। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले महाधिवेशन गर्न नेताहरू तयार भएको अवस्थामा महाधिवेशनमा कुनै पनि पदको आकांक्षी नहुन समेत तयार रहेको बताएका छन् ।
मंगलबारदेखि पुन: सुरु भएको केन्द्रीय समितिको बैठकमा बोल्ने क्रममा महामन्त्री थापाले नियमित महाधिवेशन गर्न सकिने प्रस्ताव मौखिक रूपमा राखेका थिए ।
महाधिवशेनमा दुई महामन्त्री उम्मेदवार हुन नपाउने सर्त राखे पनि त्यसका लागि तयार रहेको थापाले बताए ।
नेताहरूलाई उनले प्रस्ताव राखे, ‘यो पटकको लागि तिमीहरू दुईजनाले अधिवेशनको रेसमा भाग लिन पाउँदैनौ भनेर महाधिवेशनतिर लैजाने हो भने पनि हामी तयार । त्यो कुरालाई त्यसको वाचाबन्धन गर्ने कुराले गाँठो खुल्छ भनेर वाचाबन्धन गरेर जाउँ ।’
पुसमा महाधिवेशन गर्ने कार्यतालिका मौखिक रूपमा पेस गरेका महामन्त्री थापाले त्यसअवधिमा गर्न सकिन्न भन्ने हो भने विशेष महाधिवेशनको विकल्प नभएको बताएका छन् ।
महामन्त्री थापाले भने,‘कुनै पनि हालतमा पुसमा सक्दै सकिन्न भन्ने हो भने हामीसँग अर्को एउटा विकल्प पनि छ । महाधिवेशन प्रतिनिधिहरूले माग्नुभएको छ । हामी विधानले बाँधेकै छौं । गर्नै पर्छ ।’
नियमित हुन नसके विशेष बाहेक विकल्प नरहेको थापाले बताए । पार्टीको गति अलिकति बढाउने हो भने नियमित महाधिवेशन गर्न सकिने थापाको निचोड छ । पुस १६ देखि १९ सम्म १५ औं महाधिवेशन गर्न सकिने प्रस्ताव महामन्त्री थापाले राखेका छन् ।