: नेकपा एमालेका महासचिव शंकर पोखरेलले सर्वोच्च अदालतका विगतका नजिरका आधारमा प्रतिनिधि सभा पुनर्स्थापना हुने विश्वास व्यक्त गरेका छन्। प्रेस चौतारी नेपालले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा महासचिव पोखरेलले संविधान, जनमत र जनादेशले नचिन्ने सरकारले गरेको प्रतिनिधि सभा विघटनलाई सर्वोच्च अदालतले विगतमा नजिरका आधारमा समेत मान्यता नदिने विश्वास व्यक्त गरेका हुन्।
अदालतमा मुद्दा विचाराधीन रहेकोले मुद्दाको फैसला नहुँदासम्म सरकारले काम गर्न नहुने उल्लेख गर्दै पोखरेलले वर्तमान सरकार संवैधानिक परीक्षणमा खरो साबित हुन नसक्ने तर्क गरे। निर्वाचनका लागि गठन भएको यो सरकारलाई ६ महिनाभित्र निर्वाचन गर्ने म्यान्डेट दिएको बताउँदै उनले यो सरकारले निर्वाचनको वातावरणको सुनिश्चितता गर्न नसकेको बताए।
उनले जेनजीको नाममा पश्चिमा पुँजीवादीहरूले आफूसँग असहमत रहेको सत्तालाई कमजोर बनाउनको लागि युवाहरूलाई नियोजित मनोविज्ञान तयार गरी आफ्नो स्वार्थका लागि प्रयोग गर्ने काम गरेको बताए। सरकारले जेनजी आन्दोलन र आन्दोलनको नाममा भएको अपराधलाई एकै ठाउँमा राखेर हेरेको भन्दै उनले आलोचना गरे।
उनले अहिले गठन भएको छानबिन आयोगको अध्यक्ष आफै २३ र २४ को घटनाको मतियार भएकाले निष्पक्ष प्रतिवेदन नआउने उल्लेख गरे। अहिले जनता दलबाट अलग भइसके भन्ने भाष्य निर्णय गर्न खोजिएको भन्दै उनले मंसिर २९ गते एमालेले नेपालको इतिहासमा सबैभन्दा ठुलो जनसभा काठमाडौंमा गर्ने उल्लेख गरे।
त्यस्तै महासचिव पोखरेलले एमालेबाट अलग भएकाहरूको सन्दर्भमा आफ्नो घर फर्कनका लागि एकता गरिरहनुनपर्ने बताए। पार्टी फर्कनेलाई उचित जिम्मेवारी दिइने तर नीति र नेतृत्वका प्रश्नमा चाहिँ सहमति गरेर आउनुपर्ने उनको भनाइ छ।
उनले युवाहरू हरेक राजनीतिक दलमा जोडिएका बताउँदै सबैभन्दा धेरै नवपुस्ता एमालेसँग भएको बताए। उनले आउने महाधिवेशनमा आउने प्रतिनिधिमा युवाको क्लष्टर नै तोकेको स्पष्ट परे।