: नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारकै कारण तोकिएको समयमा चुनाव नहुने दावी गरेका छन्। नेकपा एमाले केन्द्रीय कमिटीको १० औं बैठकलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष ओलीले चुनाव गराउने वातावरण सरकारले बनाउन नसकेको आरोप लगाए। उनले भने,' चुनाव हुनेवाला छैन। चुनाव गराउने बाटो सरकारले समातेको छैन। '
अन्तरिम सरकारलाई ६ महिनाभित्र चुनाव गर्नुपर्ने म्यान्डेट छ। निर्वाचन आयोगले फागुन २१ गते निर्वाचनको मिति घोषणा गरेको छ।
अध्यक्ष ओलीले जेनजीको नाममा योजनावद्ध तरिकाले संसद विघटन गरिएको जिकिर गरे। असंवैधानिक ढंगले संसद विघटन गर्नुहुँदैन भनि फैसला गर्ने पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले नै असंवैधानिक तरिकाले विघटन गरी आफू प्रधानमन्त्री बनेको उनले तर्क गरे।
'यो असंवैधानिक सरकार हो। पूर्वन्यायाधीले के गर्नु हुन्छ के गर्नु हुँदैन भन्ने कुरा संविधानमा लेख्या छ। पूर्वप्रधान्यायाधीशले आफै फैसला गर्ने । अनि आफै असंवैधानिक ढंगले प्रधानमन्त्री हुने। असंवैधानिक ढंगले संसद विघटन गर्नुहुँदैन भन्ने फैसला गर्ने उहाँहरू। अहिले आफैं असंवैधानिक तरिकाले विघटन गर्ने। यो एउटा योजनाअन्तर्गत गरिएको प्रतिगमन हो,' उनले भने,' जेनजीको माग र जेनजी आन्दोलन भन्ने कुरा योसँग जोडिनु हुँदैन। सुशासन होस् , भ्रष्टाचार नियन्त्रण होस् र फेसबुकलगायत सामाजिक सञ्जाल खुला गरियोस् भन्ने जेनजीका माग थिए।अहिले पनि जेनजीहरूले भनिराख्या छन् प्रधानमन्त्रीको राजीनामा हाम्रो माग थिएन। संसद भंग गर्ने हाम्रो माग होइन्। '
अध्यक्ष ओलीले यतिबेला एमालेको काँधमा असाधारण जिम्मेवारी आएको र यसलाई दृढताका साथ पूरा गर्नुपर्ने बताए। उनले भने, ' यतिबेला एमालेको काँधमा असाधारण जिम्मेवारी आएको छ। त्यो जिम्मेवारी बहन गर्न दृढताका साथ अगाडि बढ्नुपर्छ। यो नै हाम्रो पार्टीको कर्तव्य हो।'
विगतमा जेजस्तो भएपनि अब पार्टीलाई सुदृढीकरण गरेर अघि बढ्ने उनको भनाइ छ।