: नेपाली सेनाले छठी माईलाई सलामी अर्पण गरेको छ । छठ पर्वको मुख्य दिन सोमबार संझिया घाटेका दिन वीरगन्ज महानगरपालिका वडा नम्बर- १० स्थित घडिअर्वा छठघाट पुगेर सेनाको टोलीले छठी मैया र सूर्य भगवान्लाई सलामी अर्पण गरेको हो ।
यसअघि दशैंमा सप्तमीका दिन मात्रै सेनाले नवदुर्गा भवानीलाई सलामी दिने चलन रहेकोमा यसपटक सेनाले छठी मैया र सूर्य भगवानलाई सलामी अर्पण गरेको हो । वीरगन्जको श्रीपुरस्थित नेपाली सेनाको श्री श्रीजंग गणबाट गएको टोलीले छठघाट परिसरमा रहेको सूर्य भगवानको मन्दिरमा पुगेर सलामी अर्पण गरेको हो।
छठ पूजा व्यवस्थापन समितिको आग्रहमा सेनाको टोलीले छठी माइ र सूर्य भगवानलाई सलामी अर्पण गरेको श्री श्रीजंग गणका प्रमुख सेनानी लोकेन्द्र कार्कीले जानकारी दिए। छठ पर्वप्रतिको आस्था र लोकप्रियता बढ्दै गएको भन्दै उनले सेनाले सबै धर्मसंस्कृतिको सम्मान गर्दै आएको बताए ।
घडिअर्वा छठ पूजा व्यवस्थापन समितिका अध्यक्ष राकेश कुमार साहले छठ पर्वको इतिहासमै सम्भवत पहिलो पटक नेपाली सेनाले छठी माइलाई सलामी दिएको बताए । उनले भने,'गाँउबासीहरूमा सरसल्लाह गर्यौं। त्यसपछि सेनालाई आग्रह गर्यौं । सेना पनि सहमत भयो । यसपालिको छठ पूजा ऐतिहासिक भएको छ । अब यसलाई आगामी वर्षमा पनि निरन्तरता दिन्छौं ।'
छठी माइ र सूर्य भगवानलाई सलामी दिने कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक सुदीपराज पाठक , प्रहरी नायब उपरीक्षक किशोर लम्साल, वडाध्यक्ष सुशील साह कानु, छठ पूजा व्यवस्थापन समितिका पूर्वअध्यक्षहरू प्रमानन्द साह कानु र हीरा साह कानु, घडिअर्वा स्पोट्स क्लबका अध्यक्ष सन्तोष साहलगायत सहभागी थिए।