— एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी छाडेर गएका नेता तथा कार्यकर्तालाई घर फर्कन आग्रह गरेका छन् ।
नेकपा एकीकृत समाजवादीमा माओवादीसँग एकता गर्नेबारे विवाद भइरहेका बेला ओलीले फरक मत राख्नेलाई एमालेमा फर्कन सार्वजनिक रुपमा आहृवान गरेका हुन् ।
‘विगतमा नेकपा (एमाले)को निर्माण गर्न र यसलाई बलियो बनाउने यात्रामा सँगै हिँड्नु भएका सबै नेता–कार्यकर्तालाई हृदयदेखि आहृवान गर्न चाहन्छु,’ उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘जहाँ हुनुहुन्छ, फर्किनुस् आफ्नै घर फर्किनुस् । यो घर तपाईंहरूको पसिना र रगतले बनेको हो ।’
उनले एमालेमा एकजुट भएर आशाको ज्याति बाल्न सकिने बताएका छन् । ‘फेरि हामी सबै काँधमा काँध मिलाएर अघि बढौं, देशको स्वाधीनता जोगाऔं । लोकतन्त्रको रक्षा गरौं र जनताको जीवनमा सुख, समृद्धि र आशाको ज्योति बालौं,’ उनले आग्रह छ, ‘हामी एउटै परिवार हौं । हाम्रो लक्ष्य स्पष्ट छ-समृद्ध नेपाल, सुखी नेपाली । कोही अलमलमा नपर्नुस्, आउनुस्, आफ्नै घरमा-हाम्रो साझा सपना साकार पार्न । निर्णायक राष्ट्रिय शक्ति निर्माणमा जुटौं ।’
उनले मुलुकमा देखिएको राजनीतिक संकट टार्ने दिशामा अघि बढ्न आवश्यक भएको बताएका छन् । ‘आज फेरि महाविनाश निम्त्याएर देशको सार्वभौम अस्तित्वमाथि चुनौती खडा गरिएको छ, लोकतान्क्रिक संविधानमाथि आत्रमण भइरहेको छ,’ ओली थप्छन्, ‘यस्तो बेला हामी मौन रहन सक्दैनौं । राष्ट्रिय एकता, देशको स्वाभिमान र लोकतन्त्रको रक्षाका लागि हामी सबै एकै मन, एकै स्वर र एकै दिशामा अघि बढ्नुपर्छ ।’