मुख्य समाचार
गण्डकी मेडिकल कलेजमा उपचाररत बिरामीलाई अर्को अस्पताल लैजान एम्बुलेन्समा राखिँदै र पछाडिपट्टि भुइँमा आन्दोलनरत नर्स
गण्डकी मेडिकल कलेजमा उपचाररत बिरामीलाई अर्को अस्पताल लैजान एम्बुलेन्समा राखिँदै र पछाडिपट्टि भुइँमा आन्दोलनरत नर्स

— कास्कीको मादी गाउँपालिका–११ बरालडाँडाका ७० वर्षीय चित्रबहादुर गुरुङ सुगर–प्रेसरका दीर्घरोगी हुन् । एक्कासि स्वास्थ्य बिग्रेपछि उनी ३ दिनदेखि पोखरा नयाँबजारस्थित गण्डकी मेडिकल कलेज (जीएमसी) को सघन उपचार कक्ष (आईसीयू) मा उपचाररत थिए ।


उनलाई उपचारका लागि मंगलबार पोखराकै अर्को अस्पताल स्थानान्तरण गरिएको छ । जीएमसीका नर्स आन्दोलित भएपछि उनलाई अर्को अस्पताल लगिएको हो । अस्पतालबाट उनलाई एम्बुलेन्समा राखेर लैजाँदै गर्दा पछाडिपट्टि नर्सहरु ‘श्रमको उचित मूल्य’ माग्दै नाराबाजीमा थिए । पोखराका दुई ठूला निजी अस्पताल गण्डकी मेडिकल कलेज र पोखरा मणिपाल शिक्षण अस्पतालको सेवा नर्स आन्दोलनका कारण प्रभावित बनेको छ ।

दुवै अस्पतालले वार्डका बिरामी अवस्था हेरेर कतिलाई घर पठाएका छन्, कतिलाई अन्य अस्पताल रेफर गरेका छन् । पोखरामा यी दुई निजी अस्पतालमा मात्र नेपाल सरकारको स्वास्थ्य बिमा कार्यक्रम लागू छ । त्यसैले पनि यहाँ बिरामीको चाप बढी हुन्छ । दुवै अस्पतालले ओपीडी सञ्चालनमै छ । नयाँ बिरामी भर्ना गरेका छैनन् । भर्ना गर्नुपर्ने बिरामीलाई अन्य अस्पतालमा जान सुझाव दिएर पठाइएको छ ।

बिमा चल्ने दुवै ठूला अस्पतालको सेवा प्रभावित भएपछि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा बिरामीको चाप बढेको छ ।


प्रतिष्ठानका निर्देशक सह प्राडा. प्रेमराज पंगेनीले निजी अस्पतालमा सेवा प्रभावित भएपछि बीमाका बिरामीको चाप बढेको सुनाए । निजी अस्पतालले समन्वय गरेर बिरामी रेफर गरिररहेको उनले बताए । ‘यस्तो प्रकारको बिरामी हुनुहुन्छ भनेर हामीलाई पठाउनुभएको छ । हामीले हाम्रो क्षमताले, स्रोतसाधनले भ्याएसम्म बिरामी राख्छौं भनेर उहाँहरुलाई भनेका छौं,’ उनले भने, ‘हाम्रोमा अहिले दैनिक २ हजार ४ सय जति बिरामी आउनुहुन्छ ।’ निजी मेडिकल कलेजमा आन्दोलन हुनुअघि दैनिक १ हजार ९ सयसम्म बिरामी हुने गरेको उनले बताए ।

भर्ना हुनुपर्ने बिरामी सिधै इमर्जेन्सीमा आएकाले त्यहाँ चाप बढेको उनले सुनाए । इमर्जेन्सीमा आउने बिरामीको संख्या बढेकाले जनशक्ति व्यवस्थापनको तयारी भइरहेको उनले बताए । अन्य अस्पतालको ओपीडीमा जाँच गराएपछि भर्ना हुनुपर्ने बिरामी पश्चिमाञ्चलमा इमर्जेन्सीमा जान थालेका छन् । यस अस्पतालसँग ५ सय शय्या छ । डाक्टर, नर्सको उपलब्धताका कारण अस्पतालले हाल ४ सय शय्यामा सेवा दिइरहेको छ ।



मणिपाल र जीएमसीले आईसीयू, एनआईसीयू, एचडीयूमा राखेर विशेष हेरचाह शय्याको सेवा चलाएका छन् । नर्सिङ इन्चार्ज र अन्य केही नर्सको सहयोगमा आईसीयू, एनआईसीयूमा राख्नुपर्ने बिरामीको उपचार भइरहेको जीएमसीका सूचना अधिकारी कृष्ण पौडेलले बताए । घर पठाउन मिल्नेलाई डिस्चार्ज गरिएको र उपचार गर्नुपर्नेलाई राखिएको उनले सुनाए । ‘अझै पनि १८/१९ जना आइसीयूमा हुनुहुन्छ । एनआइसीयूमा ९ जना हुनुहुन्छ,’ उनले भने, ‘हामीले कतिलाई रातारात डिस्चार्ज गर्नुपर्‍यो ।’

मणिपालले पनि नर्सिङ इन्चार्ज र सिनियर नर्सको सहयोगमा विशेष शय्यामा उपचाररत बिरामीलाई सेवा दिइरहेको छ । निजी अस्पतालमा उपचार गराउन सक्ने बिरामीलाई समस्या नपरेपनि दुवै अस्पतालको सेवा तत्काल सुरू नभए बीमाका बिरामी मर्कामा पर्नेछन् । दुवै अस्पतालको सेवा प्रभावित भएपछि र पश्चिमाञ्चलले चाप बढी हुँदा भर्ना हुनुपर्ने बीमाका बिरामी वीर र त्रिवि शिक्षण अस्पताल जानुपर्ने बाध्यतामा छन् ।

मणिपाल र गण्डकीबाट दैनिक १ हजार २ सय बिरामीले सेवा लिन्छन् । अहिले दुवै अस्पतालका नर्स सरकारी पाँचौं सरह सुविधा पाउनुपर्ने मागसहित आन्दोलनमा उत्रिएका छन् । दुवै निजी अस्पतालका सञ्चालक हालभन्दा सेवासुविधा थप गर्न तयार रहेपनि सरकारीसरह दिन नसक्ने बताइरहेका छन् ।

मणिपालले नर्सलाई २४ देखि २९ हजार रुपैयाँसम्म मासिक पारिश्रमिक दिने प्रस्ताव गरेको छ । योभन्दा थप गर्न नसक्ने र काममा नफर्किए नयाँ नर्स भर्ना गर्ने मणिपालको तयारी छ । जीएमसीले भने नर्सलाई तत्काल कुनै प्रस्ताव राखिसकेको छैन । दुवै अस्पतालका नर्सले मासिक १५ हजार रुपैयाँ आसपास पारिश्रमिक पाउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
‘जनसंहार’ शब्दमा अल्झियो सरकार-जेनजी वार्ता
चमत्कारिक ओभरहेड किकले रोनाल्डो चर्चामा
। अध्यागमन विभागमा एउटा सूचना आयो– चिनियाँको एक समूहले काठमाडौंमा भिसा विपरीतको काम गर्दै आएको छ । सूचनालाई थप भेरिफाइ गरेपछि उक्त चिनियाँ समूहलाईलाई अध्यागमन विभागले लोकेट गर्‍यो । सोह्रखुट्टे भन्दा केही पर म्हैपीको एक घरमा उनीहरूको बसेको अध्यागमनले पत्ता लगायो । अध्यागमनको टोलीले २८ आसोजमा उक्त घरमा खानतलासी गर्न पुग्यो । प्रहरी समेत लिएर गएको अध्यागमन ...
रुस-युक्रेन युद्धमा नयाँ वार्ताका लागि संयुक्त राज्य अमेरिका, युक्रेन र यसका युरोपेली सहयोगीहरूका प्रतिनिधिमण्डल आइतबार जेनेभामा भेट्ने
— मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाभियानले आइतबारदेखि गर्ने भनिएको हड्तालका कार्यक्रम फिर्ता लिएको छ । सरकार र महाभियानका प्रतिनिधिबीच शनिबार बालुवाटारमा भएको वार्तामा महाभियानले मंसिर ७ गतेबाट गर्ने भनिएको नेपाल बन्द, अनिश्चितकालीन आम हड्तालका कार्यक्रम फिर्ता लिने सहमति बनेको हो । 'वार्तामा महाअभियानले उठाएका २७ बुँदे मागहरुका सन्दर्भमा ...