— एमाले अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटीले पदबाट हट्ने निर्णय गरे आफू पदबाट हट्न तयार रहेको उल्लेख गर्दै सामाजिक सञ्जालबाट हटाउन खोज्नु गलत भएको बताएका छन् ।
‘मैले हट्नुपर्छ कि पर्दैन भनेर फेसबुकले भन्ने होइन । यो कमिटीले हट्नुपर्छ भनेका दिन एकदम खुसीका साथ हट्छु । घर जले पनि, केही भए पनि अँध्यारो मुख लाउन जानेको छैन । मारिने अवस्था सिर्जना हुँदा पनि अँध्यारो मुख लाउन जान्या छैन,’ आजदेखि सुरु एमाले केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले भने, ‘फेरि पनि केन्द्रीय कमिटीको आदेशमा जुनसुकै कुरा गर्न तयार छु । यो कमिटीमा बसेर कोही सदस्यले बाहिर गएर अखबारबाजी गरेर, लोकिप्रियतावादका पछि कुदेर हुन्छ ?’
केही नेताहरुले आफूलाई बोकेर अघि जान नसक्ने बताएको सन्दर्भमा उनले त्यो जरुरी नभएको बताए । ‘कतिपय साथीहरुले भन्नुहुन्छ- तपाईंहरुलाई बोकेर जान सकिँदैन । किन बोक्नुपर्यो ? म आफै हिँड्छु । दौडन सक्ने अवस्थामा छु । कसैलाई मन पर्दैन होला, नबोक्नुस् । केन्द्रीय कमिटी र महाधिवेशनले के भन्छ ? म त्यही गर्छु,’ उनले भने, ‘हट्ने पनि प्रक्रिया हुन्छ । विरोधीलाई घरमा, पार्टी कार्यालयमा आगो लगाउन मन लागेको थियो । एमाले मन नपरेर होइन केन्द्रीय कार्यालय, घर जलाएको ?’
उनले आफूले अलोकप्रिय हुने कुनै काम नगरको दाबी गरे । ‘हामी के भएर अलोकप्रिय भयौं ? हामीले भ्रष्टाचार गरेका छौं र ?' उनको भनाइ थियो ।