: सुनसरी प्रहरीले लागूऔषध कारोबारमा संलग्न ७ जना कारोबारीलाई पक्राउ गरेको छ। विशेष सूचनाका आधारमा गरिएको छुट्टाछुट्टै कारबाहीमा प्रहरीले जिल्लाको धरान र इनरुवा र रामधुनीबाट लागूऔषधसहित उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रमुख डीएसपी योगराज खतिवडाले बताए।
विशेष सूचनाका आधारमा आइतबार जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी प्रहरी चौकी बसपार्कबाट खटिएको संयुक्त टोलीले इनरुवा नगरपालिका–४, बसचोकस्थित पूर्व–पश्चिम राजमार्गमा लागूऔषध ओसारपसार भइरहेको अवस्थामा दुई जनालाई पक्राउ गरेको हो। आइतबार लौकहीबाट इटहरीतर्फ पैदल जाँदै गरेका इटहरी उपमहानगरपालिका–१८ का ३४ वर्षीय राजु चौधरी र रामधुनी नगरपालिका–४ का २८ वर्षीय रोशन हरिजनलाई चेकजाँच गर्दा राजु चौधरीको गुप्ताङ्गको भागमा लुकाइराखिएको १९.६९ ग्राम ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ। दुवैजनालाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुनसरीको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको डीएसपी खतिवडाले बताए।
इलाका प्रहरी कार्यालय पकलीबाट खटिएको टोलीले रामधुनी नगरपालिका–६ स्थित सुमनकुमार चौधरीको घरमा खानतलासी गर्दा लुकाइछिपाइ राखिएको अवस्थामा ५.७३ ग्राम ब्राउन सुगर फेला पारेको छ। सो क्रममा घरधनी २५ चौधरी र उनीसँगै रहेका धरान उपमहानगरपालिका–८ का ३१ वर्षीय सुमन राईलाई पक्राउ गरी थप अनुसन्धानका लागि प्रहरी नियन्त्रणमा राखिएको डीएसपी खतिवडाले बताए।
त्यसै इलाका प्रहरी कार्यालय धरानबाट खटिएको अर्को टोलीले धरान उपमहानगरपालिका–११ मा विकास परियारको घरमा खानतलासी गर्दा डेकोलिक ५०० र ट्रामोल ५०० ट्याब्लेट फेला पारेको छ। उक्त लागूऔषधसहित ३१ वर्षीय विकास परियार, २२ वर्षीय विजय परियार र ३६ वर्षीय इन्द्र राईलाई नियन्त्रणमा लिइएको खतिवडाले बताए। दुबै घटनामा पक्राउ परेकाहरूमाथि लागूऔषध नियन्त्रण ऐनअन्तर्गत आवश्यक कानुनी कारबाहीअघि बढाइएको प्रहरीले जनाएको छ।