मुख्य समाचार
१० महिनामा ३ सय ६ नेपाली अमेरिकाबाट निष्कासित
१० महिनामा ३ सय ६ नेपाली अमेरिकाबाट निष्कासित

— राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकाल सुरु भएयता १० महिनामा ३ सय ६ जना नेपालीलाई अमेरिकाबाट निष्कासित गरिएको छ । ट्रम्पको दोस्रो कार्यकाल सुरु भएयता २०२५ जनवरीदेखि अक्टोबरसम्मको १०महिना अवधिमा गैरकानुनी रूपमा अमेरिकामा बसोबास गर्दै आएका ३ सय ६ जना नेपालीलाई निष्कासित गरिएको हो ।


यूएस इमिग्रेसन एन्ड कस्टम इन्फोर्समेन्ट (आइस) ले गैरकानुनी रूपमा अमेरिकामा बसोबास गर्दै आएका आप्रवासीको खोजी र अनुसन्धानलाई कडाइका साथ तीव्रता दिएसँगै निष्कासित हुने नेपालीको संख्या वृद्धि भएको छ ।

राष्ट्रपति ट्रम्पले गैरकानुनी आप्रवासीलाई नियन्त्रणमा लिने र निष्कासित गर्ने नीतिलाई कडाइका साथ कार्यान्वयन गर्न निर्देशन दिएसँगै अमेरिकाले धेरै मुलुकका नागरिकलाई घर फिर्ता पठाएको हो । निष्कासित हुनेमध्ये २ सय ६० पुरुष र ४६ महिला छन् । उनीहरूलाई आइसका प्रतिनिधिको रोहवरमा अमेरिकाबाट चार्टर विमानमार्फत भारत, कतार हुँदै काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन विभागलाई बुझाइएको थियो ।

अमेरिकाबाट जनवरीमा ६, फेब्रुअरीमा १८, मार्चमा ३२, अप्रिलमा २६, मेमा ५८, जुनमा ४२, जुलाईमा १७, अगस्टमा १६, सेप्टेम्बरमा ५३ र अक्टोबरमा ३८ जना नेपालीलाई निष्कासित गरिएको तथ्याङ्कमा उल्लेख छ ।

आइसको तथ्याङ्कअनुसार पहिलो चरणमा निष्कासन हुने सूचीमा रहेका १ हजार ३ सय ६५ नेपालीमध्ये ३ सय ६ जनालाई नेपाल पठाइएको हो । तथ्याङ्कअनुसार सन् २०१९ देखि २०२४ सम्म ६ वर्ष अवधिमा ३ सय ८९ नेपालीलाई अमेरिकाबाट निष्कासित गरिएको थियो । आइसको तथ्याङ्क अनुसार सन् २०१९ मा १ सय ६२, २०२० मा ९७, २०२१ मा २३, २०२२ मा २८, २०२३ मा २२ र २०२४ मा ५७ जनालाई निष्कासन गरिएको थियो ।


१० महिनाको अवधिमा नेपालीसँगै २० लाख गैरकानुनी आप्रवासी अमेरिकाबाट निष्कासित भइसकेको दाबी गरिएको छ । १६ लाखले स्वतःस्फूर्त रूपमा अमेरिका छोडेको र ४ लाखलाई नियन्त्रणमा लिएर निष्कासन गरिएको अमेरिकी अध्यागमनसम्बन्धी उच्च निकाय होमल्याण्ड सेक्युरिटीले दाबी गरेको छ ।

होमल्यान्ड सेक्युरिटीकी सचिव क्रिस्टी नोएमले एक सूचना जारी गर्दै ट्रम्प प्रशासनले अघि बढाएको योजना र आइसको सक्रियताका कारण स्वतःस्फूर्त रूपमा अमेरिका छोड्नेको सङ्ख्यामा समेत वृद्धि भएको बताएकी छन् ।



२०२५ जनवरीसम्म १ करोड ५८ लाख (१५.८ मिलियन) गैरकानुनी आप्रवासी रहेको अमेरिकामा २ सय दिन अर्थात् सात महिना अवधिमा २० लाख घटेपछि १ करोड ३८ लाख मात्र रहेको होमल्यान्ड सेक्युरिटीले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ ।

४ वर्षदेखि निरन्तर बढेको गैरकानुनी आप्रवासीको सङ्ख्या १० महिना अवधिमै घटाउन सफल भएको होमल्याण्ड सेक्युरिटीकी सचिव नोएमको दाबी छ । गैरकानुनी आप्रवासीमध्ये सबैभन्दा बढी मेक्सिको, एल साल्भाडोर, भारत, ग्वाटेमाला, होन्डुरस, चीन, डोमिनिकन रिपब्लिक, भेनेजुएला, ब्राजिल र कोलम्बियाका हुन् ।

गैरकानुनी आप्रवासी निष्कासितसँगै उनीहरूलाई रोजगार दिने व्यवसायीहरूलाई समेत आइसले पक्राउ गरेको छ । आइसका अनुसार पक्राउ परेका ती व्यवसायीबाट १० लाख अमेरिकी डलर जरिवाना लिइएको थियो ।

‘अमेरिकामा गैरकानुनी रूपमा रहेकाहरूलाई पक्राउ गर्ने र निष्कासन गर्ने सङ्ख्या बढ्दै जानेछ । यो कार्य निरन्तर कडाइका साथ जारी रहनेछ,’ नोएमले भनिन्, ‘आइसको प्रयास अहिले देशको भित्री भागबाट गिरफ्तारी र निष्कासनमा केन्द्रित हुनुपर्छ । त्यो सङ्ख्यात्मक हिसाबले पनि देखिएको छ ।’

ट्रम्प प्रशासनले सीमा सुरक्षामा खटिने यूएस बोर्डर एन्ड कस्टम पेट्रोल (सीबीपी) लाई गैरकानुनी रूपमा अमेरिका प्रवेशका लागि सीमा पार गर्न खोज्नेहरूलाई अवस्थाको अध्ययन गर्दै सामना गर्न, पक्राउ गरी जेलमा राख्न, तत्काल कानुनी कारबाही अघि बढाउन र निष्कासन गर्न आदेश दिएको जनाएको छ । १० महिनामा गैरकानुनी आप्रवासी प्रवेश गर्न खोज्ने ९८ प्रतिशतले घटेको होमल्यान्ड सेक्युरिटीको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। रसुवाको भोटेकोशी बाढीबाट जीवन गुमाएकाहरूको सम्झनामा लन्डनस्थित नेपाली दूतावासमा स्मृति सभा आयोजना गरिएको छ । मंगलबार बेलुका दीप प्रज्वलनसहित सुरु गरिएको स्मृति सभामा मृतकहरूको सम्झनामा मौन धारण गरिएको थियो । स्मृति सभामा हाल बेलायतमा अध्ययनरत युवा विद्यार्थीहरूको उल्लेख्य उपस्थिति थियो । स्मृति सभालाई सम्बोधन गर्दै बेलायतका लागि नेपालका कार्यवाहक राजदूत बिपिन दुवाडीले नेपाल सरकारले खोजी, उद्धार तथा ...
। नेपाली कला संस्कृति र पहिचानको उत्सव मानिने ‘लन्डन नेपाली मेला’ आइतबार केम्पटन पार्क रेस कोर्स प्राङ्गणमा सम्पन्न भएको छ । लन्डनस्थित नेपाली दूतावासको सहकार्यमा तमुधिं यूकेले मेला आयोजना गरेको हो । नेपालका बाढी पीडितको सहयोगका लागि समर्पित उक्त मेला हेर्न झण्डै १० हजार सहभागी भए । तमुधिं यूकेले बाढी पीडितका लागि आर्थिक संकलन सुरु भइसकेको र ...
। भारतका रक्षामन्त्री राजनाथ सिंहले नयाँ दिल्लीस्थित नेपाली दूतावास पुगेर नेपालमा हालै आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन्। दूतावासमा राखिएको शोक पुस्तिकामा हस्ताक्षर गर्दै रक्षामन्त्री सिंहले भारतीय सरकार र जनताको तर्फबाट नेपाल सरकार तथा सम्पूर्ण नेपाली जनताप्रति हार्दिक समवेदना प्रकट गरेका हुन्। गत भदौ १० गते आएको बाढीका कारण ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली ...
। सन् २०२१ मा बेलायती विश्वविद्यालय योर्क सेन्ट जोन युनिभर्सिटीबाट एमबीए उत्तिर्ण गरेपछि मेलिसा थापा (नाम परिवर्तन) ले दुई वर्ष पोष्ट स्टडी वर्क (पिएसडब्लु) भिजा लिएर फुलटाइम काम गरिन् । यो स्किम सकिएपछि उनी कि त नेपाल फर्कनु पर्दथ्यो कि बेलायतमै स्पोन्सर खोजेर वर्क परमिटमा रहनु । फर्किंदा नेपालमा खासै भविष्य नदेखेकी उनले सन् २०२४, ९ ...
: साउदी अरबमा रोजगारीका लागि पुगेका नेपालीमध्ये ९११ जना विभिन्न मुद्दामा जेलमा रहेका छन् । दुतावास रियादका अनुसार ११ अगस्ट २०२६ सम्मको विवरणअनुसार जेलमा रहेका नेपालीमध्ये ४९९ जनाको फैसला भइसकेको छ भने ४१२ जनाको मुद्दा अझै विचाराधीन रहेको छ । जेलमा रहेका नेपालीमध्ये सबैभन्दा धेरै पूर्वी क्षेत्रमा ३७७ जना, केन्द्रीय क्षेत्रमा ३३४ जना ...