: गुल्मी र स्याङ्जाको संगमस्थल रुरु क्षेत्रधाम रिडीमा आज भगवान हृषिकेशको भव्य रथयात्रा आयोजना गरिएको छ। ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको रुरु क्षेत्र धाममा प्रत्येक वर्ष कात्तिक शुक्ल पक्ष हरिबोधनी एकादशीको अर्को दिन द्धादशीका दिन हृषिकेश भगवानको रथयात्रा निकाल्ने परम्परा रहँदै आएको छ।
विगतका वर्षमा जस्तै यस वर्ष पनि देशका विभिन्न स्थानबाट आएका तीर्थयात्री, साधु–सन्त र भक्तजनको ठूलो उपस्थितिमा रथयात्रा निकालिएको हो।
रथयात्राको सुरुवात रुरु क्षेत्रधामस्थित हृषिकेश मन्दिर परिसरबाट सुरु भएको रथयात्रा गुल्मीको रिडि बजार, हृषिकेश क्षेत्र, अर्गली बजार क्षेत्रमा परिक्रमा गराई भगवानको दर्शन पुजाआजा गरिएको पुजारी विवेक भट्टराईले बताए। वैदिक मन्त्रोच्चारण, धार्मिक भजन–कीर्तन र पण्डितहरूको पूजापाठ सहित रथयात्रा गरिएको हो । भक्तजनहरूले भगवान हृषिकेशको रथ बोकेर रुरु क्षेत्र परिक्रमा गरे। रथयात्रामा स्थानीयवासीले भगवानप्रति फूलमाला, धूप–दिप र प्रसाद चढाएका थिए।
रुरु क्षेत्रधामलाई ‘नेपालको चारधाम’ मध्ये एक मानिन्छ। यहाँको धार्मिक महत्त्व विष्णु भगवानको अवतार हृषिकेशसँग जोडिएको छ। धार्मिक विश्वासअनुसार रुरु क्षेत्रको रिडीमा स्नान गरी भगवान हृषिकेशको दर्शन गरे पापकर्महरू नाश भई मोक्ष प्राप्ति हुन्छ भन्ने जनविश्वास रहिआएको ह्षिकेश मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पर्सुराम भट्टराईले बताए।