: रोल्पाको थबाङ–२ का वडाध्यक्ष अभिलाषा रोका मगरले गाउँपालिकाले विकासका काममा उदासीनता देखाएको भन्दै वडा कार्यालय बन्द गरेका छन्। उनले कार्यालयको साँचो गाउँपालिकालाई बुझाउँदै मागहरू पूरा नभए राजीनामा दिने चेतावनी दिएका छन्।
वडाध्यक्ष रोका मगरका अनुसार गाउँपालिकाअन्तर्गत पर्ने ग्रामीण सडक लामो समयदेखि अवरुद्ध हुँदा पनि सञ्चालनमा नआउनु, केन्द्रीय विद्युत् प्रसारण लाइनको काममा निरन्तर ढिलासुस्ती हुनुलगायत विकास निर्माणका कार्यमा गाउँपालिका अध्यक्ष र कार्यालयले कुनै चासो नदेखाएको कारण यस्तो कदम चाल्नुपरेको हो।
‘जनताको माग र गुनासोमा ध्यान नदिँदा म पनि जनताकै पक्षमा उभिन बाध्य भएको छु,’ वडाध्यक्ष रोकामगरले भने, ‘गाउँपालिकाले तत्काल समस्या समाधानका लागि ठोस कदम चाल्नुपर्छ।’ उनले जनताको समस्या बेवास्ता भएको भन्दै कात्तिक १३ देखि वडा कार्यालय बन्द गरी साँचो (चाबी) गाउँपालिकालाई बुझाउने र ती मागहरू तत्काल पूरा नभए पदबाटै राजीनामा दिने चेतावनी दिएका छन्।
वडाध्यक्ष रोकाले लामो समयदेखि स्थानीय जनतालाई दैनिक सेवा, आवतजावत र विद्युत् सुविधामा समस्या परे पनि गाउँपालिकाले कुनै पहल नगरेपछि आफूले यस्तो कदम चाल्न बाध्य बताएको बताए। उक्त विषयमा थबाङ गाउँपालिका अध्यक्ष ऋषिकेशव बूढा मगरले आफूलाई घटनाबारे कुनै जानकारी नभएको प्रतिक्रिया दिएका छन्। ‘म अहिले पालिकाको केन्द्रभन्दा बाहिर छु,’ उनले भने, ‘यो विषयमा म अनभिज्ञ छु। पालिकाको केन्द्र पुगेपछि मात्रै थप कुरा थाहा हुनेछ।’