: पुतलीबजार नगरपालिका-१४ मा मोटरसाइकल दुर्घटनामा परि वरिष्ठ कृषि अधिकृत माधवप्रसाद लम्सालको गएराती मृत्यु भएको छ। ४५ वर्षीय लम्साल आफैंले चलाएको लु ५९ प ३७९७ नम्बरको मोटरसाइकल सतौंचण्डीस्थान जाने सडक आम्बोटमा दुर्घटनामा परेको थियो। आम्बोटबाट झण्डै सय मिटर मोटरसाइकलसहित तल लम्साल खसेको प्रहरी उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए।
सतौंबाट आफ्नो निवास लामागेतर्फ आउँदै गर्दा दुर्घटनामा परेका लम्साललाई उद्धार गरी जिल्ला अस्पताल स्याङजा ल्याई पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जनाएको छ।
लम्साल राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ, कास्कीका प्रमुख हुन्। यसअघि सुन्तला सुपरजोन परियोजना कार्यान्वयन इकाई कार्यालय स्याङजाका प्रमुख थिए। लम्सालको स्थायी घर पुतलीबजार नगरपालिका–१४ लामागे हो।
लम्सालले स्याङ्जामा सुन्तला खेती विस्तारका लागि ठूलो योगदान गरेका छन्। उनका बाबा आमा सहित पत्नी एक छोरा र एक छोरी छन्। लम्सालको शनिबार बिहान पोष्टमार्टमपछि आज नै अन्तिम संस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ। दुर्घटना सम्बन्धी अनुसन्धान भइरहेको प्रहरी प्रमुख न्यौपानेले जानकारी दिए।