा धेरै गैंडा चोरी सिकारीले मारेको निकुञ्जको तथ्यांक छ । ०६२/६३ को आन्दोलनलगत्तै पनि चितवन निकुञ्जमा गैंडाको अवैध सिकार बढेको थियो । अहिले पनि देशको राजनीतिक अवस्था निकै तरल छ । दसैं- तिहारजस्ता चाडपर्वको समयमा पनि गैंडा सिकार हुने गरेको इतिहास छ ।
यस्तो समयमा गैंडा मारेको अपराधमा जेल सजाय भोगेका कैदीहरू नै फरार हुँदा चुनौती झनै थपिएको छ । चितवन निकुञ्जमा २०८० कात्तिक ३० मा खाल्डोमा पारेर मारेका दुई वटा गैंडा फेला परेका थिए । तस्करहरूले गैंडाको नाकमाथि हुने सिंग जस्तो वस्तु खागका लागि गैंडा मार्दछन् । ती दुई गैंडा खागबिहिन भेटिएको हुँदा उनीहरूलाई तस्करले मारेको पुष्टि भएको थियो । त्यसयता निकुञ्जमा गैंडाको चोरी सिकार भएको छैन। त्यही घटनामा संलग्न योजनाकार नै अहिले कारागारबाट फरार छन् ।
मुद्दा दायर भएको ११ वर्षसम्म फरार, त्यसपछि पक्राउ अनि फेरि फरार
कारागार व्यवस्था विभागले सार्वजनिक गरेको फरार कैदीको नामावलीमा चितवनबाट फरार हुनेको सूचीमा ठूलो कान्छाका सथै सागर प्रजा पनि भनिने विन्दरसिंह प्रजाको नाम सुरुमै छ । उनी गैंडा मुद्दामा जेल परेका व्यक्ति हुन् । तर मुद्दा दायर भएको लामो समयसम्म सागर फरार रहे । गैंडा मारेको अभियोगमा २०६७ सालको पुसमा उनीविरुद्ध चितवन निकुञ्जमा मुद्दा दायर भएको थियो । निकुञ्जले २०७२ सालमै उनलाई कैद सुनाएको थियो । तर उनी समातिएका थिए, २०७८ जेठमा ।
निकुञ्जका अधिकारीहरूका अनुसार सागर २०६१ सालदेखि नै गैंडा मार्न सक्रिय थिए । २०६७ पुस १९ गते निकुञ्जभित्र धोवाहा रतनीघाटमा वयस्क भाले गैंडालाई गोली हानेर मारेको र खाग बेचेको आरोपमा उनी विरुद्ध मुद्दा दायर भएको थियो । स्थायी ठेगना चितवनको पहाडी क्षेत्र सिद्धिको सैपाम भए पनि उनी आफ्नो पुरानो थात थलोमा नबसेर भाग्दै लुक्दै हिँडे ।
२०७८ जेठको पहिलो हप्तातिर सागरलाई निकुञ्जको टोलीले तनहुँ ब्यास नगरपालिका–११ घाँसीकुवा ठूलो चौरबाट समाएको थियो । २०६७ सालको चैत्र २७ गते चितवन राष्ट्रिय निकुञ्जमा सागरसहित १९ जनाविरुद्ध मुद्दा दायर भएको थियो । सागर पक्राउ नपरे पनि २०७२ असार ३० गते निकुञ्जले उक्त मुद्दा फैसला गरेको थियो । जसमा सागरलाई १५ वर्ष कैद र एक लाख रुपैयाँ जरिवना भएको थियो । गैंडा मुद्दामा त्यो बेला हुने अधिकतम कैद र जरिवाना रकम त्यही थियो ।
पछि ऐन संशोधन भएर कैद १५ वर्ष नै कायम भए पनि जरिवाना बढेर १० लाख रुपैयाँ पुगेको छ । हाल गैंडा मुद्दा पनि निकुञ्जमा नभएर अदालतमा चल्न थालेको छ । निकुञ्जले गरेको फैसलालाई २०७४ फागुनमा तत्कालीन पुनरावेदन अदालत हेटौंडाले पनि सदर गरेको थियो । सागरले पाँचवटा गैंडा मारेको निकुञ्जको अभियोग थियो । मुद्दा दर्ता भएको ११ वर्षपछि र फैसला भएको ६ वर्षपछि समातिएका सागर जेन-जी आन्दोलनका कारण कारागारबाट निस्केर फेरि फरार भएका छन् ।
गैंडा मार्ने नयाँ सिकारी र योजनाकार पनि फरार
फरार रहँदै आए पनि बल्ल बल्ल समातिएका सागर जस्ता पुराना गैंडा सिकारी मात्रै होइन, जेन-जी आन्दोलनको मौकामा नयाँ गैंडा सिकारी र गैंडा मार्ने योजनामा संलग्न भएकाहरू पनि फरार भए । उनीहरूलाई पनि अधिकतम कैद सजाय र जरिवाना भएको छ ।
हेटौंडा–३ मकवानपुरका रमेश खाती, चितवन राप्ती–११ थाकलटारका पासाङ्ग भनिने आइतसिंह मोक्तान र चितवनकै माडी नगरपालिका–९ बाँदरझुला बस्ने स्याङ्बो भन्ने इन्द्रबहादुर तामाङ गैंडा मुद्दामा १५ वर्ष कैद र १० लाख रुपैयाँ जरिवाना पाएका व्यक्तिहरू हुन् । हाल यी तीनजना नै फरार सूचीमा छन् ।
२०८० कात्तिक ३० गते चितवन निकुञ्जको पूर्वी क्षेत्र चपरचुलीमा खाल्डोमा परेर मरेका खागबिहिन दुई गैंडा भेटिएका थिए । चितवन निकुञ्ज, सेनासहित यो घटनाको विषयमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पनि अनुसन्धान गरेको थियो । उनीहरू तीनैजना यही घटनासँग सम्बन्धित हुन् । निकुञ्जभित्र मचान नै बनाएर ढुक्कले बसी खाल्डोमा पारेर गैंडा मार्ने र खाग काटेर लैजाने टोली हो यो । रमेश खाती घटनाको मुख्य योजनाकार रहेको निकुञ्जले त्यो बेला जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
त्यसैगरीे आइतसिंह मोक्तान र स्याङ्बो भन्ने इन्द्रबहादुर तमाङ गैंडा मार्न खटेको निकुञ्जको भनाइ थियो । उनीहरू दुई वर्षअघि २०८० सालको मंसिरमा पक्राउ परेका थिए । चितवन भरतपुर कारागारमा गैँडा मुद्दामा दुईजना थुनुवासहित ४६ जना कैदी र थुनुवाहरू रहेको कारागारका सूचना अधिकारी चेतनाथ ढुंगानाले बताए ।
विभागले जारी गरेको सूचनाअनुरुप नै कारागारबाट बाहिरिएकामध्ये १२ जना कैदी सम्पर्कमा आएका छैनन् । सागर, खाती, मोक्तान र तामाङसहित करण मुक्तान भन्ने करण प्रजा पनि अधिकतम कैद सजाय १५ वर्ष र जरिवाना एक लाख रुपैयाँ पाएका फरार कैदी हुन् ।
गैंडा मुद्दामा पाँच वर्ष कैद पाएका एकजना, सात वर्ष कैद पाएका दुईजना, आठ वर्ष कैद पाएका दुईजना, १० वर्ष कैद पाएका दुईजना पनि भरतपुर कारागारबाट फरार रहेका छन् । यसरी न्यूनतमदेखि अधिकतम सजाय पाएका कैदीहरू कारागारबाट फरार हुँदा संरक्षणकर्मीहरू चिन्तित देखिन्छन् । भरतपुरबाट मात्रै नभएर केन्द्रीय कारागार जगन्नाथ देवलमा रहेका गैंडा मुद्दाका तीनजना कैदीहरू रोल्पाका अर्जुनसेन ठकुरी, मकवानपुर काँकडाका सिताराम थिङ र हेटौंडाका विष्णुबहादुर कार्की क्षेत्री पनि फरार भएका छन् ।
प्रशासन र समुदाय सहकार्य नभए चुनौती बढ्ने
कारागारमा रहेका नयाँ पुराना गैंडा सिकारीहरू फरार हुनु संरक्षणका दृष्टिले चुनौतीपूर्ण हो भएको संरक्षणकर्मी वासु ढुंगाना बताउँछन् । यस्तोबेला समुदाय चनाखो हुनुपर्ने र सुरक्षा निकाय सक्रिय बन्नुपर्ने उनले बताए । ‘संरक्षणमा तीन खम्बे भन्ने चर्चा हुन्छ । निकुञ्ज प्रशासन एउटा खम्बा हो भने सुरक्षा गर्ने सेना अर्को खम्बा हो । तेस्रो खम्बा त स्थानीय हुन्,’ ढुंगानाले भने ।
चितवन निकुञ्जको मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समितिका पूर्व अध्यक्षसमेत रहेका ढुंगानाले यो बेला सबै सर्वसाधरण जागरुक बन्न आवश्यक रहेको बताए । ‘सञ्चार जगतदेखि निजी क्षेत्र, राजनीतिक दलदेखि संघ संस्था जाग्नुपर्यो,’ उनले भने ।
संरक्षणकर्मी डोमा पौडेल पनि समुदायमा तत्कालै सचेतना फैलाउन आवश्यक रहेको धारणा राख्छिन् । युवाहरूलाई चोरी सिकारविरुद्ध समेट्ने अभियानमा १४ वर्षदेखि सक्रिय सौराहाकी डोमाको भनाइ छ । ‘सेना र प्रशासनप्रति हाम्रो विश्वास छ । तर समुदाय पनि यो बेलामा जाग्नुपर्छ,’ उनले भनिन्, ‘यो बेला चितवन निकुञ्जको मध्यवर्ती समितिहरू प्राय: नेतृत्वविहीन छन् । २२ समितिमध्ये सातवटा मात्रै नयाँ गठन भएका छन् । संरक्षणका लागि यो पनि एक खालको चुनौती हो ।’
निकुञ्जका मध्यवर्ती वन समितिहरू सक्रिय नै रहेका कारण समन्वयमा कुनै समस्या नरहेको नवलपरासी अमलटारी मध्यवर्ती उपभोक्ता समितिका पूर्वअध्यक्ष प्रेमशंकर मर्दनीया थारुले बताए । ‘यो निकै संवेदनशील समय हो । कैदी भागेका छन्, हतियार लुटिएका छन् । समाजमा अपराध बढ्ने यस्तै बेला हो र वन्यजन्तुमाथि पनि खतरा रहन्छ । त्यसैले संरक्षणकर्मीहरू जागरुक रहनुपर्छ । हामीले यो कुरा बुझेर योजना बनाइसकेका छौं,’ उनले भने ।
चितवन राष्ट्रिय निकुञ्जका प्रमुख रहेका वरिष्ठ संरक्षण अधिकृत गणेश पन्तले फरार रहेका कैदीहरूले पार्ने प्रभावको आंकलन र सुरक्षा रणनीति तयार भएको बताए । ‘उनीहरू फर्केलान् भन्ने सम्भावना थियो । नआए पछि त्यहीअनुसारको रणनीति बनाएका छौं । उनीहरूलाई पक्राउ गर्ने र निकुञ्जभित्र सुरक्षा प्रभावकारी बनाउनेमा हामी लागेका छौं,’ पन्तले भने ।
गैंडा विश्वबाटै लोप हुने अवस्थामा पुगेको दुर्लभ वन्यजन्तु हो । देशभर ७५२ गैंडा रहेकोमा चितवन निकुञ्ज र यस आसपासको क्षेत्रमा सबैभन्दा धेरै ६९४ गैंडा रहेका छन् ।