— नवगठित नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले १० कम्युनिस्ट घटक मिलेर पार्टीको संयोजकको ठूलो भारी बोकाएको बताएका छन् ।
पार्टी एकता घोषणा कार्यक्रममा उनले नेपाली कम्युनिस्ट आन्दोलनमा यो एकता ऐतिहासिक भएको बताए ।
‘मलाई संयोजकको रुपमा १० घटकको ठूलो भारी, जिम्मेवारी दिनु भएको छ,’ उनले भने, ‘मलाई विशेष हर्ष र गर्वको महसुस भएको छ । सबैको एउटै विचार आएको छ । एक ढिक्का भएर देशको चुनौती सामना गर्न सक्छौँ भन्ने विश्वास पैदा भएको छ ।’
अब नयाँ पार्टी नयाँ ढंगले अघि बढ्ने उनले बताए । ‘अब पार्टी नयाँ ढंगले अघि बढाउन सक्छौँ । आजको दिनमा नेपाली कम्युनिस्ट आन्दोलनको इतिहासमा कहिल्यै नबिर्सने दिन हुनेछ,’ उनले भने, ‘कम्युनिस्ट इतिहासमा १० घटकको एकता भएको दिन छैन । यो एकता अभूतपूर्व, ऐतिहासिक र असाधारण छ । ऐतिहासिक दिनमा रुपमा अंकित भएको छ ।’
उनले नयाँ राष्ट्रिय एकता र राष्ट्रिय स्वाधीनताको आधार तयार पार्ने जनाए ।