: नेकपा माओवादी केन्द्रका सचिवसमेत रहेका नेता राम कार्कीले आफूहरूले माओवादीको दर्ज्यानी चिन्ह मिल्काएर आएको बताएका छन्। उनले आफूहरूले माओवादी पार्टीको पदीय भूमिका छाडेको घोषणा गरेका हुन्।
‘उहाँको दर्ज्यानी चिह्न उपमहासचिव हो, मेरो सचिव हो, उहाँको स्थायी समिति सदस्य हो, हामी त्यो दर्ज्यानी चिह्न मिल्क्याएर आएका छौं, यसरी नै समाजवाद प्रति प्रतिबद्ध, यो नयाँ युवापुस्ताप्रति विश्वास गर्ने सबैलाई हामी के भन्छौं भने यस्ता दर्ज्यानी चिह्नहरू, पूर्वाग्रहहरू, मेरै पार्टी ठूलो, मेरै पार्टी राम्रो भन्ने सारा आग्रहहरूलाई त्यागेर एउटा एकीकृत समाजवादी अभियान सुरु गर्न जुट्न हामी सबैलाई आग्रह गर्दछौं,’ उनले भने।
पार्टीभित्र लामो संघर्ष गर्दासमेत नेताहरूले विस्थापन गर्न नसकेको भन्दै उनले नयाँ अभियानको थालनी गर्न लागेको बताए। विभिन्न समूहमा रहेका वा नरहेका सबै देशभक्त, जनवादी सोच राख्ने, समाजवादलाई लक्ष्य राख्ने समाजवादलाई लक्ष्य ठान्ने सबैजना आफ्नो नेताहरूले दिएको पदीय भूमिका छाडेर आउन उनले आह्वान पनि गरे।