मुख्य समाचार
हिटलरलाई आदर्श मान्दै अमेरिकी युवा, सामाजिक सञ्जालमा झाँगिंदै नश्लवादी राजनीति
हिटलरलाई आदर्श मान्दै अमेरिकी युवा, सामाजिक सञ्जालमा झाँगिंदै नश्लवादी राजनीति

। १४ अक्टोबर २०२५ मा अंग्रेजी अखबार पोलिटिकोले २९०० पृष्ठ लामो टेलिग्राम च्याट सार्वजनिक गर्‍यो ।

अमेरिकाको रिपब्लिकन युवाहरूको ७ महिना लामो च्याट हिस्ट्री समेटिएको उक्त सामग्रीले अमेरिकी युवामा कसरी हिटलर मोह झाँगिंदो छ र जातिवादी राजनीति मौलाउँदैछ भन्ने देखाएको छ ।

जातिवादी राजनीति र हिंसात्मक संवाद गरिरहेका ती युवाहरू केही सरकारी निकायमा काम गर्छन् भने उनीहरू पार्टी राजनीतिमा पनि जोडिएका छन् ।

रोचक त के छ भने आपत्तिजनक संवाद गर्नेमा केही सिनेटेरदेखि ट्रम्प प्रशासनका वरिष्ठ अधिकारीहरू पनि रहेका छन् ।

अमेरिकामा सत्तारूढ पार्टीको युवा संगठनभित्र चलिरहेको संवादले अमेरिकी युवामा चढिरहेको उग्रवादको नशालाई प्रष्टसँग संकेत गरेको छ ।

संवादहरूमा जातिवादी, यहूदी विरोधी र राजनीतिक हिंसाको धम्कीहरू बारम्बार व्यक्त गरिएका छन् । यसले राजनीतिक व्यक्तित्वहरूको अप्रकाशित तर धेरैलाई स्तब्ध पार्ने विचारहरू सतहमा ल्याइदिएको छ ।

घटना के हो ?

अमेरिकाको रिपब्लिकन पार्टीको युवा संगठन (योङ रिपब्लिकन नेसनल फेडेरेसन) अन्तर्गतका विभिन्न राज्य (न्यूयोर्क, कन्सास, एरिजोना, भर्मन्ट लगायत) का नेता तथा सदस्यहरूको निजी ‘टेलेग्राम ग्रुप च्याट’ को वार्तालाप सार्वजनिक भएको छ।

सात महिनाभन्दा बढी समयका २८,००० भन्दा बढी सन्देशहरूमा ‘आई लभ हिटलर’ (म हिटलरलाई माया गर्छु), जातीय, यहूदीविरोधी र महिला विरोधी अपशब्दहरू, बलात्कारलाई लिएर गरिएका मजाकहरू, श्वेत सर्वोच्चतावादी कोडहरू र राजनीतिक विरोधीहरूलाई ‘ग्यास च्याम्बर’ मा पठाउने जस्ता हिंसात्मक टिप्पणीहरू समावेश थिए।

च्याटमा संलग्न केही नेताहरूले खुला रूपमा जातीय टिप्पणी र हिटलरको प्रशंसा गरेका थिए।

समाचार संस्था रोयटर्सका अनुसार निजी अनलाइन समूह च्याटहरूबाट लिक भएका टेक्स्ट सन्देशहरू समावेश भएका तीन अलग-अलग विवादहरूले यस महिना अमेरिकी राजनीतिक वृत्तलाई हल्लाएको छ ।

नागरिक समाजका विभिन्न समूहहरू र राजनीतिक भाषाविद्हरूले हिंसक अभिव्यक्ति र जातिवादी घृणात्मक अभिव्यक्ति अमेरिकामा सामान्यीकरण भइरहेको भन्दै चिन्ता व्यक्त गरिरहेका छन् ।

पोलिटिकोमा प्रकाशित उक्त सामग्रीमा करिब एक दर्जन युवा रिपब्लिकन नेताहरूको समूहले जनवरीदेखि अगस्टको मध्यसम्म टेलिग्राममा एकअर्कालाई जातिवादी र यहूदी विरोधी सन्देशहरू पठाएका देखिन्छ । यसमा अश्वेत नागरिकहरूलाई बाँदर भन्ने र ‘म हिटलरलाई माया गर्छु’ भनेर घोषणासम्म सन्देश समावेश छन् ।

डेमोक्रेटिक उम्मेदवार जे जोन्सले सन् २०२२ मा पठाएको एक टेक्स्ट सन्देशमा उनले एक रिपब्लिकनलाई गोली हान्नुपर्ने र राजनीतिक विरोधीहरूको चिहानमा पिसाब फेरिदिने बताएका छन् ।

यसै हप्ता, राष्ट्रपति डोनाल्ड ट्रम्पको एक संघीय निगरानी निकायको नेतृत्व गर्ने मनोनित व्यक्ति पल इनग्रासियाले आफूमा ‘नाजी प्रवृत्ति’ भएको कुरा च्याटमा उल्लेख गरेका छन् ।

सन्देशहरूमा के छ ?

पोलिटिकोको रिपोर्टअनुसार, च्याटमा एक रिपब्लिकन युवाले शत्रुहरूलाई बलात्कार गर्ने बारेमा कुरा गरेका छन् र मानिसहरूलाई ग्यास चेम्बरमा पठाउने बारेमा कुराकानी भएका छन् ।

च्याटका सदस्यहरूले २५१ पटकभन्दा बढी अपमानजनक र अश्लील शब्दहरू प्रयोग गरेका थिए ।
एक सदस्यले एक साथीले ‘एक अवधिका लागि धेरै मोटो भारतीय महिलासँग डेट गरेको’ बारे सन्देश पठाए। जब एक व्यक्तिले ती महिला ‘भारतीय नभएको’ भन्दै जवाफ दिए, अर्कोले जवाफ दियो, ‘उनले प्रायः नुहाउँदिन थिइन्।’

पार्टी संरक्षित संवाद हो ?

विज्ञहरूका अनुसार, दुवै दलका अतिवादी तत्वहरू बीचको बढ्दो चर्को आरोपप्रत्यारोप शक्तिशाली सामाजिक सञ्जालमा आउँदा खासगरी युवाहरूबीच निजी घृणास्पद अभिव्यक्तिलाई बढिरहेको छ ।

सिटी युनिभर्सिटी अफ न्यूयोर्कका मिडिया कल्चरका एसोसिएट प्रोफेसर रीस पेकका अनुसार, ट्रम्पको आफ्नै अभिव्यक्ति र प्रगतिशील क्याम्पमाथिको हमलाले धेरै रूढिवादीहरूलाई ट्रम्पले सन् २०१७ मा पहिलो पटक सत्ता सम्हाल्नु अघि अस्वीकार्य मानिने भाषा अब स्वीकार्य छ मान्न थालिएको छ ।

गत वर्ष चुनावी अभियानका क्रममा ट्रम्पले अमेरिकामा अवैध रूपमा रहेका मानिसहरूलाई ‘देशको रगतमा विष मिसाइरहेको’ आरोप लगाएका थिए। राष्ट्रपति हुँदा उनले तिनीहरूमध्ये केहीलाई ‘अपराधी’ भनेका छन्, र अवैध सीमा पारलाई ‘आक्रमण’ भनेर व्याख्या गरेका छन् ।

उनको ह्वाइट हाउसले अनलाइनमा पोस्ट गरेका मीमहरूले राजनीतिक अभिव्यक्तिलाई ‘रुख्खासुख्खा’ बनाएको आलोचकहरूले बताएका छन्।

ट्रम्पले लोकप्रिय संस्कृति कब्जा गरेका र त्यो गतिशीलता ट्रम्पवादको केन्द्रबिन्दु रहेको विश्लेषकहरूले बताएका छन् ।

जानकारहरूका अनुसार, यो ‘एजेलर्ड कल्चर’ हो, जहाँ मानिसहरूले च्याट समूहभित्र सान्दर्भिक रहनको लागि जानाजानी स्तब्ध पार्ने वा वर्जित सामग्री पोस्ट गर्छन्।

ट्रम्पले यसरी नै बोल्ने हुनाले युवाहरूलाई उनको व्यवहार नक्कल गर्ने ठाउँ दिएको विश्लेषकहरू बताउँछन् ।

तर, ह्वाइट हाउसकी प्रवक्ता अबिगेल ज्याक्सनले भनिन्, ‘राष्ट्रपति ट्रम्पले हाम्रो देशमा आक्रमण गरेका र निर्दोष अमेरिकीहरूको हत्या गरेका घृणित आपराधिक विदेशीहरूलाई औंल्याउनु सही हो।’

ज्याक्सनले यस हप्ता क्यालिफोर्नियामा लागूपदार्थको नशामा ट्रक चलाउँदा तीन जनाको हत्या गर्ने एक अवैध आप्रवासीको घटनालाई देखाइन् ।

ह्वाइट हाउसका मीमहरूले अमेरिकामा अवैध रूपमा रहेका र अमेरिकीहरू विरुद्ध अपराध गरिरहेका मानिसहरू विरुद्ध ट्रम्पको एजेन्डा सफलतापूर्वक सञ्चार गरिरहेका उनको स्पष्टीकरण छ ।

युवा रिपब्लिकनहरू को हुन् ?

उनीहरू युवा रिपब्लिकन राष्ट्रिय महासङ्घका सदस्यहरू हुन् जलाई प्रायः युवा रिपब्लिकन भनिन्छ । यसका देशभर समूहहरू छन् र यसमा लगभग १५,००० सदस्यहरू छन्।

पोलिटिकोले प्राप्त गरेको च्याटहरूमा न्यूयोर्क, कन्सास, एरिजोना र भर्मन्ट लगायतका ती समूहका नेताहरूका सन्देशहरू समावेश थिए।

च्याटका केही सदस्यहरू राजनीतिमा संलग्न थिए । पिटर गुइन्टा आपत्तिजनक सन्देशहरू पठाइएको बेला न्यूयोर्क राज्य युवा रिपब्लिकनका अध्यक्ष थिए । उनी न्यूयोर्क राज्य सभा सदस्य माइक रेलीका प्रमुख कर्मचारी थिए।

पोलिटिकोको रिपोर्टिङ पछि उनले आफ्नो पद गुमाएका छन् । भर्मन्टका राज्य सिनेटर सामुअल डगलस पनि च्याटमा थिए; रिपब्लिकन सांसदहरूले उनको पनि राजीनामाको लागि आह्वान गरेका छन्।

कसै-कसैले सन्देशहरूको लागि माफी मागेका छन्। तर, अधिकांशले टिप्पणी गर्न अस्वीकार गरेका छन् । केहीले भने सन्देशहरू ‘हेरफेर गरिएको, फरक सन्दर्भका कुरा भएको वा सम्पादन गरिएको’ हुन सक्ने बताएका छन् ।

कसको प्रतिक्रिया कस्तो ?

रिपब्लिकन न्यूयोर्कका प्रतिनिधि माइकल लोलरले एक्समा पोस्ट गर्दै ‘न्यूयोर्क राज्य युवा रिपब्लिकनका सदस्यहरूबीच एक निजी च्याटमा कथित रूपमा गरिएका गहिरो आपत्तिजनक र शर्मनाक टिप्पणीहरू घृणित छन्’ भनेका छन् ।

उनीहरूलाई ‘तत्काल आफ्ना सबै जिम्मेवारीबाट राजीनामा दिन र आधारभूत मानव सम्मान र शिष्टाचारबाट कति टाढा गएका छन् भन्नेबारे सोच्न’ आह्वान गरिएको छ।

सन्देशहरूलाई ‘घिनलाग्दो’, ‘असहनीय’ र ‘शर्मनाक’ भन्दै पार्टीबाट हटाउन र पदबाट राजीनामा दिनुपर्ने व्यापक माग उठेको छ।

केही संलग्न व्यक्तिहरूले आफ्नो जागिर गुमाएका छन् भने केही युवा रिपब्लिकन समूह खारेज गरिएका छन्।

रिपब्लिकन पार्टीका नेताहरूले यसबारे मिश्रित प्रतिक्रिया दिएका छन् । उपराष्ट्रपति जेडी भान्सले यस घटनालाई ‘बच्चाहरूले गर्ने मूर्खतापूर्ण कुरा’ भन्दै पन्छाउने प्रयास गरे र यसमा धेरै ध्यान नदिन आग्रह गरे।

उनले च्याटमा रहेका व्यक्तिहरू (जसको उमेर २४ देखि ३५ वर्षसम्म थियो) लाई ‘बच्चा’ भनेर सम्बोधन गरे।

धेरैजसो रिपब्लिकन नेताहरूले भने उक्त सन्देशको कडा निन्दा गर्दै संलग्न व्यक्तिहरूलाई पार्टीबाट राजीनामा दिन आह्वान गरेका छन्।

योङ रिपब्लिक नेसनल फेडेरेसनले पनि उक्त व्यवहार कुनै पनि रिपब्लिकनको लागि अशोभनीय रहेको भन्दै राजीनामा माग गरेको छ।

उता, डेमोक्र्याटिक पार्टीका नेताहरूले यसको कडा निन्दा गर्दै कारबाहीको माग गरेका छन् ।

सिनेटर चक शुमर, न्युयोर्कका गभर्नर क्याथी होचुललगायत डेमोक्र्याटिक नेताहरूले यसलाई ‘क्रूर’ भन्दै रिपब्लिकन नेतृत्वलाई तत्काल र स्पष्ट रूपमा निन्दा गर्न र संलग्न व्यक्तिहरूलाई पार्टीबाट निकाल्न माग गरेका छन्। उनीहरूले यसलाई ‘श्वेत सर्वोच्चतावाद’ को उदाहरणको रूपमा व्याख्या गरेका छन्।

कन्सास युवा रिपब्लिकनहरूलाई मङ्गलबार विघटन नै गरिएको छ ।

पोलिटिकोको रिपोर्टिङ पछि च्याटका धेरै सदस्यहरूले आफ्नो जागिर गुमाएका छन् ।

विश्लेषकहरूले यसले अमेरिकामा कसरी चरमपन्थी विचारको सामान्यीकरण भइरहेको छ भन्ने देखाउने टिप्पणी गरेका छन् ।

यो एउटा सानो समूहको ‘बदमासी’ मात्र नभई पार्टीको भविष्य मानिने युवा पङ्क्तिमा यस्ता विचारको उपस्थितिले चिन्ता बढाएको उनीहरूको टिप्पणी छ । कतिपयले त आफ्ना संवाद बाहिरिएको थाहा पाउँदापाउँदै पनि बिना लाज वा डर यस्तै संवादलाई निरन्तरता दिएका थिए ।

घटनाले मेक अमेरिका ग्रेट अगेन भन्ने रिपब्लिकन पार्टीलाई कसरी दक्षिणपन्थी अतिवादले कब्जा गरेको छ भन्ने देखाउँछ ।

उपराष्ट्रपति भान्सको यस्ता घृणास्पद सन्देशहरूलाई ‘बच्चाहरूले गर्ने मूर्खतापूर्ण ठट्टा’ भनेर पन्छाउने प्रयासले पार्टीभित्रको उच्च नेतृत्वले यस्ता अतिवादी व्यवहारलाई हल्का रूपमा लिने वा वास्ता नगर्ने गरेको सङ्केत गरेको छ।

धेरै टिप्पणीकारहरूका अनुसार यस्तो ‘वास्तै नगर्ने’ मनोवृत्तिले घृणा र अतिवादलाई पार्टीभित्र झनै बढ्न प्रोत्साहन दिन्छ।

यस्ता च्याटहरूले राजनीतिक विरोधीहरूविरुद्ध जातीय र हिंसात्मक भाषा लाई एउटा रणनीतिक हतियारको रूपमा प्रयोग गरेको देखिन्छ । विपक्षीलाई ‘ग्यास च्याम्बरमा जलाउने’ मजाकले राजनीतिक प्रतिद्वन्द्वितामा चरम हिंसाको इच्छालाई संकेत गरेको टिप्पणी पनि भइरहेको छ ।

प्रतिपक्षी दलका नेताहरूले लिक भएको संवादहरूले रिपब्लिकन पार्टीको विश्वासलाई प्रतिबिम्बित गर्ने बताएका छन् ।

(पोलिटिको, टाइम, रोयटर्स र अन्य समाचार एजेन्सीहरूको सहयोगमा)

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: अमेरिकाले ‘डाइभर्सिटी इमिग्रेन्ट भिसा (डीभी) लटरी’ कार्यक्रम स्थगित गरेको छ। गृह सुरक्षा मन्त्री क्रिस्टी नोएमले बिहीबार राति राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा डीभी-१ स्थगित गरिएको जानकारी दिएकी छन्। ब्राउन विश्वविद्यालयमा भएको सामूहिक गोलीकाण्डपछि उक्त कार्यक्रम रोक्न संयुक्त राज्य नागरिकता तथा आप्रवासन सेवालाई आदेश दिएको उनको भनाइ छ। 'राष्ट्रपति ट्रम्पको निर्देशनअनुसार यो विनाशकारी कार्यक्रमबाट थप कुनै अमेरिकी ...
: युरोपेली संघका नेताहरूले युक्रेनलाई ९० अर्ब युरो ऋण उपलब्ध गराउन सहमत भएका छन्। यसअघि,युरोपेली नेताहरूले युद्धका कारण फ्रिज गरिएका रूसी सम्पत्तिहरू प्रयोग गर्ने कि नगर्ने भन्ने बारेमा छलफल गरेका थिए। नेताहरूले यो सम्झौताले आगामी दुई वर्षको लागि युक्रेनको सैन्य र आर्थिक आवश्यकताहरू पूरा गर्ने बताएका छन्। ब्रसेल्समा भएको शिखर सम्मेलनमा एक दिनभन्दा बढी समयको वार्तापछि ...
: बंगलादेशी विद्यार्थी नेता शरीफ उस्मान हादीको मृत्युपछि बंगलादेशमा पुनः हिंसात्मक अवस्था सिर्जना भएको छ। राजधानी ढाकाका विभिन्न क्षेत्रमा विरोध प्रदर्शनसँगै तोडफोड र आगजनीका घटनाहरू भएका छन्। बीबीसी बंगलाका अनुसार हादीको मृत्युपछि ढाकाको धनमन्डी,शाहबागलगायत क्षेत्रहरूमा प्रदर्शनकारीहरू सडकमा उत्रिएका छन्। उनीहरूले सार्वजनिक तथा निजी सम्पत्तिमा तोडफोड गर्नुका साथै आगजनीसमेत गरेका छन्। यसैबीच,बंगलादेशको अन्तरिम सरकारका प्रमुख सल्लाहकार मुहम्मद युनुसले ...
— बंगलादेशमा लोकप्रिय विद्यार्थी नेताको निधनपछि प्रदर्शन चर्किएको छ। परिस्थिति नियन्त्रणबाहिर पुगेपछि शुक्रबार प्रहरी तथा अर्धसैन्य दस्तालाई ढाकासहित विभिन्न क्षेत्रमा परिचालन गरिएको छ। बिहीबार राति देशभर हिंसा, तोडफोड तथा आगजनीका घटना भएका थिए। दुई लोकप्रिय सञ्चारमाध्यम प्रोथोम आलो र डेली स्टार को कार्यालयमा पनि प्रदर्शनकारीले निशाना साँधेका छन्। आगामी फेब्रुअरी १२ मा बंगलादेशमा आम चुनाव हुने तय ...
— अमेरिकी सुरक्षा प्रमुख क्रिस्टी नोमले बिहीबार ब्राउन युनिभर्सिटीमा सामूहिक गोलीबारीमा संदिग्ध क्लाउडियो नेभेस भ्यालेन्टेले प्रयोग गरेको भन्दै ग्रिन कार्ड लटरी निलम्बन गर्ने आदेश दिएका छन् । पोर्चुगलका नागरिक नेभेस भ्यालेन्टे माथि डिसेम्बर– १३ मा आइभी लिग स्कुलको भवनमा आक्रमण गरी परीक्षामा बसेका विद्यार्थी माथि गोली चलाएको आरोप लगाइएको छ । जसमा दुई जनाको मृत्यु भएको ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम