। नेपाली क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले आगामी वर्ष भारत र श्रीलंकामा हुने टी-२० विश्वकप क्रिकेटमा भारत र अस्ट्रेलियासँग खेल्ने चाहना रहेको बताएका छन् ।
शुक्रबार सामोआसँगको खेल जितेपछि कुरा गर्दै रोहितले विश्वकपमा उच्चस्तरीय टिमसँग भेट हुने र राम्रो खेल्ने बताएका हुन् । ‘अब विश्वकप भारतमै हुने भएकाले भारतसँगै खेल्ने चाहना छ, अनि अस्ट्रेलियासँग पनि’ उनले भने, ‘ इंग्ल्यान्डले पनि राम्रो गरेको छ । राम्रो टिमसँग खेल्न पाइनेछ।’
नेपालले भारतसँग १-१ पटक एकदिवसीय र टी-२०आई खेलिसकेको छ । अस्ट्रेलिया, इंग्ल्यान्ड र न्युजिल्यान्डसँग भने नेपालले खेल्न बाँकी छ जुन अवसर यो विश्वकपमा जुर्न सक्छ ।
रोहितले विश्वकप छनोटको यात्रामा सारथी बनेका टिम अफिसियलदेखि प्रशिक्षक र खेलाडीलाई पनि धन्यवाद दिएका छन् । ‘सबैजनाले आ-आफ्नो ठाउँबाट योगदान दिएका छन् । सबै खेलाडीहरूको प्रदर्शनप्रति गर्व छ, टिम अफिसियलहरूले पनि धेरै साथ दिनुभएको छ’ उनले भने ।
साथै रोहितले सम्पूर्ण नेपाली क्रिकेट समर्थक र दर्शकहरूलाई पनि धन्यवाद दिए । भारतमा धेरै समर्थकहरू पुगेर नेपालको खेल हेर्ने पनि उनले विश्वास लिएका छन् ।
नेपालले एसिया तथा इस्ट एसिया पेसिफिक छनोटमा अपराजित रहेर उपाधि नै जितेको छ ।