— मधेश प्रदेशका निवर्तमान मुख्यमन्त्री सतिशकुमार सिंह दल रोज्न प्रदेश निर्वाचन कार्यालय जनकपुरधाम पुग्दा दुई पक्षले नाराबाजी गरेका छन् । जनमत पार्टीबाट छुट्टिएर बनेको जनस्वराज पार्टी रोज्न बुधबार दिउँसो उनी कार्यालय पुग्दा नाराबाजी भएको हो ।
जनमत पार्टीका नेता/कार्यकर्ताले उनीविरुद्ध नाराबाजी गरेका थिए भने नेकपा एमाले र नेपाली कांग्रेसका सर्मथकहरुले 'मुख्यमन्त्री जिन्दावाद' नारा लगाएका थिए । जनमतको नेताहरुले निर्वाचन कार्यालय जान नदिने योजना बनाए पनि प्रहरी र कांग्रेस/एमालेका नेताहरुले बल प्रयोग गरेर सिंह बसेको गाडी निर्वाचन कार्यालयमा प्रवेश गराएका थिए । एकछिन दुवै पक्षबीच घम्साघम्सीसमेत भएको थियो ।
निवर्तमान मुख्यमन्त्री सिंह र प्रदेशसभा सदस्य त्रिभुवन साहले जनमत पार्टीबाट छुट्टिएर बनेको जनस्वराज पार्टी रोजेर हस्ताक्षर गरेका छन् । यसले प्रदेशसभामा थप एक दलको प्रतिनिधित्व हुने भएको छ । यसअघि १० दल प्रदेशसभामा थिए ।