— गुलरिया र बारबर्दिया नगरपालिका जोड्ने नयाँ पुलका लागि स्रोत सहमति नहुँदा बबई नदीमा निर्माण अलपत्र परेको छ ।
आठ वर्षअघि बबई नदीमा आएको बाढीले बगाएको पुल निर्माण नहुँदा यस भेगका डेढ लाख बढी बासिन्दा प्रभावित भएका छन् । दुई वर्षअघि नयाँ पुल निर्माणका लागि स्रोत सहमतिको फाइल बुझाए पनि अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोगबाट कार्यान्वयन नहुँदा रोकिएको छ ।
डिभिजन सडक कार्यालय, नेपालगन्जका प्रमुख नरेन्द्रप्रसाद भट्टले गत आवमा स्रोत सहमति हुन नसकी रद्द भएको बताए । 'स्रोत सहमतिका लागि पुनः सडक विभाग हुँदै मन्त्रालय पठाएका छौं, पुल निर्माणका लागि स्रोत सहमति हुना साथ काम अघि बढ्नेछ,' उनले भने । विभाग भने यस विषयमा अनभिज्ञ छ । विभागका सूचना अधिकारी उपनिर्देशक इन्जिनियर श्यामबहादुर खड्काले स्रोत सहमतिको फाइल सम्बन्धमा डिभिजन सडक कार्यालय, नेपालगन्जलाई जानकारी भएको बताए । स्रोत सहमतिका लागि विभागमा भएको फाइल मन्त्रालयमा गएर अलपत्र परेको छ ।
डिभिजन सडक कार्यालयले बर्दियाको जब्दीघाटस्थित बबई नदीमा निर्माण गरिएको पुल हस्तान्तरण नहुँदै भासिएको करिब ५ वर्षपछि ठेक्का तोडेको थियो । पप्पु कन्स्ट्रक्सनले निर्माण गरेको पुल ०७४ साउन २८ मा भासिएको थियो । ०७९ असोज २० गते आएको बाढीले आउजाउ पूर्ण रुपमा ठप्प भएको हो ।
पप्पु निर्माण कम्पनीले करिब १५ वर्षअघि निर्माण सुरु गरेको उक्त पुल १६ करोड ६८ लाखको लागतमा ०७४ सालमा सम्पन्न गरेको थियो । पुल बगाएपछि करिब ८ वर्षदेखि सदरमुकाम गुलरिया र बारबर्दिया नगरपालिकाबीच यातायात सम्पर्क विच्छेद छ । पुल नहुँदा यस क्षेत्रका करिब डेढ लाख मानिस सास्ती भोग्न बाध्य छन् । वर्षा भएका बेला जोखिम मोलेर डुंगाबाट आउजाउ गर्नुपर्ने अवस्था छ ।
यहाँ हिउँदमा काठेपुल र डुंगाबाट आउजाउ गर्दा कर तिर्नुपर्छ । तर पुल निर्माणका लागि राज्यले बेवास्ता गर्दा निकै कष्टकर यात्रा गर्नुपरेको स्थानीयको गुनासो छ । पुल निर्माणका लागि यहाँ आउने सांसददेखि मन्त्रीसमेतले धेरै आश्वासन बाँडे पनि निर्माण प्रक्रिया अघि बढ्न सकेको स्थानीयको गुनासो छ ।
पूर्वपश्चिम राजमार्गको रम्मापुरदेखि गुलरियाको रजनवासम्म २३ किमि पक्की सडक ५ वर्षअघि निर्माण सम्पन्न भइसकेको छ । पुल नहुँदा दुई पालिकालगायत यस क्षेत्रका डेढ लाख बासिन्दा प्रभावित भएको बारबर्दिया नगरपालिकाका पूर्वनगरप्रमुख दुर्गाबहादुर थारुले बताए । पुल निर्माणका लागि बर्दिया क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य सञ्जय गौतम एक वर्षअघि आठ दिन अनशन बसे । तात्कालीन भौतिक तथा यातायातमन्त्री प्रकाश ज्वालाले एक महिनाभित्र नया पुलको टेन्डर हुने लिखित सम्झौता गरेपछि गौतमले अनशन तोडेका थिए । त्यो सम्झौता अहिलेसम्म कार्यान्वयन हुन सकेको छैन ।
बबई नदीको जब्दीघाटमा भासिएको पुलदेखि ५ सय मिटर उत्तरमा नयाँ पुल निर्माणका लागि इस्टिमेट तयार भइसकेको डिभिजन सडक कार्यालय, नेपालगन्जले जनाएको छ । करिब १ अर्ब १९ करोडको लागतमा ४ सय मिटर लम्बाइको पुल निर्माणका लागि इस्टिमेट तयार गरिएको डिभिजन कार्यालयले जनाएको छ ।