— गोली चलेको जस्तो आभास हुने गरी चर्को आवाजमा पट्पट् गर्दै बेतोडसँग मोटरसाइकल हुँइक्याउनेलाई चितवन प्रहरीले समाउन थालेको छ । साइलेन्सर पाइप बिगारेर त्यस्तो आवाज निकाल्नेहरूलाई पक्रन प्रहरीले ‘एम्बुसिङ एन्ड ट्र्यापिङ’ अपरेशन चलाएको छ । समातिएका मोटरसाइकलधनीले अभिभावकसँग आएर जरिवाना तिर्ने र बिगारेको स्वरूप सपार्ने गरेका छन् ।
चितवनमा पछिल्लो समय रातबिरात यसरी साइलेन्सर पड्काउँदै मोटरसाइकल चलाउँदा समाजमा कोलाहल बढेर सुत्नै गाह्रो भएको व्यापक गुनासो प्रहरीमा आएको थियो । त्यसैले तिहारको भाइटीकाको भोलिपल्ट कात्तिक ७ गतेदेखि यस्ता मोटरसाइकलहरू समाउने अभियान सुरु गरेको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी रवीन्द्र खनालले जानकारी दिए ।
हप्ता दिनभित्र ४० वटा मोटरसाइकल नियन्त्रणमा लिएको उनले बताए । मोटरसाइकलको स्वरूप बिगार्ने, साइलेन्सरमा चिया खाने गिलाससमेत राखेर चर्को आवाज आउने बनाउनेजस्ता विकार भएका मोटरसाइकल नियन्त्रणमा लिने अभियान जारी नै रहेको खनालको भनाइ छ । ‘केही आफैंले यसरी बिगारेर आवाज आउने बनाएका रहेछन्, केहीले वर्कसपमै गएर बिगार्दा रहेछन्,’ डीएसपी खनालले भने ।
प्रहरीले त्यस्ता मोटरसाइकल ग्यारेज र वर्कसपहरूलाई पनि निगरानीमा राखेको उनले बताए । खासगरी २०/२५ वर्षका युवाहरूले लतकै रूपमा मोटरसाइकलको स्वरूप बिगार्ने र चर्को आवाज निकालेर चलाउने गरेका कारण समाजमा आतंकजस्तो वातावरण बनेको डिएसपी खनालले सुनाए । नियन्त्रणमा लिएका मोटरसाइकल फिर्ता लिन अभिभावकसहित आउनु पर्ने हुन्छ ।
Chitwan police arrest motorcyclist with silencer on‘स्वरूप बिगारेका मोटरसाइकल जिम्मा लगाउँदा स्वरूप सपार्न त पर्छ नै, जरिवाना पनि लाग्छ । जरिवाना १४ हजार रुपैयाँ तिर्नुपर्छ । अनि अभिभावकलाई साथमा राखेर अबदेखि यस्तो नगर्ने प्रतिबद्धता पनि लिन्छौं,’ डिएसपी खनालले भने । महँगो र बढी क्षमताका मोटरसाइकल यसरी स्वरूप बिगारेर चलाउने गरेको उनले बताए । नियन्त्रणमा परेकामध्ये थोरै मोटरसाइकल मात्रै फिर्ता भएका छन् ।
समातिएकामध्ये चारवटा मोटरसाइकल मात्रै फिर्ता भएको खनालले बताए । मोटरसाइकलधनी र सम्भावित वर्कसपहरूको विवरण नै तयार गरेर प्रहरी कार्यालयमा रेकर्ड राखेको उनले सुनाए । केही मोटरसाइकलधनीले आफ्नो मोटरसाइकल बढी क्षमताको भएका कारण ठूलो आवाज आउने जिकिर गर्छन् । त्यसैले जानकार प्राविधिक नै राखेर अपरेशन चलाएको प्रहरीको भनाइ छ ।
‘स्वरूप बिगारेको हो या होइन ? साइलेन्सर बिगारेर ठूलो आवाज आउने बनाएको हो या होइन ? त्यो थाहा भइहाल्छ । तर केहीले जिद्दी गर्छन्, कम्पनीबाटै यस्तै आएको हो भन्छन् । फिल्डमै यसको निर्क्यौल गर्न हामीले विज्ञ प्राविधिक पनि साथमा राख्छौं,’ चितवन जिल्ला प्रहरी कार्यालयका एसपी गोविन्द पुरीले भने । जिल्लाका सबै ७५ प्रहरी युनिटलाई यस्ता मोटरसाइकल समाउन निर्देशन दिएको उनले बताए ।