। दुई दिने जेन–जी आन्दोलनको क्रममा ६ सय ८८ सरकारी कार्यालयमा क्षति पुगेको छ।
सेनाले शुक्रबार एक पत्रकार सम्मेलन आयोजना गरी आन्दोलनको क्रममा ६ सय ८८ सरकारी कार्यालयमा क्षति पुगेको जनाएको हो।
सेनाको युद्ध कार्य विभागका प्रमुख उपरथी अनुपजंग थापाले ती सरकारी कार्यालयमा तोडफोड र आगजनी बताएको बताएका छन्। उनका अनुसार ३०७ प्रहरी कार्यालय पनि आक्रमणको निशानामा परेका छन्।
२५९ निजी निवास, १२८ व्यापारिक प्रतिष्ठान, १९८ राजनीतिक दलका पार्टी कार्यालयमा पनि तोडफोड र आगजनी भएको तथ्यांक नेपाली सेनाले सार्वजनिक गरेको छ।
भ्रष्टाचार अन्त्य, सुशासन, बन्द गरिएका सामाजिक सञ्जाल सञ्चालनलगायतका माग राखी जेनजीले काठमाडौंको माइतीघरमण्डलमा २३ गते प्रदर्शनको आयोजना गरेका थिए। प्रदर्शनमा प्रहरीको गोली लागेर २१ जनाको ज्यान गएपछि देशभर आक्रोश बढेको थियो।
भोलिपल्ट २४ भदौमा देशभरका सरकारी कार्यालय, निजी निवास, व्यापारिक प्रतिष्ठान, राजनीतिक दलका पार्टी कार्यालय, प्रहरी कार्यालय र सञ्चार गृहमा आक्रमण भएको थियो।
देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार, संघीय संसद् भवन, सर्वोच्च अदालत, राष्ट्रपति कार्यालयलगायतका ऐतिहासिक महत्वका संरचना आगो लगाएर ध्वस्त पारिएको थियो।