: आज रातिदेखि बुधबार बिहानसम्म देशका विभिन्न स्थानमा वर्षाका साथै हिमपात हुने भएको छ। मौसम पूर्वानुमान महाशाखाले आज सूचना जारी गर्दै देशका विभिन्न स्थानमा वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको हो।
मौसम विभागले ७ जिल्लामा सतर्कता अपनाउन आग्रह गरेको छ। गोरखा, मनाङ, मुस्ताङ, डोल्पा, म्याग्दी, कास्की, पर्वत र आसपासका जिल्लाका केही स्थानहरूमा सतर्कता अपनाउन आग्रह गरेको हो। यी स्थानमा हल्कादेखि मध्यम वर्षा, हिमाली भू-भागमा हिमपात तथा वर्षाको सम्भावना रहेको छ।
अद्यावधिक रहने जिल्लाहरूमा दोलखा, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, लमजुङ, हुम्ला, जुम्ला, मुगु, कालीकोट, दैलेख, जाजरकोट, सल्यान, रुकुम (पूर्व), रुकुम (पश्चिम), बागलुङ, सुर्खेत, बाँके, बर्दिया र आसपासका जिल्लाका केही स्थान रहेका छन्।
यी स्थानमा पनि हल्कादेखि मध्यम वर्षा, हिमाली भूभागमा हिमपात तथा वर्षाको सम्भावना रहेको छ।
विभागका अनुसार गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपात तथा वर्षाको सम्भावना रहेको छ। साथै, गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा भारी हिमपातको पनि सम्भावना रहेको छ।