— जेन-जी आन्दोलनका क्रममा वीरेन्द्रनगरका १२ वटा वडा कार्यालय आगजनी र तोडफोडले पूर्ण रुपमा नष्ट भएपछि वीरेन्द्रनगर नगरपालिकाले एकीकृत सेवा प्रवाह गर्न थालेको छ ।
नगरपालिकाले जिल्ला समन्वय समितिको हलबाट वडा नं १ देखि १२ नम्बर वडाका सेवा प्रदान गरिएको छ । आगजनी भएको एक महिनाभन्दा बढी समय बितिसक्दासमेत नगरपालिकाले वडा कार्यालयबाटै सेवा सञ्चालनन गर्न कुनै चासो दिएको छैन । वडा कार्यालय सञ्चालनमा नआउँदा सेवाग्राहीले अनावश्यक सास्ती भोग्नुपरेको छ ।
वीरेन्द्रनगर-१ का अध्यक्ष दिनेश खत्रीले सेवाग्राहीहरु टाढाटाढाबाट अटोरिक्सा रिजर्भ गरेर नगरपालिका आउनुपरेको बताए । वडा तहका जनप्रतिनिधि र सेवाग्राहीले वडा कार्यालय सञ्चालन गर्न नगरपालिकाको नेतृत्वले बेवास्ता गरेको गुनासो गरेका छन् । वडा १२ का अध्यक्ष चूडामणि चपाईले एउटै कोठाबाट सेवा प्रवाह गर्दा निकै समस्या भएको बताए । ‘जेष्ठ नागरिक, बालबालिका, मृत्युदर्ता र अन्य सिफारिस लिन आउनेहरुलाई समस्या छ,' उनले भने, ‘टाढाबाट आउनुहुन्छ तर पनि सामान्य कागजपत्र नमिलेपछि फर्कनुपर्ने बाध्यता छ ।’
आगलागी भएको महिना दिन पुगे पनि नगरपालिका कार्यालय र जिल्ला समन्वय समितिबाट सेवाप्रवाह सञ्चालनमा छ । आगलागी र तोडफोडका कारण वडा कार्यालयका सम्पूर्ण कोठा, कागजात, फर्निचर, कम्प्युटर तथा इलेक्ट्रोनिक सामग्री नष्ट र चोरी भएपछि समन्वय समितिबाट सेवाप्रवाह थालिएको हो ।