— पछिल्लो समय ताप्लेजुङका हिमाल आरोहणमा आरोही र पर्यटकको उत्साह बढेको देखिएको छ ।
फ्रान्सेली दुई नागरिकले गत असोज दोस्रो साता ६ हजार ८०८ मिटर उचाइको ‘ह्वाइट वेभ पिक’ पहिलो पटक सफल आरोहण गरेका थिए । अन्नपूर्ण फुटहिल्स ट्रेक्स एण्ड एक्सपिडिसनका तेन्जी शेर्पाका अनुसार आरोहण गर्नेमा फ्रान्सेली नागरिक बेन्जामिन चार्ल्स इली वेद्रिन्स र निकोलस पाउल अरिस्टाइड छन् ।
गतसाता चिलीका एक नागरिकले कञ्चनजङ्घा हिमालको काखमै रहेको पाथीभरा हिमालको सफल आरोहण गरेका थिए । विश्वको ३२औँं अग्लो र नेपालको १५औँ अग्लो कुम्भकर्ण (फक्ताङलुङ) हिमाल आरोहण गर्नका लागि फ्रान्सका तीन नागरिक सो हिमालको आधार शिविर क्षेत्रमा पुगेको पर्यटन सहायक शेर्पाले बताए । सो हिमालको उचाइ ७ हजार ७१० मिटर उचाइ रहेको छ ।
पछिल्लो वर्ष यहाँका हिमाल उत्साहका साथ आरोहण गर्न थालिएका छन् । गत वर्षको कात्तिकमा चारजना दक्षिण कोरियन नागरिकले ६ हजार ३२८ मिटर उचाइमा रहेको शार्फु–५ हिमालको पहिलो पटक सफल आरोहण गरेका थिए ।
गत वर्षको चैतमा शार्फु–४ हिमालमा पहिलो पटक आरोहण गरिएको थियो । चिलीका नागरिक हर्नान लील, पर्वतारोही लाक्पाछिरिङ शेर्पा, नादा शेर्पा र फोटोग्राफर पूर्णिमा श्रेष्ठले ६ हजार ४३३ मिटर उचाइका शार्फु–४ हिमालको पहिलो पटक आरोहण गर्न सफल भएका थिए ।
कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का घुन्सा पर्यटन चेक पोष्ट कार्यालयका पर्यटन साहयक टाँसी तेन्जिङका अनुसार ३०० जना विदेशी पर्यटकले विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमाल क्षेत्र भ्रमण गरेका छन् । गत भदौ तेस्रो सातादेखि मङ्सिर १५ गतेसम्म कञ्चनजङ्घा भ्रमणको याम रहने शेर्पाले बताए ।
पर्यटन विभागका अनुसार गत वर्षको याममा अर्थात् मार्च १ देखि अप्रिल २१ सम्ममा २६ जना पुरुष र १५ जना महिला गरी ४१ जनाले ८ हजार ५५६ मिटर उचाइको कञ्चनजङ्घा हिमालको चुचुरोमा सफलतापूर्वक आरोहण गरेका थिए । सो आरोहणबाट एक करोड ९७ हजार ४६० रुपैयाँ रोयल्टी सङ्कलन भएको थियो ।