: सभामुख देवराज घिमिरे र राजनीतिक दलको बैठकले संसद् विघटन असंवैधानिक भएको निष्कर्ष निकालेको छ। आज बिहान सिंहदरबारमा बसेको प्रतिनिधिसभा विघटनपछि पहिलोपटक सभामुख घिमिरेले संसदमा प्रतिनिधित्व गर्ने दलसँग छलफल गरेका थिए।
छलफलका क्रममा एमालेले संसद पुनर्स्थापनामा जोड दिएको छ। अन्य दलहरुले सरकारले निर्वाचनको वातावरण बनाए आफूहरू निर्वाचनमा जान तयार रहेको धारणा राखेका थिए । छलफलपछि कांग्रेस नेता श्याम घिमिरेले प्रतिनिधिसभा विघटन असंवैधनिक रहेपनि अबको निकास संसद पुनर्स्थापना वा निर्वाचन नै भएको बताए। सरकारले निर्वाचनको उचित वातावरण बनाए कांग्रेस निर्वाचनबाट नभाग्ने उनले बताए।
एमालेका नेता महेश बर्तौलाले बैठकमा सहभागी सबै दलले संसद पुनर्स्थापना गरेर जानुपर्छ भन्ने साझा धारणा राखेको जानकारी गराए। उनले सर्वोच्चमा रिट परेकाले हुने फैसलालाई स्वीकार गर्ने बताए। बैठकमा प्रतिनिधि सभा विघटनको विरोध सबै गरेको जानकारी दिए। उनले जेनजीको माग यहि संसदले पूरा गर्न सक्ने भएपनि ठूलो षड्यन्त्र गरेर विघटन गरेको निष्कर्ष निकालेको जानकारी दिए।
उनले भने,‘जेनजीले राम्रा विषय पनि उठाएका छन्। संसद् पुनर्स्थापना गरेर संवैधानिक तरिकाबाटै जेनजीले उठाएका माग सम्बोधन हुन्छ। सबै दलहरूको आआफ्नै निर्णय छन्।’
उनले निर्वाचन घोषणा गरेपनि राजनीतिक दलसँग संवाद नगरेको भन्दै दलहरुले आपत्ति जनाएको बताए। उनले सरकारका मन्त्री निर्वाचन गर्ने वातावरणभन्दा भड्काउनतर्फ केन्द्रित रहेको बताए। उनले वर्तमान सरकारले निर्वाचनका लागि कुनै तयारी नै नगरेकाले संसद् पुनर्स्थापना हुनुपर्ने एमालेको स्पष्ट धारणा रहेको बताए ।
यसैगरी एकीकृत समाजवादीको वरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण्डेले राष्ट्रपति कार्यालयबाट संसद विघटनको विज्ञप्ति जारी गर्ने बित्तिकै ८ वटा दलका २२९ जना सांसदले असंवैधानिक भनेर वक्तव्य जारी गरेको उल्लेख गरे। उनले अदालतले सरकार बनेकोदेखि लिएर विघटन असंवैधानिक ठहर गर्यो भने नयाँ कोर्सबाट अगाडि बढ्ने बताए। उनले सर्वोच्चमा हिजो १० वटा रिट परेकाले न्यायिक परीक्षण हुने बताए। उनले सभामुख संसद विघटनको मुद्दा लिएर नजाने बताए।
यसैगरी राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीले जेनजीका माग सम्बोधन नगरी संसद पुनर्स्थापना गर्न नहुने सभामुखलाई सुझाव दिएको बताए। उनले प्रत्यक्ष कार्यकारी, प्रदेश खारेज लगायतका माग संसद पुनर्स्थापना गरेर पारित गर्ने प्रतिबद्धता जनाएपछि मात्र पुनर्स्थापना हुनुपर्ने बताए।