: डोटीको पूर्वीचौकी गाउँपालिका–१ तल्लो फुलौटका २७ वर्षीया शिक्षिका जानकी खड्काको आत्महत्या घटनामा दुरुत्साहन गरेको भन्दै डोटी शिक्षा तथा समन्वय इकाइका विद्यालय निरीक्षक (विनि) गणेश रावल पक्राउ परेका छन् ।
शिक्षिका खडका सोमबार दिउँसो घरदेखि ७ सय मिटरको दुरीमा झुण्डिएको अवस्था मृत फेला परेकी थिइन् । सोमबार दिउँसोदेखि सम्पर्कविहीन बनेकी उनी घरबाट करिब ७०० मिटर टाढा झुन्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।
२८ वर्षीय रावल शिखर नगरपालिका–११ का स्थायी बासिन्दा हुन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी दीपेन्द्र पालका अनुसार मृतकका परिवारले दिएको किटानी जाहेरीका आधारमा रावललाई पक्राउ गरी अनुसन्धान सुरू गरिएको हो ।
प्रहरीका अनुसार जानकी र गणेशबीच फेसबुकमार्फत् चिनजान भएको थियो । उनीहरूबीच नियमित कुराकानी भए पनि पछिल्ला दिनहरूमा सम्बन्धमा तनाव देखिएको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
‘रावलले मृतकलाई विभिन्न माध्यमबाट मानसिक दबाब दिइरहेको र त्यसकै परिणामस्वरूप आत्महत्या उक्साएको देखिएपछि उनलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो,' डीएसपी पालले भने ।
मृतक जानकी खड्काको सुत्ने कोठामा सुसाइड नोट पनि भेटिएको छ । प्रहरीले सुसाइड नोट बरामद भएको जनाएको छ । आफ्नो भाइलाई सम्बोधन गर्दै जानकीले सुसाइड नोटमा लेखेकी छिन्, 'के गरु भाइ गणेश रावलले आफैं फ्रेन्ड रिक्वेस्ट पठाएको हो । न मैले उसलाई भेटेको छु न देखेको छु । सबै उसका नाटक हुन् मलाई फसाउने ।'
उनले अगाडि लेखेकी छिन, 'बाबाआमाको इज्जत गुमाएर कसैको श्रीमान् , बुवा भइसकेको मान्छेसँग जीवन जिउन सक्दिनँ ।' जानकीले सुसाइड नोटमै भाइलाई बिरामी आमाबुबाको हेरचाह गर्न, इज्जत गुम्ने काम नगर्न र आफ्नो अधुरो ‘अफिसर बन्ने सपना’ पूरा गर्न आग्रह गरेकी छन्।
जानकी परिवारको जेठी सन्तान थिइन् । दुई वर्षअघि स्थायी रूपमा शिक्षक सेवा प्रवेश गरेकी उनी परिवारकै आर्थिक सहारा थिइन् । उनका भाइ प्रदीप खड्काका अनुसार बुबा रक्तचापका र आमा माइग्रेनको बिरामी छन् ।
'हामी मध्यम वर्गीय परिवारका हौं । दिदीकै कमाइले घर चल्थ्यो,'भाइ प्रदीपले भने, 'अब हाम्रो परिवारको खम्बा ढल्यो । दोषीलाई कारबाही गरी दिदीको आत्मालाई न्याय दिनुपर्छ ।'
प्रहरी अनुसन्धानले रावल पहिले नै विवाहित र सन्तानका बाबु समेत भएको पुष्टि भएको छ । उनले पछि सम्बन्धविच्छेद गरी जानकीसँग विवाह गर्ने दबाब दिइरहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। प्रहरीले थप प्रमाण संकलन गर्दै आत्महत्या दुरुत्साहन मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाएको जनाएको छ ।