। संघीय सरकारले अनुदान रोकेपछि बनेपामा रहेको शीर मेमोरियल अस्पतालमा आमा सुरक्षा कार्यक्रम स्थगित भएको छ ।
संघीय सरकारले बनेपा नगरपालिका मार्फत २०६८ देखि सुरक्षित सुत्केरी गराउन सहयोग स्वरुप दिँदै आएको सहयोग रोकेपछि आमा सुरक्षा कार्यक्रम स्थगित भएको अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा. हेक्टर गायरसले जानकारी दिए ।
संघीय सरकारले पर्याप्त बजेट नपठाएकाले कार्यक्रमलाई निरन्तरता दिन नसक्ने भन्दै बनेपा नगरपालिकाले गत असोज २७ गते अस्पतालको नाममा पत्र पठाएपछि कार्तिक १ गतेदेखि कार्यक्रम स्थगित गर्न लागिएको उनको भनाइ छ ।
२०६८ सालमा नगरपालिका र शीर मेमोरियल अस्पतालबीच द्वीपक्षीय सम्झौता भई संघीय सरकारको बजेटमा आमा सुरक्षा कार्यक्रम संचालन हुँदै आएको थियो। अस्पतालमा सुत्केरी हुने महिलाहरुका लागि अस्पतालको तर्फबाट ४८ प्रतिशत, संघीय सरकारको तर्फबाट ३२ प्रतिशत र विरामीको तर्फबाट २० प्रतिशत खर्च ब्यहोर्ने सहमति थियो । संघीय सरकारले शल्यक्रिया गर्दा १० हजार र सामान्य अवस्थामा सुत्केरी भए २ हजार ५ सय रुपैया उपलब्ध गराउँदै आएको थियो।
अस्पतालका वित्त प्रमुख सुर्यप्रभा शाक्यका अनुसार, १४ बर्षको अवधीमा २८ हजार जना भन्दा बढी अस्पतालमा सुत्केरी भएका छन् । उनका अनुसार आर्थिक वर्ष २०८१/२०८२ मा मात्र १ हजार ५ सय ४८ जनाले सेवा पाएका छन् । जसमध्ये ७ सय ६७ जनाको सामान्य र ७ सय ७४ जनाको शल्यक्रिया गरिएको थियो । उक्त संख्याको गत आर्थिक बर्षमा ९६ लाख ८५ हजार संघीय सरकारले भुक्तानी उपलब्ध गराएको शाक्यको भनाई छ।
काभ्रेपलाञ्चोकका अलावा रामेछाप, सिन्धुपाल्चोक, दोलखा, सिन्धुली र भक्तपुरका स्थानीय समेतले सेवा लिँदै आएका थिए । अस्पतालका अनुसार कार्यक्रमका लागि संघीय, प्रदेश तथा स्थानीय सरकार र अन्य निकायबाट समेत बजेट प्राप्त हुने अवस्थामा पुर्ववत अवस्थामा संचालन हुने अस्पतालले जानकारी दिएको छ । वित्त प्रमुख शाक्यका अनुसार चालु आर्थिक वर्षको साउन र भदौ महिनामा सेवा उपलब्ध गराए बापत १३ लाख ९० हजार रुपैया भुक्तानी आउन बाँकी छ ।
संघीय सरकारले अनुदान रोकेपछि अस्पताल आफैले ‘शीर मदर केयर’ सेवा घोषणा गरेको छ । अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा. हेक्टरका अनुसार, सुत्केरीका लागि जननल वार्डमा ५० प्रतिशत, औषधिको खरिदमा पाँच प्रतिशत छुट दिने उल्लेख छ।
‘ संघीय सरकारले रोकेपनि अस्पतालले आफ्नै ब्यवस्थापनमा विरामीहरुलाई पाउँदै आएको सेवामा केहि सहज महसुस हुने गरी ‘शिर मदर केयर प्रोगाम’ संचालन गर्ने छौं।’– अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा. हेक्टरले भने ।
आमा सुरक्षा कार्यक्रम संचालन भएका बखत पनि आर्थिक वर्ष २०८१/२०८२ मा मात्रै १ करोड ४० लाख रुपैया अस्पतालले छुट दिएको छ भने अन्य सेवामा बार्षिक साढे ३ करोड भन्दा बढी रकम विरामीहरुको लागि छुट दिँदै आएको अस्पतालले जनाएको छ ।