: लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रादेशिक अस्पतालमा उपचार सेवा दुई सिफ्टमा सञ्चालन गरी सेवा प्रवाहलाई प्रभावकारी बनाउन सकिने बताएका छन्।
लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयको वार्षिक समीक्षा कार्यक्रमलाई मंगलबार राप्ती उपत्यका(देउखुरी)मा सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले प्रादेशिक अस्पतालमा बिरामीको चाप बढ्दै गएको र समस्या समाधानका लागि उपचार सेवा दुई सिफ्टमा सञ्चालन गर्न निर्देशन दिए। ‘प्रादेशिक अस्पतालका सेवा दुई सिफ्टमा चलाउन सकिन्छ। जनशक्ति पर्याप्त छ। तर, बिरामीहरू सहज रूपमा सेवा पाउन सकेका छैनन्। प्रादेशिक अस्पतालमा रचनात्मक रूपमा सेवा दिन सकिन्छ।’
उनले लुम्बिनी प्रादेशिक अस्पताल बुटवल र राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका सेवा दुई सिफ्टमा सञ्चालन गर्नेगरी योजना बनाउन निर्देशन दिए। मुख्यमन्त्री आचार्यले जिल्ला तहका अस्पतालहरूको सेवा प्रभावकारी बनाउनुपर्ने बताउँदै बिरामी पुग्ने ठाउँमै उपचार हुने प्रणाली विकास गर्नुपर्नेमा जोड दिए। उनले भने, ‘जिल्ला अस्पतालमै उपचार गर्न सकिने केसहरूमा पनि बिरामीलाई अनावश्यक रूपमा रिफर गरिन्छ। यसले प्रादेशिक अस्पतालमा भीड बढाएको छ। सरकारी अस्पतालबाट निजी अस्पतालमा रिफर गर्ने प्रथा बन्द गर्नुपर्छ।’ 
उनले स्वास्थ्य र शिक्षालाई प्रदेश सरकारले प्राथमिकतामा राखेको बताए। ‘शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट तथा कार्यक्रम तयार गरेका छौं। स्वास्थ्यका सूचकहरूमा सुधार देखिन थालेको छ’, उनले भने, ‘पोषणमा सुधार आएको छ। मातृ तथा बाल मृत्युदर घटाउन हाम्रा अभियानहरू केन्द्रित छन्। समुदायस्तरका कार्यक्रम सञ्चालन गर्दा स्थानीय सरकारसँग अनिवार्य समन्वय गर्नुपर्छ।’
एक वर्षमा ५० शय्याको अस्पतालदेखि आधुनिक प्रयोगशाला विस्तारसम्म
लुम्बिनी प्रदेश सरकारले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्दै गत आर्थिक वर्ष २०८१/८२ मा उल्लेखनीय उपलब्धि हासिल गरेको छ। प्रदेश स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनअनुसार आधारभूतदेखि विशेष स्वास्थ्य सेवासम्म सुधार भएको उल्लेख छ।
समीक्षा कार्यक्रममा मन्त्रालयले प्रदेश राजधानी देउखुरीमा ५० शय्याको सुविधासम्पन्न भालुवाङ अस्पताल स्थापना गरी सञ्चालनमा ल्याएको जनाएको छ। त्यसका साथै नवलपरासीस्थित पृथ्वी चन्द्र अस्पतालमा मृगौला डायलाइसिस सेवा विस्तार गरिएको छ भने कपिलवस्तु र अर्घाखाँची अस्पतालमा सो सेवा विस्तार अन्तिम चरणमा पुगेको जानकारी दिइएको छ।
चार जिल्लामा सामुदायिक स्वास्थ्य सूचना प्रणालीमार्फत ‘परिवार स्वास्थ्य विवरण’ कार्यक्रम सुरु गरिएको छ। जसले महिला मात्र होइन, बालबालिकाको स्वास्थ्य र पोषण अवस्थाको निरन्तर अनुगमन गर्न सहयोग पुगोस् भन्ने लक्ष्य लिएको छ।
प्रदेश लोकसेवा आयोगमार्फत पहिलोपटक विशेषज्ञ चिकित्सकसहित विभिन्न स्वास्थ्यकर्मीको पदपूर्ति र पदस्थापन गरिएको छ। साथै, आठ जिल्लाका १३ स्थानीय तहमा ‘रोभिङ्ग नर्स’ कार्यक्रम सञ्चालन गरी समुदायमै पुगेर जनस्वास्थ्य सेवा विस्तार गरिएको छ।
लुम्बिनी प्रादेशिक अस्पतालमा मुटु उपचारका लागि क्याथ ल्याब सेवा सुरु गरिएको छ भने गुल्मी अस्पतालमा‘विद्युतिय स्वास्थ्य अभिलेख’ प्रणाली लागू भएसँगै स्वास्थ्य सेवा प्रविधिमैत्री बन्दै गएको छ। प्रदेश स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रमा ‘सूचना भण्डार सर्भर’ जडान गरी आकस्मिक स्वास्थ्य व्यवस्थापनलाई थप सुदृढ बनाइएको छ।
नेपालमै पहिलोपटक लुम्बिनी प्रदेशले स्वर्णप्राशन कार्यक्रमका लागि स्तरीय कार्यविधि तयार गरी कार्यान्वयनमा ल्याएको छ। त्यस्तै, ‘लुम्बिनी प्रदेश मानसिक स्वास्थ्य तथा मनोसामाजिक रणनीतिक कार्ययोजना, २०८१–२०८६’ स्वीकृत भई लागू गरिएको छ।