— निर्माण व्यवसायीले काम सुरु गरेको आठ महिनामा बुटवल–गोरुसिंगे सडक विस्तारको काममा १५ प्रतिशत भौतिक प्रगति भएको छ । सुरुका पाँच महिना तीव्र गतिमा काम भएको यो सडक खण्डमा पछिल्ला तीन महिना कामदार अभावले गति सुस्त बनेको हो ।
निर्माण व्यवसायीले असारदेखि कामदार अभावको सामना गर्नुपरेकाले निर्माणको गति कमजोर भएको र छठपछि तीव्र रूपले निर्माणको काम सुरु हुने कम्पनीको दाबी छ । आठ महिनामा आयोजनाको भौतिक प्रगति १२ प्रतिशत पुगेको छ ।
पूर्व–पश्चिम राजमार्गको बुटवलदेखि चन्द्रौटासम्मको सडक निर्माणका लागि चिनियाँ कम्पनी सान्सी कन्स्ट्रक्सन इन्जिनियरिङ ग्रुप र चितवनको आशिष निर्माण सेवा जेभीले सरकारसँग सम्झौता गरेर गत माघदेखि काम सुरु गरेका थिए । १३ अर्ब ५५ करोड ९५ लाख रुपैयाँमा तीन वर्षमा निर्माण सम्पन्न गर्ने गरी असार १३ गते ठेक्का सम्झौता भएको थियो ।
सम्झौतामै २०८१ कात्तिकदेखि काम गर्ने उल्लेख भए पनि निर्माण कम्पनीले माघदेखि काम सुरु गरेको हो । माघ १० मा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल र पूर्वअर्थमन्त्री विष्णु पौडेल र भौतिक पूर्वाधार विकासमन्त्री प्रकाशमान सिंहले भौतिक रूपमै उपस्थित भएर सडक विस्तारको काम सुरु गराएका थिए ।
सरकारले पूर्व–पश्चिम राजमार्गलाई ६ लेनमा विस्तार गर्ने गरी बुटवलदेखि चन्द्रौटासम्मको ६९ किलोमिटर सडकमध्ये पहिलो चरणमा बुटवलदेखि गोरुसिंगेसम्मको झन्डै ५० किलोमिटर र दोस्रो चरणमा गोरुसिंगेदेखि चन्द्रौटासम्मका १९ किलोमिटर काम गर्ने गरी पहिलो चरणको काम सुरु गरेको थियो । अहिले काम भइरहेको बुटवल–गोरुसिंगे खण्डलाई पनि दुई खण्डमा विभाजन गरेर काम भइरहेको छ । त्यसमा बुटवलदेखि कपिलवस्तुको सीमा क्षेत्र कोठी नदीसम्मको २५ किलोमिटर र कोठीदेखि गोरुसिंगेसम्मको २५ किलोमिटरमा काम भइरहेको हो ।
माघदेखि जेठसम्म काम तीव्र गतिले भएको थियो । असारमा कामदार धान रोप्न र अन्य सरकारी योजनाका काममा जान थालेपछि निर्माण व्यवसायीलाई कामदार अभाव भएको थियो । साउन र भदौमा वर्षाका कारण रोकिएको काम भदौ अन्तिम सातापछि जेन–जी प्रदर्शनपछि झन् ठूलो कामदार अभावको सामना गर्नुपरेको आयोजनाले जनाएको छ ।
वर्षायाम, त्यसपछि जेन–जी आन्दोलन र चाडपर्वका कारण निर्माणमा सुस्तता आएको बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक आयोजना प्रमुख इन्जिनियर कुशलता न्यौपानेले बताइन् । सामान्यतया माघदेखि जेठसम्म ८ सयभन्दा बढी कामदारले काम गरिरहेका थिए । ‘असारयता १ सय ५० देखि २ सयको हाराहारीमा मात्र कामदारले नियमित काम गरिरहेका छन्,’ उनले भनिन्, ‘त्यसैले पनि काम नभएजस्तो देखिएको छ । छठपछि पुरानै लयमा फर्काउने प्रयासमा आयोजना र निर्माण व्यवसायी जुटेका छौं ।’ छठलगत्तै ५ सय बढी कामदार नियमित गराउने गरी निर्माण व्यवसायीसँग समन्वय भइरहेको उनको दाबी छ । तोकिएको समयमा काम सक्न दिनको १ हजारभन्दा बढी मजदुर लगाउनुपर्ने कार्यालयको विश्लेषण छ ।
सडक विस्तारअन्तर्गत अहिले बीचको पुरानो सडक यथावत् राखेर दायाँबायाँ खण्डमा काम भइरहेको छ । त्यसअन्तर्गत पुल, कल्भर्ट, अन्डरपास, नाली र वालहरूको निर्माण कार्य चलिरहेको छ । सडक खण्डका लागि पहिल्यै तयार पारिएका प्रिकास्ट ड्रेन (नाली) का संरचना सडक किनारमा भण्डारण गरिएको छ । पुलहरूमा पाइलिङ र फाउन्डेसनका काम पूरा भएर अन्डरपास, एनिमल क्रसिङ, तीन प्रकारका वाल, पुलका संरचना निर्माणका काम पनि भइरहेका छन् ।
बुटवल–नारायणगढ सडक खण्डमा दुईतिर सडक भत्काउने, जथाभावी तरिकाबाट निर्माण सामग्री राख्दा सास्ती बेहोरेका यात्रुलाई बुटवल–गोरुसिंगे सडकमा भने कम सास्ती गराउने गरी आयोजनाले काम गरिरहेको दाबी गरेको छ । बीचको सडक यथावत् राखेर दायाँबायाँ किनारमा मात्र काम गरिरहेकाले यात्रु र सवारी चालकलाई सहज भएको बुटवल–अर्घाखाँची खण्डका जिप चालक माधव घिमिरेले बताए ।
‘यो बाटो निर्माण गर्न सुरु गरेको एक वर्ष हुन थाल्यो, काम पनि भइरहेको छ, तर हामीहरू अहिलेसम्म कुनै दिन रोकिनुपरेको छैन,’ उनले भने, ‘सडकको दुवैतर्फ निर्माणको काम गरिरहेको भए पनि बीचको पुरानो बाटो जस्ताको तस्तै राखेकाले हामीलाई सजिलो भएको छ ।’ यात्रुले रोकिनुपर्ने वा धूलोको समस्या भोग्नु नपरेको उनले जनाए ।