: अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सामुदायिक वन उपभोक्ता समूहका अध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले डडेल्धुराको आलिताल गाउँपालिका-३ स्थित कैलाश समैजेश्वर सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष सर्वजित मडैविरुद्ध उपभोक्ता समितिको चेकमा किर्ते हस्ताक्षर गरी कोषको रकम हिनामिना गरेको आरोपमा आज विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।
आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलका अनुसार उपभोक्ता समूहका अध्यक्ष मडैसमेको मिलेमतोमा किर्ते गरी सामुदायिक वनको कोषमा रहेको रकम हिनामिना गरेको भन्ने उजुरी परेको थियो।
सोही उजुरीका बारेमा अनुसन्धान हुँदा उपभोक्ता समितिको माइन्युटिङ्गको प्रतिलिपि नक्कल तयार गरी समूहका सचिव र कोषाध्यक्षाको जानकारी बिना चेकमा किर्ते हस्ताक्षर गरी जम्मा गर्नुपर्ने २० लाख १५ हजार रकममध्ये २ लाख रकम खातामा जम्मा गरी बाँकी १८ लाख १५ हजार हिनामिना गरेको पाइएको अख्तियारको जिकिर छ।
अध्यक्ष मैडविरुद्ध १८ लाख १५ हजार रुपैयाँ विगो र सजायको माग गरिएको आरोप पत्रमा उल्लेख छ।