मुख्य समाचार
मानव तस्करको समूहले एकजना युवतीलाई अमेरिका पठाउने भन्दै ४५ लाख असुलेर लाओस पुर्‍याइ अलपत्र छाडे
मानव तस्करको समूहले एकजना युवतीलाई अमेरिका पठाउने भन्दै ४५ लाख असुलेर लाओस पुर्‍याइ अलपत्र छाडे

। मानव तस्करको समूहले एकजना युवतीलाई अमेरिका पठाउने भन्दै ४५ लाख असुलेर लाओस पुर्‍याइ अलपत्र छाडेको पाइएको छ ।

रुकुम घर भएकी ३२ वर्षीय सपना (नाम परिवर्तन) लाई मानव तस्कर गिरोहले अमेरिका पठाउने भन्दै ९ महिनासम्म ९ वटा देश घुमाएर लाओसमा अलपत्र पारेको हो ।


ती युवतीले फर्केर नेपाल आएपछि मानव बेचबिखन अनुसन्धान ब्युरोमा जाहेरी दिएकी थिइन् । युवतीको जाहेरीको आधारमा मानव बेचबिखन ब्युरोले एक जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ ।

पक्राउ पर्नेमा दाङको घोराही उपमहानगरपालिका–१२ घर भएका २९ वर्षीय सविन भनिने सौजन्य खनाल छन् ।

उनलाई ललितपुरको ग्वार्कोबाट सोमबार पक्राउ गरिएको ब्युरोका प्रमुख तथा एसएसपी कृष्ण पंगेनीले जानकारी दिए । ‘हामीले हिजो पक्राउ गरी अनुसन्धान अघि बढाएका छौं । यो प्रकरणमा अर्का एक जना फरार छन् । कानुनबमोजिम कारबाही गर्छौं,’ एसएसपी पंगेनीले अनलाइनखबरसँग भने ।

पक्राउ परेका खनालविरुद्ध मानव बेचबिखन तथा ओसार पसारको कसुरमा काठमाडौं जिल्ला अदालतबाट म्याद लिएर प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

यही प्रकरणमा फरार हुने अर्का व्यक्ति घोराही–१८ कै ४२ वर्षीय धर्मबहादुर ज्ञवाली हुन् । उनीहरू दुई जना मिलेर सपनालाई अमेरिका पठाउने भन्दै लाओस पुर्‍याएर अपलत्र पारेका हुन् ।

रेष्टुरेन्टको भेटबाट सुरु भयो तस्करीको योजना

रुकुमकी सपना गाउँका अन्य व्यक्तिहरू अमेरिका गएको देखेर जसरी भए पनि अमेरिका जाने सोचमा थिइन् । अमेरिकाको सपना देखेकी उनी खनाल र ज्ञवालीको सम्पर्कमा पुगिन् ।

पीडित युवतीका अनुसार उनको पहिलो पटक ६ वैशाख २०८१ मा घोराहीस्थित तुल्सीपुर चोकमा रहेको दाजुभाइ रेष्टुरेन्टमा दिउँसो ३ बजे खनालसँग भयो । अरू थुप्रै व्यक्तिलाई आफूले अमेरिका पठाएको भन्दै खनालले सपनालाई विश्वास दिलाए । उनले पनि पत्याइन् ।


अमेरिकामा मासिक ५/६ लाख रुपैयाँसम्म कमाइ हुने बताइयो । लागत तोकियो ७० लाख । उनलाई जसरी पनि अमेरिका पुग्नु थियो । ७० लाखमा अमेरिका जान उनी तयार भइन् । ‘गाउँतिरका अरू थुप्रै मान्छे अमेरिका गएका थिए । मैले पनि विश्वास गरेर रकम बुझाएँ । त्यसपछि विदेश लगेर अलपत्र पारियो,’ पीडित युवतीले अनलाइनखबरसँग भनिन् ।

भेट भएकै दिन टोकन मनी भन्दै नगद २ लाख रुपैयाँ उनीहरूले असुलेका थिए । रकम बुझाएको एक महिनामै अमेरिका पठाउने आश्वासन देखाएपछि रकम दिन सुरु गरेको पीडित युवतीको भनाइ छ ।

काठमाडौंबाट मुम्बई हुँदै लाओस पुर्‍याएर अलपत्र

भेट भएको तीन महिनापछि १५ साउन २०८१ मा सपनालाई अमेरिका पठाउने भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मुम्बई लगियो । त्यसै दिन अर्थात् ३० जुलाई २०२४ मा मुम्बईबाट अफ्रिकी मुलुक गाम्बिया पुर्‍याइयो ।

तस्करको समूहले गाम्बियामा तीन महिनासम्म सपनालाई राख्यो । तीन महिना गाम्बिया बसेपछि ११ सेप्टेम्बर २०२४ मा दुबई हुँदै अमेरिका पठाउने भनेर दुबई लगियो । दुबईमा दुई महिनासम्म राखियो ।

२१ नोभेम्बर २०२४ मा दुबईबाट फेरि अर्को अफ्रिकी देश सेनेगल लगियो । सेनेगलको डकार भन्ने ठाउँमा सपनालाई राखियो । बीच–बीचमा मानव तस्करको समूहले उनीबाट पैसा पनि असुल्दै गयो । यो रुटबाट जान नसकिने भन्दै फेरि ४५ दिनपछि पहिलेकै ठाउँ गाम्बिया लगियो ।

गाम्बियामा ४५ दिनसम्म राखेको सपना बताउँछिन् । त्यसपछि भने उनलाई फेरि मुम्बई ल्याइयो । अमेरिका जान भनेर हिँडेकी उनी फेरि छिमेकी देश भारत आइपुगिन् । त्यसपछि भने उनलाई कता–कता ठगिएछ भन्ने महसुस भइसकेको थियो ।

तर, खनाल र ज्ञवालीले उनलाईं विश्वास दिलाउन भने छाडेनन् । जसरी भए पनि अमेरिका पठाउने बताउँदै ढुक्क भएर बस्न आग्रह गरिरहे । ४५ लाख खर्च लागिसकेकाले आफूले पनि यसको विकल्प नदेखको भन्दै उनी आश्वस्त हुन खोजिन् ।

एक महिना मुम्बई राखेपछि अब अर्को रुटबाट अमेरिका लैजाने भन्दै ३ मार्च २०२५ मा लाओस लगियो । लाओसमा २ महिना राखेपछि भने खनाल र ज्ञवाली सम्पर्कविहीन भए । अब कता जाने, के गर्ने सपनालाई केही अत्तोपत्ता भएन । त्यसपछि उनले नेपाल फर्कने निर्णय गरिन् । आफैंले खर्च जुटाएर उनी लाओसबाट थाइल्यान्डको बैंकक आइन् ।

दुई दिन बैंकक बसेपछि उनी १६ मार्च २०२५ मा काठमाडौं फर्किइन् । तस्करको समूहले फोन जफत गर्ने, कयौं ठाउँहरूमा पैदल हिँडाउने, खान-बस्ने समेत व्यवस्था नगरिदिने, खुला अकाशमा सुत्नुपर्ने अवस्था समेत रहेको उनको भनाइ छ ।

बाटोमा पुर्‍याएपछि रकम असुली

सुरुमा अमेरिका जाने बेलामा २ लाख मात्रै बुझाए पुग्ने बताएपछि अमेरिका हिँडेकी सपनालाई बीच बाटोमा पुर्‍याएर रकम असुल्न थालेको पाइएको छ । सुरुमा उनले नगद २ लाख बुझाएकी थिइन् ।

त्यसपछि भने खनालको ज्योति विकास बैंकको खाता र ज्ञवालीको मुक्तिनाथ विकास बैंकको खातामा रकम हालेको विवरणसमेत उनले ब्युरोमा बुझाएकी छिन् ।

विवरणअनुसार अमेरिका लैजाने भनेर काठमाडौंबाट हिँडाएपछि रकम असुल्न थालेको देखिएको छ । १८ जुलाइ २०२४ मा १ लाख ८५ हजार, २३ जुन २०२४ मा २ लाख, ३० अगस्टमा २ लाख, २८ अगस्टमा १ लाख ३, सेप्टेम्बरमा १ लाख रकम हाल्न लगाएको देखिन्छ ।

११ अगस्टमा ५ लाख, ७ अगष्टमा ८ लाख ६१ हजार, ९ जुनमा २ लाख, २४ मे मा १ लाख ५० हजार रकम हालेको देखिन्छ ।

२५ जनवरी २०२५ मा ५ लाख ७५ हजार, १६ अप्रिल २०२५ मा १० हजार, ३ अप्रिलमा १ लाख, १४ अप्रिलमा १७ हजार ४००, २ मार्च २०२५ मा ५० हजार रकम जम्मा गर्न लगाएको भेटिएको छ ।

बीच बाटोमा पुर्‍याएपछि रकम नदिए अलपत्र छाड्ने धम्की दिँदा परिवारका सदस्यले रकम हाल्ने भएकाले तस्करहरूले यस्तो तरिका अपनाउने अनुसन्धान अधिकृतहरू बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले एक साताको लागि संसद् पुनर्स्थापना गरेर संविधान संशोधन गर्नुपर्ने बताएका छन् । संसद पुनर्स्थापना गरेर जेनजीका माग पूरा गर्न सकिने उनले दाबी गरे । भण्डारीले पार्टी केन्द्रीय समिति बैठकमा कांग्रेस सम्मिलित सरकार भएको बेला भएको जेनजी आन्दोलनले पार्टीलाई लाज हुनुपर्ने बताए । कांग्रेस सहभागी सरकार भएको बेलामा जेनजीले गरेको तयारी ...
। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलहरू संगठित भएर अघि बढ्नुपर्नेमा जोड दिएकी छन् । नागरिकताको प्रतिलिपि लिन मंगलबार जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेको उनले सञ्चारकर्मीसँग कुरा गर्दै यस्तो बताएकी हुन् । उनले राजनीतिक दलहरू टुट्नुफुट्नु राम्रो नभएको बताइन् । पार्टीभित्रका मतभेदहरू भए अन्तरसंघर्षबाटै समाधान गरेर अघि बढ्नुपर्नेमा उनको जोड थियो ऽ राष्ट्रको शान्तिका लागि पनि राजनीतिक दलहर एक ...
। मुस्ताङको माथिल्लो मुस्ताङस्थित ‘छुआमा’ हिमालको पहिलोपटक पर्वतारोहण भएको छ । दक्षिण कोरियाली तीन विदेशी पर्यटकसहित आठ जनाको आरोहण टोलीले नाभेम्बर २ तारिखिमा ६२१३ मिटर उचाइमा रहेको ‘छुआमा’ हिमालको सफलतापूर्वक पर्वतारोहण गरेको राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण आयोजना (एक्याप) लोमान्थाङले जनाएको छ । यहाँको माथिल्लो मुस्ताङ स्थित ‘छुआमा’ हिमाल लोमान्थाङ गाउँपालिका–४ स्थित नाम्डो गाउँबाट माथिको ५४८० ...
। नेकपा माओवादी केन्द्र, नेकपा एकीर्कत समाजवादी सहितका ९ वटा दल र समूहबीच एकतापछि पार्टीको नाम नेपाली कम्युनिस्ट पार्टी राखिने भएको छ। यस्तो प्रस्ताव माओवादी केन्द्रको बैठकबाट पारित भएको छ। मंगलबार माओवादी केन्द्रको राष्ट्रिय महाधिवेशन आयोजक समितिको पूर्ण र अन्तिम बैठक बसेको थियो। जसले ‘नेपाली कम्युनिस्ट पार्टी’ नाम राख्ने प्रस्ताव पारित गरेको हो । माओवादी नेता रामप्रसाद ...
। नेकपा माओवादी केन्द्रका नेता सुदन किरातीले नारायणकाजी श्रेष्ठबाट धोका पाएको गुनासो गरेका छन् । श्रेष्ठले आफूसँग कुराकानी गर्ने क्रममा यथास्थितिमा बस्न नसकिने बताएको तर पछि त्यस्तो नगरेको भन्दै धोका भएको बताएका हुन् । मंगलबार अनलाइनखबरसँगको कुराकानीका क्रममा उनले अधिकांश नेताहरू वर्तमानको कुरा मात्रै सोच्ने र भोलिबारे ध्यान नदिने गरेको बताए । ‘जो नेताको टाउकोमा तरवार छ, ...