। पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् ।
ओलीसँग सम्वाद गर्न खनाल गुन्डु नै पुगेका थिए । वार्तामा खनालसहित एकीकृत समाजवादीका नेताहरू एमाले फर्कनेबारे कुरा भएको स्रोतले जनाएको छ ।
नेकपा माओवादी केन्द्र सहितका घटकहरुसँग पार्टी एकता गर्ने एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले निर्णय लिएपछि खनाल सहितका नेताहरू असन्तुष्ट थिए । एकता प्रक्रिया नै अस्वीकार गरेका पूर्वप्रधानमन्त्री खनाललाई आज ओलीको सचिवालयले छलफलका निम्ति गुन्डु बोलाएको थियो ।
‘केपी ओलीको टीमकै सदस्यहरू लिन आउनु भएको थियो । वार्ता गर्न भनेर लिनै आएपछि गुन्डु जानुभएको हो,’ खनाल निकट स्रोतले भन्यो, ‘कुराकानी सकारात्मक छ भन्ने बुझिएको छ ।’
माधव नेपालले माओवादी केन्द्रसँग एकता गर्ने निर्णय गरेपछि ओलीले पुरानै घर फर्किन एकीकृत समाजवादीका नेता–कार्यकर्ताहरुलाई आह्वान गरेका थिए । त्यसपछि खनालले एमालेमा फर्कन चार सर्त राखेका थिए ।
उक्त सर्तमा ओलीले छलफल गर्न सकिने बताएपछि फेरि भेट्नेगरी खनाल डल्लु निवास फर्किएको स्रोतको भनाइ छ ।
माओवादीसँग एकता गर्न तयार नभएको र घनश्याम भूसालको नेतृत्वमा हुन लागेको पुनर्गठन प्रक्रियामा समेत सामेल नभएका रामकुमारी झाँक्री लगायतका नेताहरू भने नि:शर्त एमाले फर्कन तयार भइसकेका छन् ।