: पूर्वप्रधानमन्त्री झलनाथ खनालले कहिल्यै नफुट्ने गरी कम्युनिष्ट आन्दोलनलाई अघि बढाउनुपर्ने बताएका छन्। बुधबार काठमाडौंको भृकुटीमण्डपमा आयोजित कम्युनिष्ट पार्टी एकता कार्यक्रममा खनालले कम्युनिष्ट आन्दोलनलाई बलियो बनाउन एकताबद्ध भएर अघि बढ्नुपर्ने भन्दै कहिल्यै नफुट्ने गरी कम्युनिष्ट आन्दोलनलाई अघि बढाउनुपर्ने बताए।
अहिलेको कम्युनिष्ट एकता देशको हितमा रहेकाले आफू सहभागी भएको भन्दै उनले अब हिजो भएका कमीकमजोरीलाई सुधार गर्नुपर्ने बताए। उनले कम्युनिस्टहरू एकअर्काबीच आरोप प्रत्यारोपको शृंखला अब अन्त्य हुनुपर्नेमा जोड दिए।
उनले जायज माग लिएर आन्दोलनमा उत्रिएका जेनजीहरूको आन्दोलन हाइज्याक भएर हिसांत्मक घटनामा मोडिएको बताए। देशी विदेशी प्रतिक्रियावादीले देशलाई ध्वस्त पार्न ठूलो षड्यन्त्र गरेको उनको भनाइ छ। खनालले देशलाई पुनःनिर्माण गर्ने ताकत कम्युनिष्टसँग मात्र रहेको बताए।
नेता खनालले पार्टीमा ५० प्रतिशत युवाहरूलाई सहभागिता गराउनुपर्ने प्रस्ताव गरे। त्यसबाहके अनुभवीहरूलाई विभिन्न ठाउँमा काम गराउनुपर्ने उनको सुझाव छ।