: जेनजी आन्दोलनको आवरणमा अराजक समूहले कोशी प्रदेश ट्राफिक प्रहरीका सवारी साधनमा आगजनी गरेपछि प्रदेशभर ट्राफिक व्यवस्थापनमा गम्भीर समस्या उत्पन्न भएको छ। आन्दोलनका क्रममा १९ वटा सवारी साधनमा आगो लगाएर र तोडफोड भएर नष्ट भएका छन्। तीमध्ये ६ वटा चारपाङ्ग्रे, एउटा इ–रिक्सा र १२ मोटरसाइकल रहेका प्रदेश ट्राफिक प्रहरी प्रमुख एसपी दीपक गिरीले जानकारी दिए।
एसपी गिरीका अनुसार स्काभेटर, र्याकर, स्कार्पियो, बोलेरोजस्ता उद्धार र नियन्त्रणका प्रमुख साधनहरू जलेर नष्ट भएपछि दुर्घटनास्थलमा तत्काल पुग्न सकिने अवस्था छैन। बाढी, पहिरो वा सडक अवरोध हुँदा ट्राफिक प्रहरीले स्थानीय निकाय र निजी सवारीको सहयोगमा मात्र काम गर्ने गरेका छन्। आन्दोलनका क्रममा झापाको बिर्तामोड, दमक र जिल्ला ट्राफिक कार्यालय मोरङका सवारी साधन पनि क्षतिग्रस्त भएपछि ट्राफिक व्यवस्थापन प्रभावित भएको छ। ट्राफिकले कारबाहीका लागि नियन्त्रणमा लिएका १६० सवारी साधन पनि जलेका छन्।
नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका सदस्य लक्ष्मी बानियाले ट्राफिक प्रहरीलाई तत्काल नयाँ सवारी साधन र उपकरण उपलब्ध गराउन आग्रह गरे। कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी ईश्वर कार्कीका अनुसार नयाँ सवारी खरिदका लागि प्रहरी प्रधान कार्यालयसँग माग पठाइसकेको छ। यातायात व्यवसायी सरोज श्रेष्ठले सवारी साधन र उपकरणको पुनःस्थापना नभएसम्म कोशी प्रदेशमा सुरक्षित र व्यवस्थित सडक यातायात सुनिश्चित गर्न कठिन भएको बताए ।
कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी कार्कीले ट्राफिक व्यवस्थापन सहज बनाउनका लागि आवश्यक सवारी साधन खरिदका लागि प्रहरी प्रधान कार्यालयमा माग गरिएको बताए।