: हमासले बन्धक बनाएको अवस्थामा मारिएका नेपाली युवक विपिन जोशीको पार्थिव शरीरमा प्रधानमन्त्रीसहितका उच्च पदस्थहरूले श्रद्धाञ्जली अर्पण गरेका छन्। फ्लाइ दुबईको विमानबाट विपिनको शव आज नेपाल ल्याइएको थियो।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री सुशीला कार्की, मन्त्रीहरू, परराष्ट्र मन्त्रालयका अधिकारीलगायत उच्च पदस्थहरूले श्रद्धाञ्जली अर्पण गरेका हुन्।
विपिनको शव आजै कञ्चनपुरको भिमदत्तनगरपालिकास्थित उनको घरमा लगिने छ।
हमासले विपिनलाई किबुल आलुमिमबाट २०८० असोज २३ गते अपहरण गरेको थियो। उनी अपहरण परेको केही समयसम्मको जीवित भिडियो केही दिनअघि सार्वजनिक भएको थियो।
इजरायल र हमासबीच युद्धविराम सम्झौतापछि बन्दी साटासाट गर्ने क्रममा हमासले विपिनको शव इजरायली सेनालाई हस्तान्तरण गरेको थियो। डीएनए परीक्षणबाट शव विपिनकै भएको पुष्टि भएपछि नेपाल ल्याइएको हो।