: नेकपा एमालेका केन्द्रीय सदस्य महेश बर्तौलाले नेकपा एमाले निर्वाचनमार्फत जनताद्वारा परीक्षित हुने कुरालाई सदैब स्विकार गर्ने बताएका छन्। जनवादको कार्यनीतिलाई आत्मसात् गरेर अगाडि बढेको लोकतान्त्रिक पार्टी एमालेलाई निर्वाचन विरोधी भाष्य नबनाउन आग्रह गर्दै उनले निर्वाचनबाट पिठ्यु फर्काएर कहिल्यै नभाग्ने टिप्पणी गरेका हुन्।
ललितपुरमा जारी केन्द्रीय समितिको बैठकमा बोल्दै बर्तौलाले सरकार निर्वाचन गर्ने भन्दापनि मुलुकमा डर, भय, त्रास र आतङ्क सिर्जना गरेर सत्तामा रहिरहन चाहेको बताए।
‘निर्वाचनमार्फत जनताद्वारा परीक्षित हुने कुरालाई सदैब सम्मान र स्विकार गर्दछ। र निर्वाचनबाट पिठ्यु फर्काएर कहिल्यै भाग्दैन। तर आगामी फागुन २१ गते निर्वाचन सम्पन्न गराउने कार्यादेशसहित असंवैधानिक ढङ्गले बनेको यो सरकारले निर्वाचन गराउँदैन भन्ने कुरा उसका सुरु देखिकै व्यवहार र गतिविधिहरुबाट घाम जत्तिकै छर्लङ्ग हुँदै गएको छ।’ उनले भने, ‘सरकार निर्वाचनको वातावरण बनाउनेतर्फ भन्दापनि मुलुकमा डर, भय, त्रास र आतङ्क सिर्जना गरेर सत्तामा रहिरहन र लम्याउन चाहन्छ ।’
उनले राजनीतिक दलहरूसँग संवाद र छलफलको सट्टा निषेधको कार्यशैलीका साथ सरकार अगाडि बढिरहेको बताए। बर्तौलाले प्रतिनिधि सभा पुनर्स्थापना नभए मुलुक अर्को दुर्घटनामा फस्न सक्ने चेतावनी दिए। उनले भने, ‘एकातिर घोषित मितिमा निर्वाचन पनि नगर्ने र अर्कोतर्फ जनप्रतिनिधि सर्वोच्च संस्था संसद् पनि नहुने हो भने मुलुक अर्को भयानक संकट र दुर्घटनातर्फ उन्मुख रहने खतरा सुनिश्चित नै छ।’
अबको मिसन संसद् पुनर्स्थापना, राष्ट्रिय सरकार गठन, संविधान संशोधन र अर्ली इलेक्सनमा जाने रहेको बताए। विघटित प्रतिनिधि सभाका एमालेका प्रमुख सचेतक बर्तौलाले भने, ‘मुलुक सामु देखिएको यस्तो कहालिलाग्दो र गम्भिर अवस्था बाट मुलुकलाई मुक्त गर्दै जेन जी युवा पुस्ताको भावना, आकाङ्क्षा र चाहनालाई समेत सम्बोधन गर्दै स्थिरता , स्थायित्व र दिगो शान्तितर्फ मुलुकलाई लैजान विघटित संसदको पुनर्स्थापना, पुनर्स्थापित संसद्बाट सर्वदलीय राष्ट्रिय सरकार निर्माण, विषय किटान गरेरै संसद् बाट संविधानको संशोधन र ताजा जनादेशको लागि अर्ली एलेक्सनलाई मुख्य प्राथामिकतामा राखेर अगाडि बढ्नु आजको चुनौतीपुर्ण परिश्थितिको मुख्य कार्यभार हो।’
उनले अहिलेको परिस्थितिमा यो व्यवस्था र संविधान स्विकार गर्ने सम्पूर्ण नागरिकहरु, राजनितिक दलहरु र राष्ट्रवादी शक्तिहरु एक ठाउँमा उभिनु जरुरी रहेको बताए।