। काठमाडौंका मुख्य पाँच ठाउँमा अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शनलगायतका विरोधका कार्यक्रम गर्नका लागि थप दुई महिना निषेध गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले भोलि (शनिबार) बाट लागू हुनेगरी विभिन्न पाँच क्षेत्रमा विरोधका कार्यक्रम गर्न बन्देज गरेको हो ।
शीतलनिवास, उपराष्ट्रपति कार्यालय, प्रधानमन्त्री निवास बालुवाटार, सिंहदरबार, नारायणहिटी दरबार संग्रहालय लगायतका क्षेत्रमा थप दुई महिनाका लागि प्रशासनले विरोधका कार्यक्रम गर्न रोक लगाएको हो ।
यसअघि पनि यी ठाउँमा विरोध गर्न प्रशासनले रोक लगाएको थियो ।
मुख्य प्रशासनिक केन्द्र, अति विशिष्ट व्यक्तिहरूको निवास तथा त्यस वरपरका क्षेत्रमा हुन सक्ने धर्ना, घेराउ, जुलुस जस्ता गतिविधिले शान्ति सुरक्षामा गम्भीर असर पर्ने, सार्वजनिक सेवा प्रवाह र यातायात अवरुद्ध हुने तथा अन्तर्राष्ट्रिय चासो र मामिलामा समेत नकारात्मक प्रभाव पर्न सक्ने देखिएकाले यस्तो निर्णय लिइएको विज्ञप्तिमा जनाइएको छ ।