: नेकपा एमालेका महासचिव शंकर पोखरेलले माइतीघर मण्डला कुनै एक पक्षका लागि मात्रै नभएको बताएका छन्। आज सामाजिक सञ्जालमा उनले बालेन, सुदन वा गृहमन्त्रीका समर्थकहरूको मात्रै प्रदर्शनस्थल बनाउनु कानुनी सिद्धान्तमाथिको उपहास भएको टिप्पणी गरेका हुन्।
‘माइतीघर मण्डला कुनै एक पक्षका लागि मात्रै होइन- सबैका लागि हो। बालेन, सुदन वा गृहमन्त्रीका समर्थकहरूको मात्रै प्रदर्शनस्थल बनाउनु कानूनी सिद्धान्तमाथिको उपहास हो’,पोखरेलले भने।
माइतीघरमा लगातार तीन दिनदेखि जेनजी युनाइटेडको नाममा प्रदर्शन भइरहेको सन्दर्भलाई पोखरेलले टिप्पणी गरेका हुन्।
माइतीघरमा प्रदर्शन भइरहँदा प्रधानमन्त्री सुशिला कार्कीले गृहमन्त्री ओमप्रकाश अर्याल, गृहसचिव र चारवटै सुरक्षा निकायका प्रमुखसँग बालुवाटारमा छलफल गरिरहेकी थिइन्। वर्तमान सुरक्षा अवस्थाको विश्लेषण गरी आवश्यक कदम चाल्न बालुवाटारमा उच्चस्तरीय बैठक बसेको हो। करिब दुई घण्टा चलेको बैठकमा सुरक्षा प्रमुखहरूले वर्तमान अवस्थाबारे आ–आफ्नो सुझाव र प्रतिवेदन पेश गरेका थिए।
भाइटीकाका दिन हामी नेपालका संस्थापक सुदन गुरुङको नेतृत्वमा प्रदर्शन भएको थियो। तर राष्ट्रिय युवा संघ नेपालले मोटरसाइल र्याली गर्न खोज्दा अनुमति दिएको थिएन। लगातार प्रदर्शन हुन थालेपछि आज भने प्रहरीले ३०/४० जनालाई माइतीघरबाट नियन्त्रणमा लिएको छ।
जेनजी युनाइटेडका नाममा विभिन्न प्ले कार्डसहित उनीहरु प्रदर्शनमा उत्रिएका थिए। अनुमतिबिना माइतीघरमा प्रदर्शन गरेको भन्दै उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।